सरकारले फागुन २३ गतेदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि दोस्रो चरणको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। ज्येष्ठ नागरिकहरू कोरोनाविरुद्धको खोप अभियानमा उत्साहका साथ सहभागी भइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १६ लाखभन्दा बढीले खोप लगाइसकेका छन्।
नेपालमा हालसम्म कोरोनाविरुद्धको कति खोप आयो? कति व्यक्तिले खोप लगाए? नेपालमा कोरोना विरुद्धको खोप साँच्चै अभाव भइसकेको अवस्था हो? खोप अभावका कारण खोप अभियान नै रोकिन लागेको हो? लगायतका विषयमा हामीले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीसँग कुराकानी गरेका छौं। प्रस्तुत छ डा टिंकरीसँग गरिएको भिडियो वार्ताः
नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप कति डोज आयो? अहिलेसम्म कति व्यक्तिले कोभिड खोप लगाइसके?
नेपालमा सुरुमा भारत सरकारको सहयोगमा १० लाख डोज खोप आएको थियो। त्यसपछि सरकारले २० लाख डोज खोप खरिदको लागि मन्त्रिपरिषद्बासट निर्णय गरी सम्झौता भयो। २० लाखमध्ये १० लाख डोज खोप आइसकेको छ। यस्तै कोभ्याक्स फ्यासिलिटीबाट ३ लाख ४८ हजार डोज आयो। यो सबै गरेर अहिलेसम्म नेपालमा २३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप नेपालमा आयो।
हामीले जिल्ला-जिल्लाका खोप केन्द्रमा भ्याक्सिन पुर्यालइसकेका छौँ। नयाँ खोप भएकाले पहिलो चरणमा व्यवस्थित तरिकाले लगाउनुपर्छ र खोप लगाएपछि कसैलाई समस्या भए तत्काल व्यवस्थापन गर्नुपर्छ भनेर अस्पतालहरूमा मात्र खोप केन्द्र निर्धारण गरेका थियौँ। पहिलो चरणमा करिब ४ लाख ८० हजार स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएका व्यक्ति, पत्रकारलगायतका व्यक्तिहरूले खोप लगाइसकेका छन्।
दोस्रो चरणमा ज्येष्ठ नागरिकहरूलाई खोप लगाउने योजना बनाएर लागू पनि भइसकेको छ। फागुन २३ गतेदेखि ६५ वर्ष माथिकालाई खोप लगाउन थालेका छौं। स्वास्थ्य मन्त्रालयमा प्रत्येक दिन प्रत्येक प्रदेशमा कतिले खोप लगाए भनेर तथ्यांक संकलन गरिन्छ। हालसम्म १६ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्।
दोस्रो चरणको खोप अभियानमा खोप लगाउनेको संख्या बढिरहेको छ। अहिले खोप अभाव हुन थालेको कुरा आइरहेको छ। वास्तविकता के हो?
हामीसँग भएको २३ लाख ४८ हजार डोज खोप सकिएपछि बीचमा केही दिन अभियान रोक्नुपर्ने अवस्था आउन सक्छ। अहिले खोप लगाइसकेकाहरूलाई दोस्रो डोज लगाउन कोभ्याक्स फ्यासिलिटीमार्फत् पनि आउन सक्ने सम्भावना छ।
सेरम इन्स्टिच्युटले हामीले खरिद गरेको १० लाख डोज खोप दिन्छौं भनेको त छ। तर हामीले भन्ने बित्तिकै १५ दिनभित्रै दिनका लागि सहज नभएको बताएको छ। हामीलाई दिन पुग्ने खोप नै उत्पादन नभएको भनिएको छ। हामीभन्दा पहिला खरिद गरेका देशले पनि खोप पाउन नसकेको उनीहरुले बताइरहेका छन्।
नेपाल सरकारले खरिद गर्ने १० लाख डोज तत्काल दिन नसक्ने अवस्था भएपनि कोभ्याक्स फ्यासिलिटीमार्फत नेपाल आउने खोप पनि सेरम इन्स्टिच्युटमार्फत् खरिद भएर नै आउने हो। त्यसमा कोभ्यास फ्यासिलिटीमार्फत् पठाउने खोपमा नेपाललाई प्राथमिकता दिन आग्रह गर्छौं भनेका पनि छन्।
अहिले कोभिसिल्ड खोप सस्तो छ। अहिले नेपालमा आइसकेको खोप सबै खोप केन्द्रहरुमा छरिएको छ। कहीँ ५ भाइल, कहीँ १० भाइल मात्र पनि बाँकी होला। त्यसैले तत्काल खोप आयात नभए केही दिन खोप अभियान रोक्नुपर्छ।
हामीसँग अब कति खोप बाँकी छ? अहिले हामीसँग भएको मौज्दातले कहिलेसम्म खोप अभियान संचालन गर्न सकिन्छ?
