काठमाडौं- भारतबाट कोरोना भाइरसविरुद्दको खोप खरिदको प्रक्रिया अगाडि बढीरहेको समयमा एजेन्टहरुले नयाँ खेल सुरु गरेका छन्। सरकारले भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग सिधै खोप खरिद गरेर ल्याउने भएपछि एजेन्टहरु सरकारको खोप खरिद प्रक्रिया नै असफल बनाउने खेलमा लागेका हुन्।
सरकारले कम्पनीसँग सिधै खोप खरिद गरेर ल्याउँदा सस्तो पर्नुका साथै आफ्नो कमिसन समेत गुम्ने देखेपछि एजेन्टहरुले यो प्रक्रिया नै असफल बनाउने खेल सुरु गरेको स्वास्थ्य मन्त्रालयका एक उच्च तहका कर्मचारी बताउँछन्।
सरकार खोप खरिद गर्न असफल भएपछि निजी क्षेत्रले प्रवेश पाउने र कमिसन तथा शुल्क पनि बढाउन पाउने भएपछि एजेन्टले सरकारको खरिद प्रक्रियालाई असफल गराउने चलखेल सुरु गरेका हुन्।
‘खोप खरिदमा सरकारलाई असफल बनाउन एजेन्टहरु सक्रिय भइसकेका छन्,’ मन्त्रालय स्रोत भन्छ, ‘उनीहरु सरकारलाई असफल बनाएर निजी क्षेत्रलाई खोपमा प्रवेश गराउने खेलमा लागिसकेका छन्। यो कुरा रोक्न सरकार सक्रिय हुनुपर्नेमा उल्टो एजेन्टलाई नै फाइदा हुने गरी निजीलाई नै खुला गर्ने तर्फ गइरहेको देखिन्छ।’
एजेन्टले खरिद प्रक्रियामा नै अवरोध सिर्जना गरिरहेको यो समयमा स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको खोप खरीदका लागि निजी क्षेत्रलाई अनुमति दिन तयारी अगाडि बढाइसकेको छ। मन्त्रालयले आफूले खोप खरीद गर्न नसक्ने भन्दै निजी क्षेत्रलाई खोप खरीद गर्न दिने तयारी गरेको हो।
खोप अभियान चलिरहेको समयमा खोप नै अभाव हुन थालेपछि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सचिव लक्ष्मण अर्याल निजीलाई खुला गर्नुपर्ने निष्कर्षमा पुगेका हुन्। तर, स्वास्थ्यमन्त्री र सचिवको यस्तो निर्णयप्रति स्वास्थ्य मन्त्रालयका अन्य कर्मचारी भने सहमत छैनन्।
स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो,‘खोपमा राजनीतिकरण गरिएको छ। अहिले निजी क्षेत्रमा भ्याक्सिनमा समावेश गर्नुले भविष्यमा अन्य खोप कार्यक्रमलाई पनि असर गर्छ। त्यसैले कुनैपनि हालतमा निजी क्षेत्रलाई खोपमा समावेश गर्नु हुँदैन। तर यहाँ भिआइपी एजेन्टका कारण निजीले प्रवेश पाउने खतरा बढ्दै गएको छ।’
स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेर सेरम इन्स्च्यिुट भारतले उत्पादन गरेको २० लाख डोज खोप खरिदका लागि गत फागुन ५ गते सम्झौता गरेको थियो। प्रति डोज ४ डलरका दरले झण्डै एक अर्ब रुपैँया अग्रिम भूक्तानी समेत गरिसकेको छ।
तर, एक साताको अन्तरमा १० लाख डोजका दरले खोप पठाउने भनेपनि सेरमले दोस्रो लटको १० लाख डोज खोप अझै पठाएको छैन। दोस्रो चरणको डोज नपठाउँदा नेपालमा खोप अभियान नै रोकिने अवस्था पुगेको छ।
सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएसँगै एजेन्टले त्यसलाई रोक्ने प्रयास गरेका हुन्। एजेन्टले उक्त ५० लाख डोज खोप खरिदका क्रममा आफ्ना लागि १० प्रतिशत कमिसन आउनुपर्ने माग समेत गरेका छन्। यो विषयमा उत्पादक कम्पनीले समेत कमिसनसहितको मुल्य नेपाललाई पठाएको छ।
‘५० लाख खोप खरीदका लागि निर्णय भएर स्वास्थ्य सेवा विभागबाट फाइल समेत उठिसकेको थियो। तर, २० लाख डोज खरिदमा कम्पनीले देखाएको जस्तो चासो र अग्रसर पछिल्लोमा भएन। निजीलाई ल्याउन दिने मनासयले नै यसो गरेको देखिन्छ,’ मन्त्रालय स्रोतले भन्यो।
सेरमले पछिल्लो पटक खोपको मूल्य बढाउने र १० प्रतिशत थप रकम एजेन्टका लागि दिनुपर्ने बताएको छ। प्रति एक डोजको साढे पाँच डलर र १० प्रतिशत गर्दा एक डोज झण्डै ६ दशमलब ०५ डलर मुल्य पर्ने बताइएको छ।