लामो समयदेखि मुलुकको सम्रग स्वास्थ्य प्रणाली सुधारमा सक्रिय छन्, डा विकास गौचन। डा गौचन अहिले नेपालकै पहिलो प्रदेश (गण्डकी) स्तरीय संक्रामक सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्। दुर्गममा धेरै समय दिएका डा गौचनलाई स्वास्थ्य क्षेत्र सुधार र जनतालाई सेवा दिएवापत सुदूरपश्चिम प्रदेश सरकारले सम्मान समेत गरेको छ। अछाममा रहेको बयालपाटा अस्पतालको स्वास्थ्य सेवा निर्देशक पदबाट राजीनामा दिएर गण्डकी प्रदेश अस्पतालका लागि आह्वान गरिएको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट छनोट भएका डा गौचनले काम थालेको एक महिना पूरा भएको छ। यसै सन्र्दभमा उनको भावी योजना के छन्, कसरी अगाडि बढ्ने र अस्पतालको विकासका लागि कस्तो खाका तयार गरेका छन् भन्ने विषयमा स्वास्थ्यखबरका लागि पूर्णबहादुर खड्काले गरेको कुराकानीः
देशकै पहिलो प्रदेशस्तरीय अस्पतालको व्यावस्थापनको जिम्मेवारी पाउनु भएको छ, कसरी अगाडि बढ्ने योजनामा हुनुहन्छ?
यो जिम्मेवारीलाई मेैले चुनौती र अवसर दुवै रुपमा लिएको छु। कोभिड–१९ ले हाम्रो समग्र स्वास्थ्य प्रणाली र गुणस्तरीय सेवा दिन हाम्रो प्रणाली कत्तिको सक्षम भयो भन्ने पाठ सिकाएको छ। विश्वका विकसित देश युरोप, अमेरिका, जापान, साउथ कोरिया जस्ता देशहरुमा पनि कोरोना महामारीको समयमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चुनौती र कठिनाइ भइरहेको हामीले पायौँ।
नेपालको परिप्रेक्षमा पनि सुरुमा गण्डकी प्रदेशले एउटा छुट्टै विशिष्टीकृत अस्पताल चाहिन्छ, जसले सरुवा तथा संक्रामक रोग लागेका मानिसलाई राम्रो सेवा दिन सक्छ भनेर परिकल्पना गरेको रहेछ। नेपालमा लकडाउन सुरु हुने बेलादेखि नै यहाँ छलफल सुरु भएको थियो। वैशाख २०७७ मा छलफल चलिरहँदा पोखरा महानगरपालिकाको वडा नं ३० मा रहेको लेखनाथ सामुदायिक लाइन्स अस्पताललाई सरकारीकरण गरेर विशिष्टकृत अस्पताल बनाएर सञ्चालन गर्ने ऐतिहासिक निर्णय भएको थियो।
यसअघि नेपालको हकमा अस्पतालहरु मेडिकल सुपरिटेन्डेन्टको नेतृत्वमा सञ्चालन हुँदै आएकोमा गण्डकी प्रदेशले सुरु गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा एक जना कार्यकारी निर्देशकलाई कार्यसम्पादनमा सम्झौता गरेर ५ वर्षको कार्यकाल सञ्चालन गर्न दिने अवधारणा अघि सारेको छ। देशमा संक्रामक तथा सरुवा रोग धेरै छन् तर अहिले महामारीको रुपमा कोभिड–१९ जसरी देखा परेको छ। त्यसलैले हामीले अहिलेदेखि नै राम्रोसँग काम गर्न सक्यौँ भने स्वास्थ्य प्रणाली बलियो बनाउने यो एउटा ठूलो अवसर पनि हो। यसैलाई आधार मानेर चुनौती र अवसरका रुपमा लिएको छु।
तपाईंको कार्यकालमा स्वास्थ्य प्रणाली सुधार गरी जनतालाई स्वास्थ्य सेवा दिने आधार वा खाका के छ?
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रहेर बयालपाटा अस्पतालमा काम गर्दा हामीले प्रणालीगत सुधारका कामहरु धेरै ग¥यौँ। व्यावस्थापनका पक्षका के कुरामा हामीले त्यो बेला ध्यान दियौँ भने यदि कुनै अस्पतालमा काम गर्दा गरिब, असहाय, पैसा नहुने मान्छे आउँदा उनीहरुलाई गुणस्तरीय सेवा कसरी सुनिश्चित गर्ने भन्ने व्यवस्थापकीय पक्षमा जोड दियौँ।
गडकी प्रदेशमा प्रणालीगत सुधारहरु गर्नुपर्ने आवश्यकता छ। कोभिड सहितका निश्चित रोगहरुलाई भविष्यमा पनि पैसा नभएका आम जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने हाम्रो अबको लक्ष्य हुनेछ। यस्तै निकट भविष्यमै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन अस्पतालको योजना बनाउने लक्ष्य छ। यसमा प्रदेश सरकार तथा महानगरपालिको अपनत्व हुनेगरी काम गर्ने योजना छ। साथै यस प्रदेशका विपन्न नागरिकका लागि गुणस्तरीय सेवा दिन विपन्न नागरिक कोषलाई व्यवस्थित बनाएर अगाडि बढाउने लक्ष्य पनि छ।
मेरो मान्यता बयालपाटा अस्पतालमा हुँदा पनि पैसा नभएर मान्छेले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने थियो अहिले पनि त्यही छ र भोलि पनि यही हुनेछ। संक्रामक तथा सरुवा रोगको कारणले अकालमा मानिसको ज्यान जान नजाओस् भनेर हामी सक्रिय भएर लागेका छौँ। यसमा सबै पक्षबाट सकरात्मक सहयोग आवश्यक हुन्छ।
तपाईंको व्यावस्थापनमा अस्पताल सुधारका केके काम हुनेछन्, बुँदागत रुपमा?
