आज विश्व क्यान्सर दिवस। विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष फ्रेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।
विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका बिरामी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ।
क्यान्सरबाट वर्षेनी विश्वमा करिब ८० लाख जनाको मृत्यु हुने गरेको विभिन्न तथ्यांकले बताएका छन्। अमेरिकन क्यान्सर सोसाइटीको अध्ययनअनुसार सन् २०३० सम्ममा विश्वभर २३ करोड ६० लाख व्यक्ति क्यान्सरबाट पीडित हुनेछन्, जुन संख्या प्रत्येक तीन व्यक्तिमध्ये एक जना क्यान्सरको बिरामी हुन आउँछन्।
नसर्ने रोगमध्ये क्यान्सरले एकदम धेरै समस्या पारिरहेको छ। यसको प्रमुख कारण भनेको नै क्यान्सर सम्बन्धी पर्याप्त जनसचेतनाको कमी हुनु, परीक्षण र उपचारमा धेरै ढिलो हुनु हो। त्यसैले सबैले क्यान्सरसम्बन्धी जान्न अत्यन्त आवश्यक छ।
प्राकृतिक नियमअनुसार शरीरमा अर्बौं संख्यामा कोषिकाहरु बन्ने र बिग्रने क्रम चलिरहेको हुन्छ। यसै क्रममा विभिन्न प्रकारका वातावरणीय विकारको असरले गर्दा कोषिकाहरु नियन्त्रण बाहिर पुगेर बढ्न थाल्छन्, जुन अवस्थालाई क्यान्सर भनिन्छ।
क्यान्सरले गर्दा अर्कै प्रकारका कोषिकाहरु बन्ने क्रम सुरु हुन्छ। क्यान्सर लागेपछि कोषिका बढाउने तत्वले कुनै नियम मान्दैन र आफ्नै सुरले बढ्दै जान्छ र शरीरबाट आफूलाई चाहिने सबै तत्वहरु भने खपत गर्दै जान्छ।
विशेषगरी, क्यान्सर रोग पहिलो स्टेज अर्थात् जुन अंगमा क्यान्सर भएको छ, त्यही अंगमा मात्र सीमित छ भने त्यस्तो क्यान्सर निको हुने सम्भावना ८० प्रतिशतसम्म हुन्छ। त्यस्तै, क्यान्सर रोग यदि स्टेज २ मा छ भने उक्त क्यान्सर केही ठूलो हुनुका साथै झण्डैझण्डै बाहिर फैलिने अवस्थामा पुग्छ। यो स्टेजमा क्यान्सर रोग निको हुने सम्भावना झण्डै ५० प्रतिशत हुन्छ।
यदि क्यान्सर स्टेज ३ मा छ भने उक्त क्यान्सर बाहिर फैलिए पनि धेरै टाढा पुगेको हुँदैन। त्यो स्टेजमा अस्पताल पुगेका बिरामीमा क्यान्सर रोग निको हुने सम्भावना २० देखि २५ प्रतिशतसम्म मात्र हुन्छ। जबकी, स्टेज ४ मा पुग्दासम्म उक्त क्यान्सर एउटा अंगबाट अर्को अंगमा फैलिसक्ने हुँदा यो स्टेजका बिरामीको क्यान्सर भने प्राय: निको हुँदैन। त्यसैले, यो स्टेजमा गुणस्तरीय जीवनयापन गर्ने बाहेक अर्को विकल्प रहँदैन।
क्यान्सरले जुनसुकै उमेर समूहलाई प्रभावित पार्दै गइराखेको छ। समयमै उपचार गरे निको हुने भए पनि ढिलो मात्र स्वास्थ्य संस्थामा जाने प्रवृत्तिले धेरैले क्यान्सरबाट ज्यान गुमाउन बाध्य भएका छन्।
किन हुन्छ क्यान्सर?
क्यान्सर हुने खास कारण पत्ता लागेको छैन। तैपनि ५० प्रतिशत जति क्यान्सर खानाको कारणले लाग्ने गर्छ। यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु, पोलेको मासु आदि खाएर मोटाएर तथा धूमपान, मदिरा सेवन आदिको कारणले लाग्ने गर्छ। चुरोटले मात्र पनि करिब ३५ प्रतिशत क्यान्सर हुने जोखिम हुन्छ।
अन्य कारणमा एचआइभी/एड्स, हेपाटाइटिस बी, एचपिभी भाइरस, एच पाइलोरी आदि रहेका छन्। विकिरण उत्पन्न हुने क्षेत्रमा काम गर्ने, रंग्याउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरको प्रमुख कारक तत्व मानिन्छ।
क्यान्सर भएको कसरी थाहा पाउने?
अमेरिकी क्यान्सर सोसाइटीले लामो अध्ययनपछि क्यान्सरका लक्षण प्रकाशित गरेको छ। यीमध्ये कुनै पनि लक्षण देखापरेमा क्यान्सर भएको हुनसक्छ:
- खाना अपच वा निल्न गाह्रो भएमा,
- स्तन वा अन्य ठाउँमा नदुख्ने गिर्खा आएमा,
- निको नहुने गरी खोकी वा स्वर धोक्रो भएमा,
- कोठीको आकार बढेर ठूलो हुँदै गएमा,
- निको नहुने घाउ भएमा,
- घाउबाट अत्यधिक रक्तस्राव या पिप आएमा,
- दिसा वा पिसाबको तालिका फेरिएमा,
क्यान्सर रोकथाम कसरी गर्ने?
- क्यान्सर रोगको औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ। त्यसैले यसका कारक तत्वहरुवाट टाढा हुनु निकै राम्रो हुन्छ।
- कतिपय वस्तु वा खाद्य पदार्थको प्रयोगमा कमी गरेर पनि रोगको रोकथाम गर्न सकिन्छ।
- क्यान्सर धनी, शिक्षित, गरिब जुनसुकै समाज र राष्ट्रमा जोसुकैलाई जुनसुकै बेला लाग्न सक्छ।
- त्यसैले क्यान्सरजन्य कारक तत्वबाट पर बस्न सकेमा यो रोगबाट बच्न तथा टाढा रहन सकिन्छ।
क्यान्सर उपचार विधि
क्यान्सरको उपचार प्रायः तीन प्रकारका विधि प्रयोग गरेर गर्ने गरिन्छ।
- रेडियोथेरापी (विकिरणद्वारा)
- केमोथेरापी (औषधि प्रयोग गरेर)
- रोगको प्रकृति अनुसार हर्मोन र बायोलोजिकल प्रोडक्टअनुसार पनि क्यान्सरको उपचार गर्न सकिन्छ।
अझै पनि हाम्रो समाजमा क्यान्सरलाई मृत्युले परिभाषित गर्ने चलन छ। समयसमयमा स्वास्थ्य जाँच गराउन हामी खर्चिलो र झर्किलो मान्छौं। त्यही कारणले गर्दा समयमै परीक्षण र उपचार नपाएर हामीमध्ये धेरै क्यान्सरको सिकार हुन पुगेका छौँ।
क्यान्सर सम्बन्धी सचेतनाको कमी हुनु, सचेतना भए पनि हामीले त्यसलाई व्यवाहारमा उतार्न नसक्नु नै क्यान्सर सम्बन्धी लडाइँको पहिलो कमजोरी हो। क्यान्सरलाई सजिलै परास्त गर्न सचेतना, होसियारी र आत्मबल चाहिन्छ। त्यसैले यस वर्षको नारालाई सार्थक पार्न सबैले भनौं, 'क्यान्सरका लागि म छु र लागिरहने छु।'