तपाईं कुनै छाला रोग विशेषज्ञकोमा जानु हुन्छ भने ९० प्रतिशत समय कुनै न कुनै मल्हम औषधिको रूपमा दिइन्छ। तसर्थ छाला रोग विशेषज्ञलाई मल्हमको डाक्टर पनि भन्ने गरिन्छ।
बिरामीलाई सबै मल्हम एकै जस्तो लाग्छ। तर के मल्हम एकै हुन् त ? मुख्यतया मल्हम भन्नाले रसायनयुक्त औषधि र त्यसलाई अर्ध ठोस वा ठोस बनाउन प्रयोग हुने भेइकल (बेस) को मिश्रण भन्ने बुझिन्छ। औषधिलाई छालासँग सम्पर्कमा ल्याउने कुरा भेइकल हो। एउटा उपयुक्त भेइकलमा हुनुपर्ने गुणहरु भनेको लगाउन र हटाउन सजिलो हुन पर्दछ।
विषाक्त हुनु हुँदैन, निस्क्रिय हुनुपदर्छ र कोस्मेटिकल्ली स्वीकार्य हुनुपर्छ। मल्हमलाई भेइकल अनुसार क्रिम, ओइन्ट्मेन्ट्, जेल, लोसन गरी विभाजित गरिन्छ। रोग र छालाका बनोटको आधारमा यी मल्हमहरु फरक–फरक प्रयोजनका लागि प्रयोग गरिन्छ। जसलाई यहाँ प्रस्तुत गरिएको छ ः
क्रिम
यो एक अर्ध ठोस तत्व हो, जुन थोरै बोसो र धेरै पानीको मिश्रणबाट बनेको हुन्छ। यो धेरै चिल्लो नहुने हुनाले मानिसहरु कोस्मेटिकल्ली ओइन्ट्मेन्ट् भन्दा यसलाई मन पराउँछन्। यो अलिक ओसीलो घाउ र पसिना आउने शरीरको कापहरुको लागि पनि उपयोगी हुन्छ। सनस्क्रिनको कुरा गर्दा सुख्खा छाला भएकाहरूका लागि क्रिम फर्मको सनस्क्रिन राम्रो मानिन्छ।
ओइन्ट्मेन्ट्
यो पनि एक अर्ध ठोस तत्व हो जसमा बोसोको मात्रा क्रिमभन्दा बढी हुन्छ। तसर्थ चिल्लो पनि बढी हुन्छ र कोस्मेटिकल्ली अलि कम रुचाइन्छ। कपाल भएको ठाउँहरु र शरीरका कापहरुमा लत्तपत्त हुने हुनाले यसको प्रयोग त्यति राम्रो हुँदैन। छालालाई धेरै छेड्ने हुनाले यो बढी प्रभावकारी हुन्छ र बाक्लो छालाको लागि पनि उपयोगी मानिन्छ। बोसोको मात्रा बढी हुने हुनाले यसले छालालाई छिट्टै सुख्खा हुन दिदैन र लामो समयसम्म मुलायम बनाइराख्छ।
जेल
यो पनि एक अर्ध ठोस् तत्व हो, जुन छालामा लगाउना साथ पग्लिन्छ र एक पारदर्शी लेयर बनाएर बस्छ। तसर्थ यो लगाएको र नलगाएको छुट्याउन गाह्रो हुन्छ। गर्मी मौसम, चिल्लो छाला भएकाहरुको लागि यो निकै प्रभावकारी हुन्छ। डन्डिफोर आउने, चिल्लो छाला, कपाल भएको छाला वा तालुको लागि यो लत्तपत्त नहुने भएर राम्रो मानिन्छ। सनस्क्रीन छनोट गर्दा पनि चिल्लो छाला हुनेहरुले जेलको फर्ममा रहेको छनोट गर्नुपर्छ।
लोसन
यो एक तरल तत्व हो। यसमा रसायनिक औषधिका साथ पानी, अल्कोहल वा अन्य तरल पदार्थहरु मिश्रित हुन्छ। तरल पदार्थ उडेर जाने र औषधि मात्र एक पत्र भएर बस्ने हुनाले यो लगाएको नलगाएको थाहा हुँदैन। यो जेलभन्दा पनि बढी फैलिने हुनाले कपाल भएको छालामा लत्तपत्त नहुने र थोरै मल्हमले पनि धेरै ठाउँमा लगाउन मिल्ने हुन्छ। शरीर भरी लगाउनुपर्ने मोइस्चराइजरहरु लोसन फर्ममा राम्रो मानिन्छ। यसमा अल्कोहलको मात्रा पनि भएकाले घाउ भएको वा फुटेको छालामा यो अलि चराउने र पोल्ने हुन्छ।
यी सबै धेरै प्रयोगमा आउने मल्हमका प्रकारहरु हुन्। यस बाहेक छालामा लगाउने औषधिहरू अरु भेइकलमा पनि हुन्छन। फोम, एस्प्रे, पेन्ट तर यी कम प्रयोगमा आउँछन्।
अधिकांश व्यक्तिहरुले आवश्यकभन्दा बढी मल्हम लगाउने गर्छन्। चिकित्सकले पनि कति मल्हम लगाउने भन्ने विषयमा राम्रोसँग बुझाउने गरेको पाईदैन। यसले गर्दा कति बिरामीको अनावश्यक रुपमा पैसा खर्च हुने गर्छ भने कतिमा यसको साइड इफेक्ट देखिन सक्छ। त्यसैले सही मात्रामा मल्हम लगाउनु अत्यन्तै महत्वपूर्ण छ।
