विश्वभर करोडौंलाई संक्रमित र लाखौंको ज्यान लिइसकेको कोभिड–१९ महामारी रोकिने संकेत अहिलेसम्म देखिएको छैन। तर सन् २०२० को अन्त्यतिर आएर विश्वले राहतको श्वास फेर्ने मौका पायो। विश्वका केही कम्पनीले कोभिड–१९ विरुद्धको खोप तयार पारेका समाचारहरु सनिए।
त्यति मात्र होइन, केही कम्पनीले परीक्षणका सम्पूर्ण चरण समेत पार गरेर उत्कृष्ट नतिजाहरु हात पार्न सफल भए। साधारणतयाः कुनै भ्याक्सिन बन्न करिब १० देखि १५ वर्ष लाग्ने भए तापनि कोरोना भाइरस विरुद्घको भ्याक्सिन १ वर्ष नपुग्दै निर्माण भएर जनतासम्म आइपुग्नु विज्ञानको निकै ठूलो चमत्कार मान्नु पर्छ।
विश्वभरका वैज्ञानिकहरु लागि पर्नु, पछिल्लो दशक जीवविज्ञान क्षेत्रमा ठूलो फड्को मारेर उत्कृष्ट प्रविधिहरुको आविष्कार हुनु, विश्वविद्यालय, रिसर्च सेन्टर र औषधि उत्पादक कम्पनीहरुबीच सहकार्य हुनु, सरकार र संघ संस्थाहरुले हृदयदेखि आर्थिक सहयोग गर्नु, यी सबै कुराहरुको तालमेल मिलेको हुनाले यति छोटो समयमा भ्याक्सिन बन्न सफल भएको हो। आजको दिनसम्म करिब ६० देशमा भ्याक्सिन प्रयोग सुरु भइसकेको छ।
नेपालमा पनि २०७७ साल माघ ८ गतेका दिन भारत सरकारको अनुदान स्वरुप १० लाख डोज कोभिसिल्ड भ्याक्सिन भित्रिएको छ। यसै सन्र्दभमा विभिन्न खोपका बारेमा संक्षिप्त जानकारीका साथै नेपालको सन्र्दभमा कुन भ्याक्सिन उपयुक्त छ भन्ने कुराको चर्चा गरिएको छ।
फाइजर बायोन्टेक कोभिड–१९ भ्याक्सिन
संयुक्त राज्य अमेरिकाको फाइजर र बायोन्टेक कम्पनी मिलेर निर्माण गरेको यो भ्याक्सिन विश्वमै पहिलो पटक प्रयोगमा आएको एम–आरएनए प्रविधिमा आधारित छ। यो आनुवंशिक तत्वमा नवशरीरमा प्रवेश गरेपछि भाइरसको प्रोटिन बनाउँछ, जसको विरुद्घ मानव शरीरमा एन्टिबडी बन्छ। त्यही एन्टिबडीले हामीलाई कोरोना भाइरसबाट बचाउँछ।
यो प्रविधिको विकास विज्ञानको ठूलो फड्को सावित भएको छ। करिब ४३ हजार जनामा गरिएको परीक्षणमा यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी पाइएको छ। संयुक्त राज्य अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्टे«सन एजेन्सीले सन् २०२० को डिसेम्बर ११ का दिन आपतकालीन प्रयोगको लागि अनुमति दिएको यो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले पनि डिसेम्बर ३० का दिन अनुमति प्रदान ग¥यो। यो भ्याक्सिन कोभिड–१९ विरुद्घ प्रयोगको अनुमति पाउने पहिलो भ्याक्सिन बन्न पुग्यो।
संयुक्त राज्य अमेरिका, बेलायत, बेल्जियम र क्यानडाका साथै विश्वका विभिन्न मुलुुकमा यो भ्याक्सिन प्रयोगमा आइसकेको छ। प्रभावकारिता उत्कृष्ट भए पनि यो भ्याक्सिन माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकोले नेपाल जस्तो देशको रोजाइमा पर्दैन। नेपालमा माइनस ७० तापक्रममा डिग्री कायम गर्नसक्ने क्षमता कमै भएकाले कोल्डचेनमा समस्या हुन्छ।
मोर्डना भ्याक्सिन
