महिलामा हुने विभिन्न समस्यामध्ये पिसाब चुहिने समस्या पनि एक हो। बढ्दो उमेरसँगै महिलामा पिसाब चुहिने समस्या बढ्दै जान्छ। यो समस्यालाई चिकित्सकीय भाषामा ‘स्ट्रेस युरिनरी इन्कन्टिनेन्स’ भनिन्छ।
कुनै कारणवश पेटमा बल गर्नुपर्यो भने पिसाब आफैं चुहिन्छ। खोक्दा, हाछ्युँ गर्दा पिसाब चुहिन सक्छ। कुनै बेला त बसिरहेको बेला एक्कासि पिसाब लाग्छ। पिसाब चुहिने समस्यालाई महिलाले सामान्य ठान्छन्। तर यो समस्या सामान्य होइन। समयमै निदान गरी उपचार गरे पिसाब चुहिने समस्याबाट छुटकारा पाउन सकिन्छ।
विभिन्न व्यायाम र औषधिको प्रयोगबाट यो समस्या ठिक हुन्छ। औषधि र व्यायामबाट पनि ठिक नभए शल्यक्रिया गर्नुपर्ने हुन्छ। यो समस्या आम रुपमा भए पनि महिलाले खुलेर भन्न चाहँदैनन्। उनीहरुलाई यो सामान्य लाग्छ। सबैलाई हुने समस्या होला भन्ने ठानेर उनीहरु उपचारमा जाँदैनन्। नेपालमा मात्र नभई बाहिरी मुलुकमा पनि महिलाले यो समस्याबारे खुलेर कुरा गर्दैनन्।
कुनै बेला भर्खर पिसाब गरेर आए पनि एक्कासि लागे जस्तो महसुस हुन्छ। यतिसम्म की कुनै बेला शौचालय जाँदाजाँदै पिसाब आफैं चुहिन सक्छ त कुनै बेला आफैं ठिक पनि हुन्छ। पाठेघर खसेका महिलामा पनि पिसाबको समस्या देखिएको छ। पिसाब पूरा नगएको जस्तो महसुस उनीहरुले गर्छन्।
बच्चा भइसकेका महिलामा पनि पिसाबको समस्या देखिन सक्छ। शिशुको जन्मपछि पिसाबको थैली लाटो भइदिन्छ। पिसाबको थैली लाटो भएपछि उनीहरुलाई पिसाब लागेको महसुस नै हुँदैन। त्यस्तो अवस्थामा अल्ट्रासाउन्ड या भिडियो एक्स–रे गर्यौं भने पिसाबको थैली पूरा भरिएको हुन्छ। थैली भरिए पनि ती महिलाले पिसाब लागेको महसुस भने गर्दैनन्।
महिनावारी सुक्न लाग्दा या सुकेपछि पनि यो समस्या आउन सक्छ। ४०/४५ वर्षको उमेर पुगेपछि महिलाको अन्डादानीले इस्ट्रोजोन हर्मोनहरु उत्पादन गरिरहेको हुन्छ, त्यो कम भएर जान्छ। यसको उत्पादन कम भएपछि पाठेघर र पिसाब थैलीका मासंपेसीहरु पातलो र कमजोर हुँदै जान्छन्। त्यसैले यो समस्यालाई उमेरले निम्त्याउने समस्या पनि भन्न सकिन्छ।
शिशुको जन्मपछि पिसाबको नलीलाई बाँधेर राख्ने मांसपेसीहरु खुकुलो हुँदै जान्छन्। कतिपयको त लामो व्यथा लाग्दा ती भाग च्यातिन्छन् पनि। तर अधिकांशको भने तन्किन्छ र लाटो भएर बस्छ। लामो व्यथा लाग्दा बच्चाको टाउकोले पिसाबको थैलीलाई दबाउँछ। लामो समय थैलीलाई दबाउँदा ती भागमा रक्तसञ्चार कम हुन्छ। विस्तारै त्यो भागमा प्वाल पर्छ। प्वाल परेपछि पिसाब आफैं चुहिन थाल्छ।
पिसाब चुहिने समस्या हुँदा महिलाहरु समाजमा घुलमिल हुन सक्दैनन्। पेटमा बल पर्नेवित्तिकै, खोक्दा या हाछ्युँ गर्दा पिसाब चुहिइहाल्छ। त्यही डरका कारण महिलाहरु समाजमा घुलमिल हुन चाहँदैनन्। कतिपय महिलाले यो समस्या वर्षौंदेखि लुकाएर पनि राख्छन्। हामीले सोध्यौं या काउन्सिलिङ गर्यौं भने मात्र कुरा खोल्छन्।
पिसाब चुहिने समस्याको समयमै उपचार नभए पिसाबको संक्रमण हुने सम्भावना अत्यधिक हुन्छ। महिलाले लुकाउने हुँदा कतिलाई यो समस्या छ भन्ने यकिन तथ्यांक छैन। तर १० देखि २० प्रतिशत महिलालाई यो समस्या देखिन सक्ने अनुमान छ।
ढिलो–चाँडो अधिकांश महिलालाई यो समस्याले सताउँछ। कुन बेला यो समस्या देखिन्छ भन्ने मात्र हो। धेरै बच्चा जन्माएका र सुत्केरी हुँदा समस्या भएका महिलामा पिसाब चुहिने समस्या छिटो देखिन सक्छ। केही समस्या नहुने महिलामा भने महिनावारी सुक्दै गएपछि देखिन सक्छ।
यो समस्या हुने महिलाले धूमपान तथा मद्यपान त्याग्नुपर्छ। कफी पनि पिउनु हुँदैन। कुनै बेला रक्तचापको औषधि सेवन गरिरहेका महिलामा पनि यो समस्या देखिन सक्छ। रक्तचापको औषधि छोड्दा रक्तचाप बढ्ला भन्ने डर हुन्छ। त्यही भएर हामीले व्यायाम सिकाउँछौं। व्यायाम घरमै बसेर पनि गर्न सकिन्छ।
जीवनशैली परिवर्तन गर्नुपर्छ। तौल नियन्त्रणमा राख्नुपर्छ। यति मात्र नभई हामीले आफ्नो पिसाबको थैलीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि सिकाउँछौं। यसका लागि छुट्टै तालिमको आवश्यकता पर्छ।
महिलाहरु यो समस्याबारे जानकार हुन अत्यन्तै आवश्यक छ। यो समस्यालाई सामान्य रुपमा लिनु हुँदैन। समयमै उपचार पाए यो समस्या ठिक हुन्छ। यो समस्या भएका ५० देखि ६० प्रतिशत महिलालाई जीवनशैली परिवर्तन र व्यायाम गरे मात्र पनि ठिक हुन्छ। यसले पनि समस्या ठिक नभए औषधिको प्रयोग गर्नुपर्छ। खोक्दा पनि पिसाब चुहिने समस्या भएका महिलाका लागि केही गर्दा पनि ठिक नभए शल्यक्रिया गर्नुपर्छ।
पिसाब तथा योनीको संक्रमण भएपछि मात्र महिलाहरु अस्पताल आउँछन्। मेरो सुझाव के छ भने, पिसाब चुहिने समस्यालाई सामान्य नठानौं। खुलेर कुरा गरौं र समस्याबाट बचौं ।
(डा पौडेल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)