काठमाडौं- भारतले १० लाख डोज कोरोना खोप निःशुल्क उपलब्ध गराएपछि सरकारले नेपालमा पहिलो चरणको खोप अभियान सञ्चालन गर्यो। माघको १४ गतेदेखि सुरु भएको खोप अभियानमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य थियो। तर लक्ष्यभन्दा आधा पनि खोप लगाउन आएनन्।
पहिलो चरणमा सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शवबाहन चालक, कारागारका कर्मचारी, कैदी लगायत खोप उपलब्ध गराउने निर्णय गरी खोप अभियान सञ्चालन गर्यो।
तर, सरकारको लक्ष्य अनुसार लक्षित समूहले खोप लगाउन नआएपछि पहिलो चरणको खोप अभियानलाई बढाउँदै खोप लगाउनेको समूहको दायरा पनि फराकिलो बनाउँदै लगेको छ। पहिलो चरणमा खोप लगाउनेको तथ्यांक नै मगाएर सूची तयार गर्दा पनि कोरोना खोप लगाउन नआएपछि सरकारले पत्रकार, कूटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगायो। तर त्यसो गर्दा पनि खोप लगाउनेको संख्या मुस्किलले २ लाख मात्र पुग्यो।
फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शव बहानका चालकलाई मात्र पुग्ने भनिएको खोप त्यसपछि सरकारले सरकारी कार्यालयका कर्मचारी, निर्वाचित जनप्रतिनिधि र जिल्लाका पत्रकारलगायतलाई दिन सुरु गरेको छ।
विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसबाट जोगिने खोप लगाउन किन नेपालीहरुले चासो दिइरहेका छैनन् ? किन खोप लगाउनेको संख्या कम भएको हो ? स्वास्थ्य खबपत्रिकाको जिज्ञासामा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी भन्छन् ‘पहिलो चरणमा जिल्ला अस्पताल र राजधानीको पनि निश्चित स्थानमा मात्र खोप केन्द्र भएका कारण लक्षित समूहका धेरै जना खोपको पहुँचमा आउन नसकेका हुन्।’
उनका अनुसार पहिलो चरणमा लगाउन भनेर सूचीमा रहेका महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मी जिल्लामा खोप लगाउन आउन नसकेका कारण पनि संख्यामा कमि भएको हो।
भन्छन्, ‘हामीले पहिलो चरणमा जिल्लास्थित् अस्पतालमा मात्र खोप केन्द्र राख्यौं। पहिलो चरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहसम्म खटिएका स्वास्थ्यकर्मीलगायतका लक्षित समूह जिल्लामा खोप लगाउन आउन सक्नुभएन।’
त्यसबाहेक खोप लगाउन नमिल्ने समूह, सक्रिय कोरोना संक्रमित, गर्भवति, एक्सक्लुसिभ ब्रेस्टफिडिङ गराइरहेका महिलाहरुले पनि खोप लगाउन नपाएको उनको भनाइ छ।
‘नयाँ खोप भएकाले के हुन्छ। कस्तो हुन्छ भन्ने स्वाभाविक आंशका पनि देखिए। अहिले धेरैले खोप लगाइसकेपछि पहिले डराएका व्यक्तिहरुले पनि खोप लगाइरहनुभएको छ,’ अधिकारीले भने।
परिवार कल्याण महाखाशाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्ड खोप नेपालसहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेकाले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरे।
खोपको प्रभावकारिता र महत्वबारे सबैलाई सही रुपमा बुझाउन नसकिएको उनले बताए।
उनले भने, ‘यो कोभिसिल्ड खोप सुरक्षित छ। तर, सबैलाई हामीले यो कुरा बुझाउन सकेका छैनौं। यही नै हाम्रो लागि सबैभन्दा ठूलो चुनौती छ। तर, धेरै डाक्टर, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुले खोप लगाएको देखेपछि पछिल्ला दिनमा खोपको माग बढेको छ।’
भारतले नेपाललाई सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना विरुद्धको खोप कोभिसिल्ड उपलब्ध गराएको हो।
कोभिसिल्ड खोपको प्रभावकारिता ७८ प्रतिशतसम्म रहेको डा गौतमले जानकारी दिए। खोप लगाएपछि जनस्वास्थ्यका मापदण्डहरु पालना पनि अत्यावश्यक रहेको उनको भनाइ छ।