हामीसँग भएको २३ लाख ४८ हजार डोजमध्ये १६ लाखभन्दा बढीले खोप लगाइसके। खोप अभावको अवस्थालाई मध्यनजर गर्दै खेर जाने दर पनि न्यूनीकरण गरेका छौं। यसरी हामीले १० जनाको नाम लेखाएपछि मात्र खोप कार्यक्रम सुरु गर्ने गरिरहेका छौं।
चीन सरकारले ८ लाख डोज खोप दिने भनेको छ। त्यो खोप नेपाल ल्याउन पहल भइरहेको छ। विमान चार्टर्ड गरेर खोप लिन आउनू भनेर चीनले भनेको पनि छ। चीन सरकारले अन्य सामाग्री पनि पठाउने भनेकाले उनीहरूले पठाउने सामग्रीसँगै खोप ल्याउने कि भन्ने विषयमा पनि कुराकानी भइरहेको छ। चीनले पठाउने अन्य सामग्रीसँगै खोप पनि आएमा नेपालले विमान चार्टडमा खर्च व्यहोर्नुपर्ने थिएन भन्ने पनि सोचिरहेका छौं।
यस्तै कोभ्याक्स फ्यासिलिटीसँग पनि हामीलाई दिने भनेको खोप कहिलेसम्म नेपालमा आउँछ भनी त्यसको सेड्युल माग गरेका छौँ। सोहीअनुसार हामी खोप अभियानको योजना बनाउछौं पनि भनेका छौं। पहिलो चरणको अभियानमा भन्दा दोस्रो चरणको अभियानमा खोप लगाउनेहरूको उत्साहजनक सहभागिता देखियो। यसले गर्दा खोप खपत अपेक्षाभन्दा बढी खपत भयो।
अहिलेसम्म खोप कति खपत भयो? अबको विकल्प के हो भनेर 'इन्सिडेन्ट कमान्ड सिस्टम'को बैठक पनि भइरहेको छ। हामीले परराष्ट्र मन्त्रालयमार्फत् भारत सरकारलाई भनेर सेरम इन्स्टिच्युटलाई समन्वय गरिदिन आग्रह गर्ने निर्णयसहित पत्रको फाइल अघि बढिसकेको छ। सायद, त्यो पत्र परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित भारतीय दूतावासले भारत सरकारमा पठाएर सेरम इन्स्टिच्युटलाई भनिसकेको हुनुपर्छ।
अर्को कुरा भारत सरकारले निजी क्षेत्रलाई पनि खोप निर्यात गर्न स्वीकृति दिइसकेको छ। अहिले भारतको 'फरेन मेडिसिन'ले स्वीकृति दिएपछि मात्र खोप निर्यात गर्ने भन्ने नीति बनाएको छ भन्ने जानकारी आएको छ।
कोभ्याक्स फ्यासिलिटीमार्फत् १ करोड ३० लाख डोज खोप नेपाल आउने भनिएको थियो। तर करिब साढे ३ लाख डोज मात्र आइपुग्यो। अनुदानको बाँकी खोप कहिले आइपुग्छ?
