पिटिएको छु म, लखेटिएको छु म,
आफ्नै कर्मभूमि परिसरमै कुटिएको छु म,
तैपनि निरन्तर आफ्नो कर्ममा खटिएको छु म।
ज्यान क्यान्सरले लिन्छ, ज्यान कोभिडले लिन्छ,
ज्यान धुम्रपान ,अनि मद्यपानले लिन्छ,
तर दोषी करार हुन्छु म।
ज्यान त दुर्घटना, रक्तचाप अनि मधुमेहले लिन्छ,
तर ज्यानमारा इङ्गित हुन्छु म।
तैपनि निरन्तर कर्ममा खटिइरहन्छु म
कहां रिसाउंछु , कहिले रुन्छु म ?
वर्षौको तपस्या ,कठोर परिश्रम ,
अनवरत अध्ययन पछि तयार हुन्छु म ।
सधैं तल्लिनतासाथ
सेवामा तम्तयार रहन्छु म ।
म पनि थाक्छु कहिलेकाहीँ ,
तर कहाँ रोकिन्छु म ?
हरेक अप्रत्स्यातित दुर्घटना र दुखद मृत्युमा ,
लापरवाहीको तराजुमा जोखिन्छु म ।
सधैं दोषी देखिन्छु म ।
बदनामीको धब्बाले पोतिन्छु म ?
खै कहिले चोखिन्छु म ?
हे मेरो निस्वार्थ कर्मशीलतामा
औंला उठाउनेहरु सुन !!
हे म माथि भौतिक
प्रहार गर्नेहरु सुन !!
घाइते हुंदा पनि ,
बेफुर्सत तिम्रै बिरामीको
सेवामा सरिक हुन्छु म ।।
उपचारमा तल्लीन हुन्छु म ।।
(कार्यक्षेत्रमा अनाहकमा आक्रोश र आक्रमणको शिकार हुन बाध्य सम्पुर्ण चिकित्सकहरु सँगको सहभाव र भावनात्मक ऐक्यवद्दता सहित।)
-डा पौडेल नेपाल मेडिकल कलेजका सर्जन हुन्।