दोस्रो प्राथमिकतामा जेष्ठ नागरिक
सरकारले पहिलो चरणमै कडा रोग भएका र ज्येष्ठ नागरिकलाई पनि खोप उपलब्ध गराउने भन्दै प्राथमिकता सूची सार्वजनिक गरेको थियो। सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा पनि जोखिममा रहेका ज्येष्ठ नागरिकलाई खोप नदिएपछि आलोचना सुरु भएको छ। सो विषयमा स्वास्थ्य मन्त्रालयले हाल उपलब्ध भएको खोपले ज्येष्ठ नागरिकलाई नपुग्ने भएकाले पहिलो चरणमा नदिएको बताइएको छ।
मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘मन्त्रालयको अनुमान ज्येष्ठ नागरिकको संख्या ५ लाख हाराहारी होला भन्ने थियो तर, गृह मन्त्रालयबाट वृद्ध भत्ता खाने व्यक्तिहरुको सूची मगाउँदा त उनीहरुको संख्या सात लाख बढी रहेछ। त्यसैले पहिलो चरणमा लगाउन नसकिएको हो।’
त्यसबाहेक, ज्येष्ठ नागरिक जोखिम समूह रहेकाले पहिल्यै खोप दिँदा त्यसको प्रतिकुल असर देखिए खोप अभियान नै प्रभावित हुने डरमा मन्त्रालय रहेको थियो।
‘विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कोभिसिल्ड क्लिनिकल ट्रयालका लागि नेपाल ल्याइएको हल्ला निकै भयो। पहिला बुढाबुढीलाई सोही कारण लगाउन लागिएको भन्ने गलत हल्ला भएपछि खोप लगाउने प्राथमिकता सूची हेरफेर गरेको हो,’ मन्त्रालय स्रोतले भन्यो।
पहिलो प्रथमिकतामा रहेका जेष्ठ नागरिकले पहिलो चरणमा खोप नपाए पनि दोस्रो चरणमा भने खोप पाउने भएका छन्। सरकारले भारतबाट खरिद गर्न लागेको २० लाख डोज खोप आएलगत्तै जेष्ठ नागरिकले पाउने भएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार फागुनको २३ गतेबाट ६० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउन सुरु गर्ने मन्त्रालयको तयारी छ। मन्त्रालयका अनुसार दोस्रो चरणमा ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरुलाई खोप लगाइने छ। सरकारले दोस्रो चरणमा करिब २७ लाख जेष्ठ नागरिकलाई खोप लगाउने योजना बनाएको छ।
‘हामीलाई ७ लाख भन्दा बढी ७५ वर्षमाथिका नागरिक छन् भनिएको थियो। अहिले त्यो संख्या १४ लाख आसपास छ भनिएको छ। ६० वर्षभन्दा माथि सबै जोड्दा २७ लाख व्यक्ति पुग्छन् भन्ने मन्त्रालयको अनुमान छ,’ मन्त्रालयका एक कर्मचारीले भने।
८ देखि १२ हप्तापछि दोस्रो डोज लगाउनु पर्ने
नेपालमा हाल लगाइएको कोभिसिल्ड खोप दुई डोज लगाउनुपर्छ। कोभिड—१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको छ।
सल्लाहकार समितिको माघ ३० गते बसेको बैठकले खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव निर्णयका लागि स्वास्थ्य मन्त्रालयमा पेस गरिएको छ।
तर, स्वास्थ्य मन्त्रालयले भने यस विषयमा निर्णय गरिसकेको छैन। यसअघि मन्त्रालयले पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउने निर्णय गरेको छ।
विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरेको हो। सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ।
कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले पनि खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने बताए।
उनले खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिएका प्रतिअसरहरु (ज्वरो आउने, टाउको तथा शरीर दुख्ने लगायत) दोस्रो मात्रा लगाउँदा कम देखिने विभिन्न अध्ययनले देखाएको बताए। उनले कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउने बताए। खोप लिइसकेका व्यक्ति आफू सुरक्षित भए पनि अरुलाई सार्ने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनले बताए।