हामीले कोभ्याक्सलाई खोप पठाउने मितिका बारेमा जानकारी दिन भनेर पत्र पठाइसकेका छौं। कोभ्याक्स फ्यासिलिटीले पनि ९२ देशलाई खोप दिइरहेको छ। गरिब देशले खोप नपाउला, धनी देशले मात्र खोप पाउलान् भनेर सबै देशहरूमा समानता कायम गराउने कोभ्याक्स फ्यासिलिटीको उद्देश्य हो। सोही अनुसार कोभ्याक्सले १ करोड ३० लाख डोज खोप दिन्छु भनेको थियो। त्यसको पहिलो लटमा ३ लाख ४८ हजार डोज मात्र आयो। कोभ्याक्सको खोप आउनुअघि नेपालमा भारत सरकारको अनुदानमा १० लाख र सरकारले खरिद गरेको १० लाख डोज खोप आइसकेको थियो। त्यसले गर्दा पनि कोभ्याक्सले कम पठायो।
हाम्रो स्वास्थ्यमन्त्रीज्यू, युनिसेफका पदाधिकारी, हाम्रो खोप शाखाका प्रमुखलगायतका सबै जना बसेर कोभ्याक्स फ्यासिलिटीलाई कति समयमा कति खोप दिनुहुन्छ भनेर सेड्युल पठाउनुस् भनेर पत्राचार गरेका छौं। हाम्रो पत्रको जवाफ केही दिनमा आउँछ होला। भ्याक्सिनको उत्पादनअनुसार माग बढी छ। त्यसैले भ्याक्सिनको अभाव हाम्रो देशमा मात्र होइन, सबै देशमा छ।
भारतको सेरम इन्स्टिच्यटबाट २० लाख डोज खोप खरिदका लागि नेपालले रकम दिइसकेको छ। १० लाख डोज खोप आएपनि १० लाख डोज अझै आएको छैन। किन ढिलाइ भइरहेको छ?
सेरम इन्स्टिच्युबाट नेपालले खरिद गरेकोमध्ये १० लाख डोज खोप आउन बाँकी नै छ। खोप उत्पादक कम्पनीले नेपाललाई ‘तपाईंहरूले त केही समय अघि मात्र ८० प्रतिशत रकम पठाएको हो। कतिपय देशले ६ महिना, ८ महिना अगाडिदेखि पैसा पठाएपनि उहाँहरुको माग पूरा गर्न सकिरहेको छैन,’ भनेर सेरमले नेपाललाई जवाफ पठाएको छ।
उत्पादन र मागको विषयमा उहाँहरुलाई पनि 'प्रेसर' छ। सुरुमा मन्त्रीज्यूहरुले पहल गरेर ल्याउन सकियो। २० लाख डोज खोप मध्ये १० लाख १५ दिनभित्र दिन्छु भनेका थिए, त्यतिबेला ६ दिनमै पठाइदिए। त्यो बेलामा अन्य देशलाई पठाउन लागिएको खोप नेपाल पठाइएको भनिएको छ। बाँकी १० लाख डोज पनि दिन्छु भनिरहेका छन्। तर, तत्कालै दिन सकिएन भने कोभ्याक्स फ्यासिलिटीमा नेपाललाई प्राथमिकता दिन्छौं भनेका छन्। त्यसले गर्दा खोप आएन भने केही दिन अभियान बन्द गर्नुपर्ने हुन्छ। स्वास्थ्य मन्त्रालयले अब कसरी जाने भनेर छलफल गरिरहेको छ।
सरकारले थप ५० लाख डोज खोप खरिद गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नै घोषणा गरिसक्नु भएको थियो। ५० लाख डोज खोप खरिदको प्रक्रिया के भइरहेको छ?
५० लाख डोज खोप खरिद गर्ने विषयमा जिटुजी गर्ने वा सोझै कम्पनीमा वार्ता गरेर किन्ने वा उत्पादक कम्पनीको अधिकृत बिक्रेतासँग सम्झौता गरेर किन्ने भनी मन्त्रिपरिषदबाट निर्णय भयो। हामीले थप ५० लाख डोज हामीलाई चाहिन्छ भनेर पनि पठायौँ। लेखेर पठाइसकेपछि उताबाट स्थानीय एजेन्ट नियुक्त गरिसकेको र उनीहरुबाट आउनु पर्ने आशयको प्रतिउत्तर आयो। त्यहाँको मूल्य माग्दा पनि कम्पनीले हामीलाई दिएन। मूल्यको जानकारी यहाँ रहेको उनीहरूको एजेन्टले दिएको थियो। त्यसमा हामीले कुरा गरेका थियौँ- उताको कम्पनीको मूल्य अनुसार नै खोप आउनुपर्छ भनेर। तर अब त ढिलो भयो, अब ५० लाख खोप पाउने सम्भावना छैन। हामीले भर्चुअल मिटिङ पनि गरेका थियौं। त्यो ५० लाखको त कुरा नै नगरौं। अब त पहिला १० लाख त दिन सक्ने वातावरण बनाउछौं भन्ने कुरा गरे। मागको कुरा त कति छ कति। तर हामी नेपाललाई प्राथमिकतामै राखेर सहकार्य गछौं भनेका छन्। थप खरिद गर्ने भनिएको ५० लाख डोजको कुरा केही समय स्थगित नै हुन्छ होला।
यो खोप खरिद प्रक्रियामा एजेन्टहरूले बीचमा खेलेको भन्ने कुरा पनि आइरहेको छ। के हो वास्तविकता?