त्यसो भए कति हो त सही मात्रा ? सामान्य भाषामा भन्नुपर्दा १ ग्राम मल्हमले सोही मानिसको चार हत्केल (औंला सहित) कभर हुने छालाको भागलाई समेट्छ। कसरी थाहा पाउने त १ ग्राम भन्नाले कति भनेर ? यस्लाई बुझाउन फिंगर टिप यूनिट बारे जान्नु जरुरी छ। १ फिंगर टिप यूनिट (1 FTU) भन्नाले चोरी औंलाको तीनवटा तेर्सो लाइन मध्ये तेस्रो लाइन देखि औंलाको टुप्पोसम्म निचोर्दा जति मल्हम आउँछ त्यो नै भन्ने बुझिन्छ । जुन ०.५ ग्राम (चित्र मा देखाए अनुसार) वा २ हत्केला बराबर (२%) हुन्छ।
प्रतिशतको आधारमा सामान्यतया मुख र घाँटीको लागि 2.5FTU, एउटा पाखुराको लागि 3 FTU, पूरै एउटा खुट्टाको लागि 6 FTU, पेट र छातीको लागि 7FTU मल्हम आवश्यक हुन्छ। (चित्रमा देखाए अनुसार) यो पनि झन्झटिलो लागेमा एउटा सामान्य उपाय भनेको कुनै पनि मल्हम लगाउँदा त्यो बाहिरबाटै प्रस्ट देखिनु हुँदैन। एउटा ३० ग्रामको मल्हमको ट्युबले पुरै शरीरमा एक र आधा चोटी सम्म लगाउन प्रयाप्त हुन्छ। अब आफै बिचार गरौँ हामीले कति धेरै मल्हम लगाइरहेका छौँ भनेर।
केही अपवादहरु :
सनस्क्रीन
सनस्क्रीन मानिसले धेरै कम लगाउने गर्छन्। छाला धेरै चिल्लो देखिने डरले एउटा सनस्क्रीनले ३(४ महिनासम्म पनि पुर्याई रहेका हुन्छन्। जेल र लोसन भएको सनस्क्रीन प्रयोग गरेमा मुख कम चिल्लो देखिन्छ र अलि धेरै मात्रामा पनि लगाउन सकिन्छ।
एउटा सनस्क्रीन उपयुक्त तरिकाले प्रयोग गरेमा औसत एक महिनाको लागि मात्र पुग्ने हुन्छ। सनस्क्रीन जस्तोसुकै मौसम र समयमा पनि दिनमा दुई÷तीन पटक (९ बजे र १२ बजे) लगाउनु पर्छ। एक पटकमा मुख र घाँटी गरेर 2.5FTU लगाउनु पर्ने हुन्छ। गोरो छाला भएकाहरुलाई घामले धेरै असर गर्ने हुनाले घाममा निस्किदा बारम्बार (२-२ घण्टा) र धेरै एस्पिएफ (SPF) भएको सनस्क्रीन लगाउनु पर्छ। नियमित सनस्क्रीन लगाउनाले कालन्तरमा हुने बुढोपन र चाउरिपनबाट पनि बचाउँछ।
रेटिनोइड
डन्डिफोर तथा अन्य छाला रोगका लागि प्रयोग हुने एक प्रकारको औषधि हो, रेटिनोइड। जुन भिटामिन ए बाट साभार गरिएको हुन्छ। यस्ता औषधीहरुले छाला अलि पोल्ने र चराउने हुनाले एकदमै थोरै मात्रामा प्रयोग गर्नु पर्ने हुन्छ। आधा केराउको दाना जति मात्रा लिएर टिक टिक गरेर सबै तिर लगाउनु पर्छ र धेरै माड्नु हुँदैन।
मोइस्चराइजर
छालालाई नरम गर्न प्रयोग हुने मल्हमलाई मोइस्चराइजर भनिन्छ। यसमा रसायनिक कुरा धेरै कम र प्राकृतिक कुरा धेरै हुन्छन्। सुख्खा छाला र छाला सुख्खा हुने रोग भएकाहरुका लागि यो अधिक मात्रामा र पटक पटक गरेर लगाउन सुझाव दिईन्छ।
रोग नभएकाहरुले पनि नियमित मोइस्चराइजर लगाउँदा छालालाई नरम मुलायम बनाएर बुढोपन र चाउरिपन हुनबाट बचाउँछ। तसर्थ राती सुत्नु अगाडि छालाको प्रकार हेरेर नियमित लगाउनु उपयुक्त मानिन्छ। अधिकांश मोइस्चराइजर चिल्लो हुने भएपनि डन्डिफोर भएका र चिल्लो छाला भएकाहरुले लगाउने मोइस्चराइजर पनि बजारमा उपलव्ध हुन्छन्। जस्लाई नन कोमेडोजेनिक मोइस्चराइजर पनि भनिन्छ।
तसर्थ मल्हम भन्दैमा सबै मल्हम एकै हुँदैनन्। छालाको बनोट, रोगको प्रकार, उपयुक्त भेईकल, मल्हमको मात्रा, लगाउने तरिका जस्ता कुराहरुमा पनि ध्यान दिनु अत्यन्तै महत्वपूर्ण । यसका लागि छाला रोग बिशेषज्ञको सल्लाह र सुझाव लिनुपर्छ।
(डा भुषाल, नेपाल प्लास्टिक कस्मेटिक र लेजर सेन्टरमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ हुन्।)