अमेरिकाको मोर्डना कम्पनीले विकास गरेको यो भ्याक्सिन पनि फाइजर बायोन्टेक जस्तै एम–आरएनए प्रविधिमा आधारित छ। करिब ३० हजार जनामा गरिएको परीक्षणमा यो भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी पाइएको छ। फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एजेन्सीले सन् २०२० को डिसेम्बर १८ का दिन आपतकालीन प्रयोगको लागि अनुमति प्रदान गर्यो। अमेरिका, बेलायत र युरोपका विभिन्न देशमा यो भ्याक्सिनको प्रयोग सुरु भइसकेको छ। यो भ्याक्सिन माइनस २० डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ। नेपाल सरकारले विभिन्न स्थानमा माइनस २० डिग्री तापक्रम भएको भण्डारण केन्द्र बनाउन सुरु गरेकाले यो भ्याक्सिन पनि नेपालको सीमित भूभागमा प्रयोग गर्न सकिन्छ।
अक्सफोर्ड एस्ट्रेजेनिका भ्याक्सिन कोभिसिल्ड
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनिका कम्पनी मिलेर विकास गरेको यो भ्याक्सिनको उत्पादन भने भारतको सिरम इन्स्टिच्युटले गरिरहेको छ। यो भ्याक्सिन कोरोना भाइरसको तत्वलाई अर्को निर्जीव भाइरसमा विकास गरिने पुरानै प्रविधिमा आधारित छ। बेलायत र ब्राजिलमा १२ हजार जनामा गरिएको परीक्षणमा यो भ्याक्सिन ६२ देखि ९० प्रतिशतसम्म प्रभावकारी पाइएको छ।
बेलायतको फुड एण्ड ड्रग एडमिनिस्टे«सन एजेन्सीले ३० डिसेम्बर २०२० का दिन आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो। यो भ्याक्सिनलाई भारत सरकारले १ जनवरी २०२१ का दिन अनुमति प्रदान गरेको थियो भने नेपाल सरकारले पनि १५ जनवरी २०२१ का दिन अनुमति प्रदान ग¥यो। यो भ्याक्सिन २–८ डिग्री तापक्रममा राख्न सकिने भएकाले फाइजर बायोन्टेक र मोर्डना भ्याक्सिनजस्तो कोल्डचेनमा समस्या हुँदैन। छिमेकी मुलुक भारत पनि साझेदार रहेको यो भ्याक्सिन सन् २०२१ को अन्त्यसम्ममा ३ अर्ब डोज उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ। भारतमा यो भ्याक्सिन धमाधम प्रयोग भइरहेको छ।
स्पुटनिक भी भ्याक्सिन
यो भ्याक्सिनलाई रुस सरकारले सुरुवाती दिनहरुमा विश्वकै पहिलो कोभिड–१९ विरुद्घको भ्याक्सिन भनेर प्रचार गरेको थियो। तथ्यांकहरु पर्याप्त नभएकोले विश्वका नियामक संस्थाहरुले अनुमति नदिएको भए पनि यो भ्याक्सिन रुस, अर्जन्टिना, बेलारुसका साथै विश्वका विभिन्न मुलुुकमा यो भ्याक्सिन प्रयोगमा आइसकेको छ। पुरानै प्रविधिमा आधारित यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको परीक्षणको नतिजा राम्रो भए तापनि तेस्रो चरणको परीक्षण पूरा भएको छैन। रसिया सरकारले नेपाललाई २.५ करोड डोज भ्याक्सिन उपलब्ध गराउने जानकारी दिएको छ। यो भ्याक्सिन पनि २–८ डिग्री तापक्रममा राख्न सकिने भएकाले कोल्डचेनमा समस्या हुँदैन। तेस्रो चरणको परीक्षण पूरा नभएको कारण यो भ्याक्सिन अहिले नै भित्र्याउनु बुद्घिमानी हुँदैन।
साइनोफार्म भ्याक्सिन
