काठमाडौं- भिटामिन 'सी' प्राकृतिक रुपमा पाइने एक किसिमको एन्टीअक्सिडेन्ट हो। भिटामिन सी शरीरमा बन्दैन। त्यसैले विभिन्न माध्यमाट सेवन गरेर नै भिटामिन सी प्राप्त गर्नुपर्छ। भिटामिन सी अमिलोजन्य फलफूल, कागती, अमला, हरियो साग, ब्रोकोली, स्ट्रबेरीमा बढी मात्रा पाईन्छ।
भिटामिन सी पर्याप्त मात्रामा खाएपनि छालामा भने न्यून मात्रा मात्र पुग्ने गर्छ। त्यसैले छाला रोग विशेषज्ञहरुले छालामा भिटामिन सी को मात्रालाई पूर्ति गर्न भिटामिन सी सेरमको प्रयोग गर्न सुझाव दिने गर्छन्।
अहिले धेरैलाई भिटामिन सी सीरम बारे जिज्ञासा बढेको पाईन्छ। विशेषगरी छालामा यसले गर्ने काम र असरबारे धेरैको प्रश्न र जिज्ञासा मैले पाएको छु।
छालाको लागि भिटामिन सी किन आवश्यक छ ?
घामबाट छालामा पर्ने नकारात्मक असरबाट बचाउनु भिटामिन सी को मुख्य काम हो। घामको किरणले छालाको कोषहरुमा विभिन्न किसिमको असरहरु गर्छ।
घामको किरणले गर्दा छालामा हानिकारक तत्व रियाक्टिभ अक्सिजन स्पेशिस ( आरओएस ) बन्छ। जसले गर्दा छालामा एक प्रकारको तनाव ( ओक्सिडेटिभ स्ट्रेस ) पैदा गर्दछ। यसले छालमा हुने सेलुलर मेम्बरेन्स, डिएनए, फाइब्रोब्लास्टहरुमा नकारात्मक असर हुन्छ। परिणाम स्वरुप छाला बिस्तारै फुस्रो हुने, डढेको जस्तो देखिने, खुकुलो हुने र चमक हराएको जस्तो देखिन थाल्छ।
यी सबै समस्याबाट छुट्कारा पाउन भिटामिन सी को भूमिका निकै महत्वपूर्ण हुने गर्छ। घाममा हुने युभिए युभीबी ले छालाको कोलाजन र इलास्टीनलाई पनि हानी गर्दछ। लामो समयसम्मको घामको असरले छालालाई तन्काएर राख्ने कोलाजन र इलास्टिनको मात्रामा पनि कमी ल्याउन थाल्छ र भएका पनि बिग्रदै जाने गर्छ। जसका कारण कम उमेरमा पनि छालामा च्याउरीपना आउन थाल्छ। फाइन लाइन्सर रिन्कल्स आउन थाल्छ।
यही कारण हो, जवान उमेरका मानिसहरुको आँखा वरिपरि छाला खुकुलो हुने, गाला झुण्डिएको जस्तो देखिने र उमेर अघि नै बुढ्यौलीपन आएको जस्तो देखिन्छ।
भिटामिन सी ले घामको कारण देखापर्ने कालो दाग ( पिगमेन्टेसन ) लाई कम गर्न सक्छ। घामको कारणले देखिने सनस्पट, कालो दाग, चाया पोतो जस्ता पिगमेन्टेसनको उपचारमा यसले राम्रो काम गर्छ।
घाममा हुने युभिए युभिबीका कारण छाला रातो हुने, डढ्ने र विस्तारै छालाको क्यान्सर समेत गराउने संभावना हुन्छ। भिटामिन सी ले घामबाट पैदा हुने फ्रि रेडिकल्सहरुलाई बेअसर गर्ने हुनाले यसले विभिन्न नकारात्मक असरबाट बचाउँछ।
भिटामिन सी बजारमा कुन रुपमा उपलब्ध छन् ?
