खराब र सही छुट्याउन नसक्ने उमेरका बालबालिकाले मुखमा अखाद्य वस्तु हाल्नु सामान्य हो। साना बालबालिकाले खेल्ने क्रममा अगाडि जे देख्छन्, त्यही मुखमा हाल्ने गर्छन्।
बालबालिका जिज्ञासु स्वाभावका हुन्छन्। त्यही कारण पनि हरेक वस्तु मुखमा हाल्ने बानी हुन्छ। दुई वर्षको उमेरसम्म बालबच्चाले हरेक वस्तु मुखमा हाल्ने, खाने बानी हुन्छ। ती वस्तुको बारेमा जान्नको लागि बालबालिकाले केही सेकेन्डको लागि मुखमा हाल्ने बानीलाई माउथिङ भनिन्छ।
अखाद्य वस्तु मुखमा हाल्नु बालबालिकाको विकास क्रममा हुने सामान्य व्यवहार पनि हो। तर यदि बालबालिकाले एक महिना वा सोभन्दा बढी समयसम्म निरन्तर रुपमा अखाद्य वस्तु जस्तैः माटो, बालुवा, ढुंगा, साबुन, कागज, अंगार, कपास, कपाल, रङ आदि खाएमा त्यसलाई पाइका भनिन्छ।
यी वस्तुहरु अखाद्य तथा पौष्टिक तत्वविहीन हुन्छन्। यस किसिमको अखाद्य वस्तु खाने व्यवहार भएका बालबालिकामा हुने विकास साथै सामाजिक व्यवहार र रीतिरिवाजसँग पनि मेल खाँदैन।
कस्ता बालबालिकामा देखिन्छ यो समस्या?
पाइका समस्या जुनसुकै उमेर समूहमा पनि देखिन सक्छ। तर बालबालिकामा बढी देखिन्छ। मुख्यतः दुई वर्षभन्दा माथि र पाँच वर्षभन्दा कम उमेरमा यो समस्या देखिन्छ। कमजोर आर्थिक अवस्था भएका, दुव्र्यवहारमा परेका, कुपोषण भएका र शरीरमा आइरन कम भएका बालबालिकामा यो समस्या देखिन्छ। वौद्धिक क्षमता कमजोर तथा अटिजम भएका बालबालिकामा पनि यस्तो समस्या धेरै देखिन्छ।
उपचार कसरी गर्न सकिन्छ?
– संयुक्त रुपमा सामाजिक, व्यावहारिक तथा औषधिको प्रयोगबाट
– आइरन कम भएर हुने रक्तअल्पताको उपचार
– पारासाइटको उपचार, जस्तैः जुकाको लागि औषधि
– पाइकाको सही कारण पहिचान गरी गरिने उपचार
– पाइकाबाट हुनसक्ने जटिलताको समयमै उपचार गर्ने
अभिभावकले के गर्ने?
धेरैजसो अभिभावकले यो समस्यालाई सामान्य ठान्ने गर्छन्। किनभने, बालबालिकाको विकास क्रममा यस किसिमको व्यवहार देखाउनु सामान्य हो भन्ने उनीहरुलाई लाग्छ। तर अभिभावकले यी कुरामा ध्यान दिन आवश्यक छ। समयमै पहिचान गर्न सके अभिभावकले यस समस्याको रोकथामका लागि तल दिइएका कुराहरु अबलम्वन गर्न सक्छन्ः
– बालबालिकालाई स्वस्थ र पौष्टिक तत्व भएका खानेकुरा दिने
– आफ्ना बालबच्चालाई खान हुने तथा नहुने वस्तुको बारेमा जानकारी दिने
– बालबालिकालाई माया, स्नेह, स्याहारसुसार तथा उचित हेरचाह गर्ने
– बालबालिकाले अखाद्य वस्तु खाइरहे तत्काल चिकित्सकसँग परामर्श गर्ने।
(डा बस्नेत बाल रोग विशेषज्ञ हुन्।)