- हामीले २ महिनाभित्र मानव संसाधन तयार गर्ने लक्ष्य लिएका छौँ।
- विशेषज्ञ चिकित्सकको माग पनि सामाजिक मन्त्रालयमा भइसकेको छ।
- आइसियु र एचबीको सेवा पनि विस्तार गर्ने छौँ।
- एक महिनाभित्र अस्पतालभित्र काम गर्ने सबै स्वास्थ्यकर्मीको स्तर वृद्धि गर्नको लागि नियमित मेडिकल शिक्षा सिएमई सुरु गरिसकेका छौँ।
- अस्पतालको स्तर वृद्धि गरेर ३ महिनाभित्रै संक्रमण रोकथामको हिसाबले यस विषयमा पनि काम गर्ने योजना छ। साथै अस्पताललाई ग्रिन जोनका रुपमा स्थापित गर्न फोहोर व्यावस्थापनमा समेत हाम्रो जोड हुनेछ।
- यो आर्थिक वर्ष भित्र केके काम गर्ने सामाजिक विकास मन्त्रालयसँग पनि छलफल गर्छौँ।
- आउने आर्थिक वर्षको लागि अस्पतालले कुनकुन क्षेत्रमा जोड दिनुपर्नेछ भन्ने विषयको पहिचान गर्नेछौँ। यसमा अक्सिजन प्लान्ट, प्रयोगशाला स्तर वृद्धि, विद्युतीय स्वास्थ्य तथ्यांक प्रणालीमा प्रणालीगत सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत काम गर्ने भनेका छौँ।
केही समय पहिले पोखरामा एक जना महिलाले उपचार नपाएर ज्यान गुमाउनुपर्यो। अस्पतालले कोरोनाको डरले भर्ना लिन नमानेको भन्दै समाचार बाहिर आए। अब गण्डकी प्रदेशमा उपचार नपाएर कसैको ज्यान जाने छैन भन्ने आधार के छ?
यहाँको मिडियामार्फत म के अनुरोध गर्न चाहन्छु भने, उपचारका लागि हाम्रो अस्पताल सधैँ २४ सै घन्टा खुला छ र रहने छ। यहाँ सम्भव नभएका जटिल बिरामीको उपचार कुन ठाउँमा सम्भव छ, त्यसका लागि समेत हाम्रो पहल हुनेछ। तपाईले धनमायाको कुरा उठाउनुभयो, उहाँ सुरुमा निजी अस्पताल मात्रै धाउनु भएको रहेछ। उहाँलाई प्रदेशको अस्पतालमा ल्याइएन। त्यसैले म अनुरोध गर्न चाहन्छु भने अहिलेको अवस्थामा कुनै पनि संक्रामक वा सरुवा रोग लागेको छ भने पहिलो प्राथमिकता सरकारको सरुवा रोग अस्पतालमै हुनुपर्छ। कोभिड–१९ मात्रै नभएर अन्य संक्रामक तथा सरुवा रोगको उपचार गर्ने लक्ष्य हाम्रो अस्पतालले लिएको छ। त्यही अनुसार हाम्रो अघि बढ्ने योजना छ। उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने स्थिति सिर्जना हुन नदिन हामी सबैले सक्रिय भएर लाग्नुपर्छ।
अन्त्यमा, दुर्गममा सीमित अवधि र थोरै मात्र चिकित्सक बस्ने परम्परा छ। यहाँलाई दुर्गममा के दिएँ र के पाएँ जस्तो लाग्छ?
के दिएँ भन्ने कुरा त म आफैं भन्दा पनि त्यस क्षेत्रका जनता र समुदायले मूल्यांकन गर्नुपर्छ। म दुर्गममा बस्दा जनताको सेवामै क्रियाशील भएँ र स्वास्थ्य प्रणाली सुधार गर्नुपर्छ भन्ने मान्यता मेरो जहिले पनि रह्यो। स्वास्थ्य क्षेत्रमा मैले गरेको काम र अन्य हिसाबले मलाई अछामले चिनाएको छ। त्यहाँ बसेर मैले धेरै कुरा सिक्ने अवसर पाएँ, आफ्नो सिपलाई निखार्ने मौका पाएँ।
त्यस क्षेत्रका जनताको सम्मान, माया र आदरलाई मैले मेरो जीवनको अहोभाग्य ठानेको छु। मैले अछाममै भएको बेला जनस्वास्थ्यमा स्नातकोत्तर ९एमपिएच० गर्ने समेत अवसर पाएको छु। जन्म घर मुस्ताङ भए पनि कर्मका हिसाबले अछामलाई मैले आफ्नै घरको रुपमा लिएको छु र सधैँ लिनेछु। दुर्गमको बसाइ जटिल नै हुन्छ तर अछाम बसाइका क्रममा जटिल र चुनौतीको सामना गर्न ज(जसले मलाई माया, साथ, हौसला र प्रेरणा दिनुभयो उहाँहरुप्रति आभार प्रकट गर्दछु र सधैँ उहाँहरुप्रति ऋृणी छु।