उनले भने, ‘खोप लगाएपछि आफू सुरक्षित भइन्छ। तर उसले अरुलाई सार्ने सम्भावना पनि उत्तिकै हुन्छ। त्यसैले खोप लगाएपछि पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।’
२० लाख डोज खोप किन्दै सरकार
नेपालमा दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि सरकारले २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ। सरकारले भारतको सेरम इन्स्टिच्युटको कोभिशिल्ड खोप नै खरिद गर्न लागेको हो।
कम्पनीले २० लाख खोप दुई चरणमा पठाउन सक्ने सम्भावना रहेको बताएको तर, अन्तिम निर्णय नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्रोतले भन्यो, ‘हामी कम्पनीको नियमित सम्पर्कमा छाँै। दुई चरणमा खोप पठाउने सम्भावनाबारे उनीहरुले बताएका छन्।’
सरकारले प्रतिएक डोज ४ डलर रुपैयाँमा २० लाख डोज खोप खरिद गर्न लागेको छ। कम्पनीले खोप उपलब्ध गराउने तर, त्यसका लागि अग्रिम भुक्तानी गर्नुपर्ने शर्त राखेपछि मन्त्रिपरिषद्को बैठकले बाधाअड्चन फुकाई खोप खरिदका लागि अग्रिम भुक्तानी गर्ने निर्णय गरिसकेको छ। सोही अनुसार अर्थ मन्त्रालयले स्वास्थ्यलाई एक अर्ब रुपैयाँ निकासा समेत गरिसकेको छ।
सुरुमा सेरमले प्रतिएक डोज ४ डलर ४ सेन्टमा २० लाख डोजमा खोप उपलब्ध गराउने बताएको थियो। नेपालका तर्फबाट प्रतिडोज ४ डलरमा उपलब्ध गराउन पहल भएको थियो। कम्पनीले नेपालको प्रस्तावलाई स्विकार गर्दै ४ डलरमा खोप उपलब्ध गराउन सहमत भएको हो। तर, कम्पनीले खोपको रकम भने पहिले नै उपलब्ध गराउनु पर्ने शर्त राखेको थियो। कम्पनीको शर्त अनुसार रकम उपलब्ध गराउन सरकारले निर्णय गरेर बजेट समेत पठाउने भएको छ।
भारतको उक्त कम्पनीलाई सोही खोप उपलब्ध गराउन भन्दै बंगालदेशले ३४ लाख डोजका लागि प्रतिडोज साढे ५ डलरमा अग्रिम भुक्तानी गरिसेकेको छ। सेरमले ९३ वटा देशमा खोप पुर्याइसकेको छ।
कोभ्याक्सको खोप पनि आउँदै
नेपालमा विश्व स्वास्थ्य संगठन, युनिसेफ, गाभीको अलायन्स कोभ्याक्स फ्यासिलिटीले पनि कोभिसिल्ड खोप नै उपलब्ध गराउने तय भइसकेको छ। कोभ्याक्सले नेपालमा खोप लगाइने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी खोप निःशुल्क उपलब्ध गराउने छ। कोभ्याक्सले आगामी मार्चको अन्त्यसम्ममा पहिलो चरणमा खोप उपलब्ध गराउने पत्र नेपाललाई पठाइसकेको छ।
प्रारम्भिक छलफलमा कोभ्याक्सले पहिलो चरणमा ३ प्रतिशत खोप उपलब्ध गराउने भनेपनि मार्चमा कति प्रतिशत खोप उपलब्ध गराउँछ भन्ने स्पष्ट पारेको छैन।
अन्य खोप मंहगो
स्वास्थ्य मन्त्रालयले सस्तो, भण्डारण गर्न उपलब्ध संरचना, सजिलै ढुवानी र वितरण गर्न सकिने भएकाले जसरी पनि कोभिसिल्ड खरिदका लागि पहल गरेको हो। औषधि व्यवस्था विभागमामा हालसम्म कोभिसिल्ड मात्र आकस्मिक प्रयोगका लागि दर्ता भएको छ।
विभागमा चिनियाँ खोप सिनोफार्म, भारतमै उत्पादन भएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भी दर्ताका लागि प्रक्रियामा छ। स्वास्थ्य मन्त्रालय अनुसार यी खोप नेपालले खरिद गर्न सक्ने भन्दा मंहगो मूल्यका छन्।
मन्त्रालय स्रोत भन्छ, ‘चिनियाँ खोप सिनोफार्म प्रतिडोज ४८ डलर भन्ने कुरा आएको छ। ४ डलरको खोप खरिदमा त समस्या भइरहेको समयमा त्यो ४८ डलरमा कसरी किन्न सकिन्छ ?’ खोपको मूल्य महँगो भएका कारण नेपालमा दर्ता भए पनि खरिद गर्न समस्या पर्ने मन्त्रालयका कर्मचारी बताउँछन्।
के हो कोभिसिल्ड भ्याक्सिन?