बजारमा थुप्रै उत्पादनहरु छन्, जसबाट हामीले छालामा भिटामिन सी को कमीलाई पुरा गर्न सक्छौ। बजारमा पाइने कस्मेटिक सामानहरु जस्तै क्रिम, लोसन, सीरम, फेसवासहरुमा भिटामिन सी को मात्रा मिलाइएको हुन्छ।
भिटामिन सी एकदम अस्थिर मोलिक्युल भएकाले यसलाई सक्रिय राख्न धेरै गाह्रो हुन्छ। भिटामिन सी लाई शरीरमा असर देखाउने एल एस्कार्बिक एसिड हो। यसको पिएच ३ दशमलव ५ भन्दा कम हुँदा मात्र यो छालाभित्र पस्ने र असर देखाउन सक्छ।
यो मोलिक्युलको पिएच यदी मिलाउन सकिएन भने यो विस्तारै निष्क्रिय भएर जाने, छाला भित्र पस्न नसक्ने र सकारात्मक देखाउन सक्दैन। बजारमा विभिन्न कस्मेटिक उत्पादनको रुपमा भिटामिन सी उपलब्ध छन्। तर चिकित्सकको परामर्श बिना ती उत्पादनहरु छालामा प्रयोग गर्नु हुँदैन। चिकित्सकहरुले छालामा प्रयोग गर्ने भिटामिन सी धेरै जस्तो सिरमको रुपमा हुने गर्छ। जसमा भिटामिन सी को मात्रा १० देखि २५ प्रतिशतसम्म हुन्छ।
भिटामिन सी सिरमको फाइदा र बेफाइा के के छन् ?
भिटामिन सी सिरमको फाइदा र बेफाइदा दुवै छन्। भिटामिन सी सिरमको फाइदा भनेको घामको किरणले छालामा पार्ने नकारात्मक असरलाई कम गर्नु नै हो।
भिटामिन सी सिरमको प्रयोगले चाउरीपना, हराएको चमक, पिगमेन्टेसनलाई कम गर्नुका साथै छाला तन्केको र चमक आएको पाइएको छ। बिरामी स्वमले यसको महसुस गर्ने गरेका छन्।
यसले गर्ने केही बेफाइदा पनि छन्। विशेषज्ञको सल्लाह बिना छालामा यसको प्रयोग गर्दा बेफाइदा हुने हो। मुख्य गरी स्कीन इरिटेशन हो। आफुखुशी भिटामिन सी सिरमको प्रयोग गर्दा मात्र छाला सुख्खा तथा फुस्रो हुने, चिलाउने, पोल्ने, छाला राता हुने हुन्छ।
जथाभावी पाइने कस्मेटिक उत्पादनमा भिटामिन सी को मात्रा सही नहुन सक्छ। पिएच नमिलेको पनि हुन सक्छ। त्यसैले कस्मेटिक रुपमा भन्दा पनि औषधिको रुपमा पिएच मिलेको, सक्रिय अवस्थामा रहेको, व्यक्तिको छाला अनुसार र विशेषगरी विशेषज्ञको सल्लाह अनुसार मात्र प्रयोग गर्नुपर्छ।
भिटामिन सी सिरम व्यक्तिको छाला अनुसार प्रयोग गर्नुपर्ने हुन्छ। भिटामिन सी सिरम प्रयोग गर्न मिल्ने÷नमिल्ने, कति प्रतिशतबाट सुरु गर्दा हुन्छ भन्ने कुरा छाला विशेषज्ञसँग परामर्श गर्न अति नै आवश्यक छ। विशेषज्ञले दिएको सल्लाह अनुसार नै हामीले भिटामिन सी सिरमको प्रयोग ग¥यौं भने यसको फाइदा पनि लिन सक्छौं।
(डा रीति आचार्य झापाको दमकस्थित डेल्फी स्कीन केयर अस्पतालकी छाला रोग विशेषज्ञ हुन्। )