काठमाडौं- मिर्गौला रोगका बिरामीलाई सरकारले दिने सहुलियत पर्याप्त नभएको मिर्गौला रोग विशेषज्ञ डा मिधन श्रेष्ठले बताएका छन्।
स्वास्थ्यखबरको कार्यक्रम स्वास्थ्य संवादमा कुराकानी गर्दै त्रिवि शिक्षण अस्पतालका डा श्रेष्ठले सरकारले मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा र प्रत्यारोपण सेवामा दिने सहुलियत पर्याप्त नभएको बताएका हुन्।
‘सरकारले डायलाइसिस सेवा दिएर राम्रो गरेको छ, नत्र बिरामीहरुले डायलाइसिस सेवा लिनै सक्दैनथें,’ डा श्रेष्ठले भने, ‘तर, मिर्गौलाका बिरामीको जीवनभरका लागि लाग्ने औषधि खर्चमा सहुलियत छैन। सरकारले दिने सहुलियत बिरामीका लागि पर्याप्त नै त छैन।’
उनले सरकारले उपचारमा सहुलियत दिएजस्तै मिर्गौला रोगको सचेतनामा पनि ध्यान दिनुपर्ने बताए। डा श्रेष्ठले कोरोना संक्रमण न्यूनीकरण गर्न गरिएको लकडाउन र निषेधाज्ञाका समयमा मिर्गौलाका बिरामी नियमित स्वास्थ्य सेवा लिन नआउँदा अहिले समस्या बढेको बिरामी पनि भेटिएको बताए।
‘कोरोनाको कारणले 'फलोअप'मा १/२ महिनामा आउनुपर्ने बिरामी ६ महिनापछि मात्र आए,’ डा श्रेष्ठले भने, ‘यस्ता केही बिरामीमा समस्या देखिएको छ। जस्तै केही समयपछि औषधि कम गर्नुपर्नेमा ६ महिनासम्म खाइरहदा त्यसले असर गर्ने, औषधि पाइएन भनेर औषधि छोडेका बिरामी आउन थालेका छन्।’
डा श्रेष्ठले मिर्गौलामा खराबी आउन सक्ने रोग मधुमेह, उच्च रक्तचापका बिरामीले रोग नियन्त्रण गर्नुपर्ने र नियमित स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाहमा नियमित औषधि उपचार गर्नुपर्ने बताए।
कतिपय दुखाइ कम गर्ने कम गर्ने औषधि (पेन किलर) तथा जथाभावी रुपमा जडीबुटी खाँदा पनि मिर्गौलामा रोग तथा संक्रमण हुनसक्ने भएकाले चिकित्सकको परामर्श र सिफारिसमा मात्र औषधि सेवन गर्नुपर्ने उनको भनाइ छ।
डा श्रेष्ठले नियमित स्वास्थ्य जाँच गरेर मिर्गौलामा समस्या छ/छैन पत्ता लगाई समयमा औषधि उपचार गर्दा मिर्गौला पूर्ण रुपमा बिग्रनबाट जोगाउन सकिने बताए।
प्रस्तुत छ डा श्रेष्ठसँग गरिएको भिडियो कुराकानीः