अनुहारमा कनिका जस्तो देखिने सेतो, पहेंलो रङको कडा बल जस्तो दानालाई मिलिया भनिन्छ । मिलिया मुख्यगरी अनुहार, नाक, गाला तथा आँखाको तल्लो भागमा आउँछ । मिलिया सामान्यतयः साना आकारमा देखिने गर्छन् । तर, यसको आकार दुई मिलिमिटर सम्मको हुनसक्छ ।
मिलिया के हो ?
छाला, नङ, कपालमा केराटिन भन्ने प्रोटिन हुन्छ । यदि त्यो प्रोटिन छालामा थुनिएर बस्यो भने मिलिया हुने गर्छ । मिलिया कुनै मानिसको अनुहारमा छुट्टाछुट्टै पनि देखिन सक्छ । कसैकसैको अनुहारमा धेरै ससाना दाना निस्कने गर्छ ।
मिलिया सबै उमेर समूहको मानिसको अनुहारमा देखिए पनि भर्खर जन्मिएको बच्चामा धेरै देखिन्छ । मिलियाले छालामा कुनै पनि समस्या पार्दैन । मिलिया केही हप्तादेखि महिनासम्म रहने हुनाले उपचार आवश्यक पर्दैन ।
मिलिया प्रइमेरी र सेकेन्डरी गरी दुई प्रकारको हुन्छ ।
प्राइमेरी मिलिया
प्रइमरी मिलिया भर्खर जन्मिएका बच्चाको अनुहारमा देखिने गर्छ । भर्खर जन्मिएको बच्चामा के कारणले मिलिया देखिन्छ, त्यसको कारण अहिलेसम्म पत्ता लागेको छैन । मिलिया आउने कारण नभएकोले यसलाई इडियोप्याथिक भन्ने गरिन्छ ।
सानो बच्चामा आएको मिलिया केही हप्तादेखि केही महिनाभित्र आफैं निको हुने गर्छ । यसको खासै उपचार गर्नु पर्दैन । कुनैकुनै आमाबुबाले बच्चालाई मिलिया हुँदा डन्डिफोर वा एलर्जी भयो भन्ने शंका लागेर चिकित्सकलाई देखाउने गर्छन् ।
सेकेन्डरी मिलिया
सेकेन्डरी मिलिया वयस्क उमेरका मानिसमा बढी देखिने गर्छ । वयस्कामा आउने मिलिया लामो समयसम्म रहने गर्छ ।
वयस्कमा मिलिया आउनुका कारण
– घामले छाला डढेमा ।
– कुनै क्रिमको लामो समयसम्म प्रयोगले पनि मिलिया देखिने गर्छ ।
– छालाको चोटपटक लागेको छ भने पनि मिलिया देखिने गर्छ ।
– छालामा फोका आउँदा पनि निको हुने बेलामा मिलिया बनाउने गर्छ ।
– आगोले पोलेर निको भएको खतमा पनि मिलिया देखिने गर्छ ।
उपचार
वयस्कमा आउने मिलिया कुनैकुनैलाई मात्र छिटो निको हुने गर्छ । धेरै जस्तो मिलिया लामो समयसम्म अनुहारबाट जाँदैन । यदि लामो समयसम्म मिलिया गएन भने आफैंले कोट्याउने, निचोर्ने गर्नु हँुदैन । छालामा कुनै पनि समस्या नपरे पनि सुन्दरताको हिसाबले असर पारिरहेको हुन्छ । मिलिया आउँदा अनुहारको सुन्दतामा कमी आउने हुँदा छाला तथा यौनरोग विशेषज्ञलाई देखाउनु पर्छ । चिकित्सको सल्लाह अनुसार क्रिम, मल्हमको प्रयोग गरेर पनि मिलियालाई हटाउन सकिन्छ ।
अन्य उपचारमा चिकित्सकले सियोको टुप्पोले मिलियालाई निकालेर फाल्छन् । आजभोलि लेजरको माध्यबाट पनि मिलियाको उपचार गर्न सकिन्छ ।
(कार्की वीर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ रुपमा कार्यरत छिन् ।)