कोभिसिल्ड भ्याक्सिन भारतको सेरम इन्स्टिच्युट प्रालिले उत्पादन गरेको खोप हो। यो खोप भारतमा आपतकालीन प्रयोगको लागि स्वीकृत भई खोप लगाउन थालिएको छ।
नेपालमा यो खोप आपतकालीन प्रयोगका लागि गत माघ २ गते स्वीकृत भएको हो। यो खोप १० डोज बराबर ५ मिलि प्रतिभायलमा उपलब्ध छ। यो खोप तयारी झोल अवस्थामा उपलब्ध छ। यो खोप सोलुसन रङविहीन वा थोरै खैरो, हल्का अपारदर्शी र कणमुक्त हुन्छ। यो खोपलाई जम्न दिनु हुँदैन। यदि जमेको छ भने प्रयोग गर्नु हुँदैन। यो खोप फ्रिज भएमा हल्लाएर परीक्षण गर्न मिल्दैन।
यो खोपलाई २ डिग्रीदेखि ८ डिग्री सेल्सियसमा तापक्रम व्यवस्थापन गरी भण्डारण र ढुवानी गर्नुपर्छ। यो खोपको भायलमा म्याद गुज्रने अवधि लेखिएको हुन्छ। यो खोप उत्पादन भएको ६ महिनासम्म प्रयोग गर्न उपयोगी हुन्छ। यो भायलमा भिभिएम अर्थात् भ्याक्सिन भायल मोनिटर हुँदैन।
कोभिसिल्ड भ्याक्सिनको प्रयोग
– यो खोप भण्डारण गर्दा कोल्डचेन प्वाइन्टमा आइएलआर भ्याक्सिन राख्ने आइस लाइन रेफ्रिजरेटरमा २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ।
– ढुवानी तथा खोप सेसन सञ्चालन गर्दा कन्डिसन गरेको आइस प्याकसहितको कोल्ड बक्स र भ्याक्सिन क्यारियर प्रयोग गर्ने।
– खोलिसकेको भायल ६ घण्टापछि वा सेसनको अन्त्यपछि प्रयोग गर्नु हुँदैन।
– भायल खोलेको समय र मिति भायलमा लेख्नुपर्छ।
– खोलिएको भ्याक्सिन भायल एक सेसनबाट अर्को सेसनमा प्रयोग नगर्ने।
– यो खोप बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा मासुभित्र दिइन्छ।
– यो खोप एक पटकमा शून्य दशमलव ५ मिलि दिइन्छ।
– यो खोप २ पटक ४ हप्ताको फरकमा लगाउनुपर्छ।
– यो खोप १८ वर्ष उमेर माथिका लागि मात्र स्वीकृत भएको छ।
– १८ वर्ष मुनिका बालबालिकामा यस भ्याक्सिनको सुरक्षा र प्रभावकारिता स्थापित भएको छैन।
– कोभिड–१९ भ्याक्सिनसँगै अन्य भ्याक्सिन दिनु परेमा १४ दिनको अन्तरमा मात्र दिनुपर्छ।
– पहिलो मात्रा कोभिसिल्ड भ्याक्सिन लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड भ्याक्सिन नै लगाउनुपर्छ।
कोभिसिल्ड भ्याक्सिन दिनै नहुने अवस्था
– यस खोपको पहिलो डोजपछि गम्भीर एलर्जी एनाफाइलेक्सिस भएमा,
– यस खोपको कुनै पनि तत्वको गम्भीर एलर्जी (एनाफाइलेक्सिस) भएमा,
– यसभन्दा अघि अरु कुनै कारणले अर्थात् भ्याक्सिन, इन्जेक्सन थेरापी, फुड आइटम वा औषधिको प्रयोगले गम्भीर एलर्जी वा एनाफाइलेक्सिस भएमा।
– गर्भवती तथा स्तनपान गराउने आमा र गर्भावस्थाको लागि योजना बनाइराखेका महिलालाई पनि यो भ्याक्सिन लगाउनु हुँदैन।
– कोभिड–१९ को सक्रिय संक्रमण भएको ४ देखि ८ हप्तासम्म खोप लगाउनु हुँदैन।
– प्लाज्मा थेरापी दिइएका कोभिड–१९ का बिरामीले ४ देखि ८ हप्तासम्म यो खोप लगाउनु हुँदैन।
– कुनै पनि कारणले गम्भीर बिरामी भएमा यो खोप लगाउनु हुँदैन।
यस्ता व्यक्तिलाई पनि दिन मिल्छ भ्याक्सिन
– पहिला कोभिड–१९ संक्रमण भएका व्यक्ति,
– दीर्घरोग जस्तैः मुटु, मष्तिस्क, फोक्सो, मिर्गौला रोग र क्यान्सर रोग भएका व्यक्ति,
– रोग प्रतिरक्षाकर्मी वा एचआइभी भएका व्यक्ति, रोग प्रतिरोधात्मक औषधि सेवन गरिरहेका बिरामीलाई पनि यो खोप दिन मिल्छ।
– तर, यस्ता बिरामीमा तुलनात्मक रुपमा कम इम्युनिटी अर्थात् प्रतिरक्षा शक्ति प्रदान गर्नसक्छ।
खोप लगाएपछि हुनसक्ने समस्या, लक्षण कस्ता छन्?
– सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने,
– थकाइ र आलस्य महसुस हुने,
– ज्वरो आउन सक्ने,
– टाउको दुख्ने, वाकवाकी हुने,
– मांशपेसी वा र्जोीको दुखाइ हुने,
– बान्ता आउने ,
– फ्लुको जस्तै लक्षण देखिनु। जस्तैः ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने आदि लक्षण खोप लगाएपछि देखिन सक्छ। यो समान्य लक्षण हो। यस्ता लक्षण देखिँदा आत्तिनु भने पर्दैन।