चिसो साँझमा सबै घरभित्र पस्दा
मेरा पाइलाहरू हस्पिटलभित्र छिर्दैछन्
शरीरलाई सेतो वस्त्रधारीले सजाएर
कर्तव्यनिष्ठ फ्लोरेन्स नाईटिंगल बनेर।
कठ्यांग्रिने रातमा सबै सिरकभित्र छिर्दा
यी हातहरू सिरिन्जका खोल च्यात्दैछन्
ड्युटी कोठालाई घरको सेवा सम्झिएर
बिरामीहरू आफ्नै परिवार सोचेर।
भित्ते घडीका सबै सुई १२ मा पुग्दा
मेरो अनिदा आँखाहरू झुल्दैछन्
हरेकका घाउहरूमा मलहम लगाएर
सबैलाई माया र सान्त्वना बाँडेर।
ड्युटीका फोन टिग्रिंग बज्दा
झमक्क नहुँदै आँखाहरू ब्युझन्छन्
बेड नं. २०१ मा स्लाइन सकिएर
बिचरा बुढा बा बेस्सरी आत्तिएर।
टेबल र कुर्सी ओछ्यान बन्दा
टाउको र शरीर असहज हुन्छन्
बिरामीको सेवामा तल्लीन भएर
अरूको नयाँ जीवन दिएर।
सेवामुखी कर्तव्यको बाटो रोज्दा
सेवा पाएकाहरूले मुस्कान छर्छन्
म उनकै लागि रातभर जाग्राम भएर
सेवारूपी यी हातहरूले सुम्सुमाएर
धेरै चिसा रातहरू ड्युटीमा बित्दा
सन्तानका मिठा स्पर्शहरू छुटछन्
उनैका लागि मैले दुई पैसा बटुलेर
उज्वल भविष्यको सपना देखेर।