चीनमा विकास भएको साइनोफार्म भ्याक्सिन पनि कोभिड–१९ विरुद्घको भ्याक्सिनको क्षेत्रमा अगाडि रहेको छ। यो भ्याक्सिन कोरोना भाइरसलाई नै निर्जीव बनाएर पुरानै प्रविधिवाट तयार गरिएको हो। कम्पनीका अनुसार भ्याक्सिनको प्रभावकारिता ७९ प्रतिशत रहेको जनाइएको छ। विभिन्न देशमा भएका परीक्षणहरुमा यसको प्रभावकारिता ६० देखि ८६ प्रतिशतसम्म पाइएको छ। यो भ्याक्सिनले चीन लगायत पाकिस्तान, पेरु, अर्जेन्टिना जस्ता देशमा परीक्षणका साथै आपतकालीन प्रयोगको लागि पनि अनुमति पाइसकेको छ। यो भ्याक्सिन पनि २–८ डिग्री तापक्रमा राख्न सकिने भएकाले नेपालको निम्ति उपयुक्त हुनसक्छ।
कोभ्याक्सिन
भारतको भारत बायोटेक कम्पनीले विकास गरेको भ्याक्सिनको पनि सुरुवाती नतिजा उत्साहजनक छ। तेस्रो चरणको परीक्षण पूरा नगरी भारत सरकारले ३ जनवरी २०२१ का दिन आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो। समय अगावै अनुमति दिएकोले भारतकै वैज्ञानिकहरु पनि सरकार र भारत बायोटेक कम्पनीको यो कदमको विरोध गरिरहेका छन्। कम्पनीका निर्देशकले भने आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेको र तेस्रो चरणका नतिजा पनि यही महिना भित्रमा आइसक्ने बताएका छन्।
नेपालका निम्ति उत्कृष्ट भ्याक्सिन
नेपाल सरकारले विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संघ–संस्थामार्फत भ्याक्सिन ल्याउन पहल गरेको छ। सातै प्रदेशमा कोल्डचेन सहितको खोप भण्डारण केन्द्रहरु बनाउन सुरु गरेको छ। यसैको फलस्वरुप नेपाल सरकारको पहलमा भारत सरकारले नेपाललाई पहिलो चरणमा १० लाख डोज कोभिसिल्ड भ्याक्सिन प्रदान गरेको हो। निकट भविश्यमा १.५ करोड डोज प्रदान गर्ने जानकारी आएको छ।
फाइजर बायोन्टेक, मोर्डना भ्याक्सिन र अक्सफोर्ड एस्ट्रेजेनिका भ्याक्सिन (कोभिसिल्ड) विश्वमै धेरै देश र नियामक निकायहरुबाट अनुमति प्राप्त छ। फाइजर बायोन्टेक भ्याक्सिन माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकोले नेपालमा प्रयोग गर्न अहिलेको पूर्वाधारले पर्याप्त हँुदैन। नयाँ प्रविधि भएकोले यो भ्याक्सिन महँगो पनि पर्ने हुन्छ। मोर्डना भ्याक्सिन माइनस २० डिग्री तापक्रममा सुरक्षित हुने भएकोले माइनस २० भण्डारण केन्द्र भएको नेपालको सीमित भूभागमा प्रयोग गर्न सकिन्छ।
कोभिसिल्ड भ्याक्सिन २–८ डिग्री तापक्रममा राख्न सकिने भएकाले नेपालको जुनसुकै भूभागमा सजिलै पु¥याउन र प्रयोग गर्न सकिन्छ। छिमेकी देश भारतमै उत्पादन हुने भएकोले प्राप्त गर्न पनि केही सजिलो हुने देखिन्छ। एक वर्ष भित्रमै ३ अर्ब डोज बनाउन सकिने, पुरानै प्रविधि भएकोले सुरक्षित हुने र धेरै सस्तो पनि पर्ने देखिन्छ। नेपालमा १० लाख डोज कोभिसिल्ड भ्याक्सिन आइसकेकोले प्राथमिकताका आधारमा तुरुन्त प्रयोगमा ल्याउन जरुरी छ।
नियामक संस्थाहरुबाट अनुमति पाइसकेपछि साइनोफार्म, स्पुटनिक भी र अरु भ्याक्सिनबारे पनि प्रक्रिया अगाडि बढाउनु जरुरी छ।
(बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका सहप्राध्यापक डा श्रेष्ठ कोभिड–१९ को अनुसन्धानमा सक्रिय छन्।)