म झन् रोएँ
एक साँझ म वार्डभित्र रोइरहेको थिएँ। म रोएको देखेलगत्तै एक जना सिस्टर मछेउ आइपुग्नुभयो र मतिर हेरेर सोध्नुभयो, ‘अक्कल, तिमी किन रो’को ?’
म केही बोलिनँ, मात्र रोइरहेँ।
‘चिन्ता नलेऊ, म छु।’ म मौन रहेको देखेर आफ्नो रुमालले मेरो आँसु पुछिदिँदै उहाँले सान्त्वना दिन थाल्नुभयो, ‘हुन त, तिमीलाई घरको याद आयो होला। म बुझ्छु। तर तिम्रो आँखामा म आँसु देख्न चाहन्नँ।’
उहाँले त्यसो भन्नुभएपछि म झन् रोएँ।
अङ्कल, म पनि घर जाने
अस्पतालमा भर्ना भएको केही दिनपछि मलाई भेट्न ठूलो अङ्कल आउनुभयो। उहाँले मलाई अस्पतालको बगैँचामा सँगै लिएर जानुभयोेर हामी दुवै जना बगैँचाको बेञ्चमा गएर बस्यौँ।
उहाँले आफूले ल्याएको केही फलफूल खान दिनुभयो।
कुरैकुरामा मैले अङ्कललाई भनेँ, ‘अङ्कल, म पनि घर जाने ?’
‘तिम्रो स्वास्थ्य सुधारकै क्रममा छ।’ अङ्कलले मेरो कपाल मुसार्दै फेरि भन्नुभयो, ‘एक÷दुई दिनपछि तिमीलाई लिन म आइहाल्छु नि!’
मैले अङ्कलको कुरामा ध्यान दिइनँ र फेरि ढिँपी गर्न थालेँ, ‘अङ्कल, म पनि घर जाने ?’
तर, अङ्कलले मलाई त्यस दिन घरमा लिएर जानुभएन।
म्याङ्गो चकलेट
वार्डभित्र त्यस्तै ४०÷४५ वर्ष जतिको एक जना अङ्कल हुनुहुन्थ्यो। उहाँ मभन्दा केही दिन अगाडि मात्रै वार्डमा भर्ना हुनुभएको थियो। वार्डमा उहाँ र म आमुन्नेसामुन्ने थियौँ।
उहाँको बेडनजिकै एउटा सानो पुरानो सन्दुस थियो। उहाँले त्यस सन्दुसलाई बेलाबेलामा खोल्ने र बन्द गर्ने गर्नुहुन्थ्यो।
कहिलेकाहीँ पुछपाछ पनि गर्नुहुन्थ्यो।
एक दिन उहाँले मलाई आफूनजिक डाक्नुभयो र सन्दुसबाट एउटा चकलेट झिकेर दिँदै आँखा झिम्क्याउनुभयो, ‘ल, खाऊ।’
चकलेट खानुअगाडि मैले चकलेट बाहिरको खोललाई पढेँ। त्यहाँ लेखिएको थियो, ‘म्याङ्गो चकलेट।’
जीवनको लय
‘मसित पनि कविता छ,’ जीवनले डायरी पल्टायो, ‘सुन्ने हो अक्कल ?’
म हुरुक्क भएँ र भनेँ, ‘तिम्रै हो?’
‘हो,’ उसले निर्धक्कसाथ भन्यो।
‘खै, सुनाऊ त ?’
‘मैले लेखेका गीतहरु मेरा आफ्ना भएनन्, तिम्रो सौगातको के कुरा, म नै आफ्नो भइनँ।’
‘कस्तो लाग्यो?,’ उसले आँखा झिम्क्यायो।
मैले भनेँ, ‘ठ्याक्कै मेरो जीवनजस्तै।’
छिरिङको प्रेम
‘उर्गेन, तिमी पनि यहाँ?’ देखेलगत्तै छिरिङले मलाई गम्म अँगालो हालिन् र आश्चर्यचकित मुद्रामा सोधिन्, ‘तिमी यहाँ कहिले भर्ना भयौ राजा?’
‘मेरो नाम अक्कल हो,’ अक्मक्किँदै उनलाई भनेँ, ‘म उर्गेन होइन।’
मेरो कुरालाई बेवास्ता गरेर उनले मलाई धेरैबेरसम्म अँगालिरहिन्।
सुदीक्षा सिस्टरसित एकछिन
‘अक्कल, मन्दिरमा सुत्दा डर लागेन?’ गफैगफमा एक्कासि सुदीक्षा सिस्टरले सोध्नुभयो।
ओठ काँपिरहेका थिए। काँपिरहेकै ओठले भनेँ, ‘लागेन सिस्टर।’
‘अलिकति पनि !’ उहाँले आश्चर्यप्रकट गर्नुभयो।
‘अँ, म एक्लै सुत्दिनथेँ।’ उहाँतिर फर्केर सुनाएँ, ‘मसँगै एउटा कुकुर पनि सुत्थ्यो।’
‘बाहिर त्यसरी सुत्न हुन्छ त?’
मसँग जवाफ थिएन।