काठमाडौं- ग्याष्ट्राइटिस अर्थात् ग्याष्ट्रिक, अधिकाशं नेपालीहरुलाई सताउने रोग हो। पेटको संक्रमण या फुलेको अवस्थालाई ग्याष्ट्राइटिस भनिन्छ।
यो धेरै कुराले गर्दा हुन सक्छ। ग्याष्ट्राइटिसका पनि धेरै प्रकारहरु छन्। जसमध्ये एच पाइलोरी ग्याष्ट्राइटिसको बारेमा चर्चा गर्दैछौ। यो ग्याष्ट्राइटिस एच पाइलोरी ब्याक्टेरियाले गराउँछ।
यो ब्याक्टेरियाको बारेमा सबैले थाहा पाउन आवश्यक छ। किनभने यो ब्याक्टेरियाले क्रोनिक, एक्टिभ ग्याष्ट्राइटिसदेखि पछि क्यान्सरसम्म गराउन सक्ने जोखिम धेरै हुन्छ। त्यसैले यसको पहिचान गरेर उपचार गरी शरीरबाट यो ब्याक्टेरियालाई निकाल्न जरुरी हुन्छ। समयमै पहिचान गरी शरीरबाट निकाल्न नसके यो ब्याक्टेरियाले दीर्घकालमा क्यान्सर गराउने जोखिम सधै रहीरहन्छ।
यो ब्याक्टेरियाको पहिचान ल्याबमा कसरी गरिन्छ त ? यसका विभिन्न तरिकाहरु छन्। जस अन्तर्गत विभिन्न ६ वटा टेष्टहरु छन्।
पहिलो, एच पाइलोरी ब्रेथ टेष्ट। यदी बिरामीलाई इण्डोस्कोपी गर्न गाह्रो भयो या फलो अप टेस्ट गर्नुप¥यो भने यो जाँचको लागि पठाइन्छ। यसमा सात दिनसम्म प्रोटोन पम्प इन्हीविटर ( पिपिआई ) खानु हुँदैन। ४ देखि ६ घण्टासम्म खाली पेट बस्नुपर्छ।
बिहान ल्याबमा गएपछि चिकित्सकले खानका लागि क्याप्सुल दिने गर्छन्। उक्त क्याप्सुल खाएपछि १५ मिनेटसम्म बस्नुपर्छ। १५ मिनेटपछि एच पाइलोरी ब्रेथ टेष्टमा फुक्नुपर्छ। त्यसपछि पेटमा संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ।
दोस्रो, एच पाइलोरी एन्टीजेन टेष्ट। यो परीक्षण दिसामा गरिन्छ। स्टुलको स्याम्पल निकालेर एउटा बफरमा राखिन्छ। यसलाई १५ मिनेटपछि परीक्षण गरिन्छ र संक्रमण भए नभएको थाहा पाउन सकिन्छ।
तेस्रो, एन्टीबडी टेष्ट। यो रगतबाट परीक्षण गरिन्छ। यसले अहिले संक्रमण भएको हो की पहिलोदेखि भएको हो भनेर छुट्याउन सक्दैन। संक्रमण भएको भन्ने मात्र यो परीक्षणबाट थाहा पाउन सकिन्छ।
चौथौँ, बायोस्पी। यो सत प्रतिशत संवेदनशील छ। चिकित्सकले इण्डोस्कोपी गरेर मासुको डल्लो निकाल्दछ। त्यसलाई नै विश्लेषण गरिन्छ। बायोस्पी यो संक्रमण पत्ता लगाउन मात्र नभई अन्य धेरै रोगहरु पत्ता लगाउन गर्न सकिन्छ।
पाचौँ, कल्चर यो पनि सत प्रतिशत संवेदनशील छ। तर यो संसारभर गरिदैन। अनुसन्धानका लागि बाहेक यो परीक्षण गरिदैन।
(डा गौतम सम्यक डाइग्नोष्टिकका अध्यक्ष हुन्।)