शय्या माथि कृत्रिम श्वासमा
पुर्नजन्म हुन्छ कि भन्ने आशमा
बोल्न खोजे झँै गम्भीर मुहारमा
भगवान झैँ डाक्टर नर्सको भरमा
आशावादी खबरको पर्खाइमा
बाहिर कुरेर बसेका आफन्तमा
खुशीको खबर सुनाउन मन त हुन्छ
कतिलाई सक्छु त कतिलाई सक्दिन ।
सेवा दिदाँ दिदै प्राण जान्छ हातैमा
सन्नटा छाउँछ पल्टिएको बेडमा
टिलपिल हुन्छ आफ्नै आँखामा
बेखबर सुनाउँदा उनका आफन्तमा
दर्दनाक पीडा भकानिदा सबैमा
मेरा केही समवेदनाका शब्दहरूमा
छटपटाहट र बेचैनी रोक्न त मन हुन्छ
कतिलाई सक्छु त कतिलाई सक्दिन ।
यी हातले औषधिहरु खुवाउँदा
अक्सिजनको मात्रा पिलाउँदा
क्षण–क्षणमा भाईटल साईनहरु नाप्दा
रात दिन उपचारमा संलग्न हुँदा
नयाँ जीवनको पाईला उचाल्दा
महिनौ शय्यामा पल्टिएर घर फर्किदा
ती मुस्कानमा अकंमाल गर्न मन त हुन्छ
कतिलाई सक्छु त कतिलाई सक्दिन ।