हरेक वर्ष
एउटा डाक्टरका लागि
फेब्रुअरी फोट्टिन
त्यसरी नै आउँछ
जसरी कागलाई बेल पाक्दा
न हर्ष न विष्मात छाउँछ!
रत्नपार्कका कुनाहरुमा
गोदावरीका चौरहरुमा
नगरकोटका डाँडाहरुमा
गिफ्ट बेच्ने पसलहरुमा
गुलाफ फुल्ने फुलबारीहरुमा
प्रेमपत्र लेख्ने डायरीहरुमा
सपनाका मझेरीहरुमा
प्रतीक्षाका घडीहरुमा
बुबाका रित्ता खल्तीहरुमा
आमाका 'केटीको पछि नलाग है'
भन्ने वाणीहरुमा
सम्झनाका गोरेटोहरुमा
निभेका ल्यामपोस्टहरुमा
चोकका घुम्तीहरुमा
पल्ला घरका झ्यालहरुमा
उकालोमा मागेका सहाराहरुमा
कक्षा कोठाका इशाराहरुमा
फेसबुकका लाइकहरुमा
इन्स्टाग्रामका फोटाहरुमा
म्यासेन्जरका रिप्लाइहरुमा
नारायण गोपालका गीतहरुमा
सरकारका 'टाइटेनिक' सपनाहरुमा
साँघुरा गल्लीहरुमा
फिल्मका आकर्षक सिनहरुमा
पशुपतिका साँझहरुमा
एकोहोरो गन्तव्यहरुमा
घाम हिँड्ने पाइलाहरुमा
जुठा चुरोटहरुमा
प्राणघातक चुम्बनहरुमा
एक्ला रातहरुमा
बिराना खाटहरुमा
अदृश्य ढोकाहरुमा
निसंकोच चुक्कुलहरुमा
निभेका परछायाँहरुमा
गहिरा सोचहरुमा
अग्ला सम्भावनाहरुमा
टाँसिन सक्ने गर्विला छातीहरुमा
अनि
चिना हेर्ने दूरबीनहरुमा
साइत नजुर्ने फागुनहरुमा
डरलाग्दा भविष्यहरुमा
रोमाञ्चित वर्तमानहरुमा,
उर्फ!
बिहान झस्यांग
उठाउने अर्लाम जस्तै
अपवाद बनेर आइदिन्छन्
डाक्टरका निम्ति भ्यालेन्टाइन डे हरु!!
उ त एउटा डाक्टर न हो
कति गुलाफहरु
कति चकलेटहरु
कति प्रस्तावहरु
कति टेड्डी बियहरु
कति कसमहरु
कति अँगालोहरु
कति चुम्बनहरु
ऊबिना एक्ला एक्ला छन् होला
तर पनि
हो ऊ भ्याउँदैन
हाकिमको आँखा छलेर
बिरामीको मुस्कान छोडेर
अस्पतालको बन्धन तोडेर
मन पराउने प्रेमिकाको
अँगालोमा रमाउन
दूरदूर सपनाको महलहरुमा।
त्यसैले त
थोत्रो चस्मा लाउँदै
फोस्रो हाँसो हाँस्दै
बिरामीलाई उपदेश बेच्दै
ठ्याक्कै
किनारमा यात्रीको
खोजीमा भौंतारिने
बुढो माझी जस्तै
भौंतारिन्छ
एउटा डाक्टर
वार्डहरुमा
भ्यालेन्टाइन डेका
स्वर्णीम साइतहरुमा।