एजेन्टले खेलेको भन्दा पनि कम्पनीले हामीलाई सुरुमा नै 'एजेन्ट छ' भनेर जानकारी दिएको थियो। भारतबाट अनुदानमा आएको १० लाख डोज खापभन्दा पहिला नै हामीले सेरमलाई चिठी लेखेका थियौँ। त्यो बेलामा नै उहाँहरूले ‘हामीले हाम्रो आधिकारिक बिक्रेता राखिसकेका छौँ’ भनेको थियो।
उनीहरुले अधिकृत बिक्रेता राखिसकेपछि केही न केही फाइदा लिन नै राखेको होला। उनीहरूले मार्केटिङका लागि पनि सजिलो हुन्छ भन्ने सोचिसकेका थिए होला। नेपाल सरकारले ७२ प्रतिशतलाई खोप लगाउँछु भनिसकेको थियो। त्यसको रकम सरकारले नै व्यहोर्ने भनेर अर्थ मन्त्रालयमा प्रधानमन्त्री कार्यालयबाट निर्देशन गइसकेको थियो।
विश्व बैंक, नेपाल राष्ट्र बैंकलगायतको पैसा पनि छ। नेपाल सरकारसँग भ्याक्सिन किन्न पैसा अभाव होइन, भ्याक्सिन पाउन चाँहि समस्या भएको हो। यसको चिन्ता प्रधानमन्त्री, मन्त्री सबैलाई छ। भ्याक्सिन नै पाइएन भने पैसाले मात्र के गर्नु? त्यो समस्या छ। तर नेपाल सरकारले 'फुल कमिटमेन्ट' गरेको छ कि- जनतालाई भ्याक्सिन दिनुपर्छ। निःशुल्क दिनुपर्छ। त्यसपछि केही बाँकी रहेकालाई निजी क्षेत्रलाई आयातमा खुला गरिदिने भनेर भनिएको छ। आफैँले किनेर पनि लगाउन सक्ने मान्छेलाई किन्ने वातावरण बनाउने भन्ने कुरा पनि भएको छ। नेपाल सरकारलाई खोप किन्ने पैसा अभाव छैन, खोप नै पाउन मुस्किल भएको हो।
सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि निजी क्षेत्रलाई पनि खुल्ला गर्ने निर्णय गरिसकेको हो? निजी क्षेत्रले पनि खोप भित्र्याए भने खोप कार्यक्रम कसरी सञ्चालन गर्ने योजना छ?
निजी क्षेत्रलाई अनुमति दिने औषधि व्यवस्था विभागले हो। यदि खोप भित्र्यायो भने कुन खोप भित्र्याउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ। त्यसमा कति मान्छेले 'अफोर्ड' गर्न सक्छन्। हामीले सुरुमा ल्याउँदा ४ डलरमा ल्यायौँ। अर्को ६ डलर पर्न पनि सक्छ। चीनको खोप ४८ डलर पर्न सक्छ। निजी क्षेत्रले भित्र्यायो भने उनीहरुले १० प्रतिशतभन्दा माथि नाफा लिन नपाउने मन्त्रिपरिषद्को निर्णय छ। ४८ डरलको खोप त सम्पन्न व्यक्तिले मात्र लगाउन सक्लान्।
निजी क्षेत्रले कुन खोप आयात गर्न भन्ने कुरामा निर्भर पर्छ। कोभिसिल्ड खोप त निजी क्षेत्रले पनि आयात गर्न सक्ने अवस्था छैन। किनकी विश्व बजारमै अभाव छ भने निजी क्षेत्रले कसरी ल्याउन सक्लान् र। हुन त उनीहरुको मार्केट पोलिसिको कुरा होला। नाफा भयो भने निजी क्षेत्रले खरिद गर्दा दिन पनि सक्लान्। केही समय अघि विश्व बैंकसँग मिटिङ पनि भएको थियो। कोरोनाले धराशायमा गएको समयमा नाफा नहुने गरी काम गर्नुपर्छ भन्ने आवाज पनि उठेको थियो। विश्व बैंकले पनि सार्क मुलुकमा एउटै मुल्य तोक्नुपर्छ भनेका छन्। मुख्य कुरा अहिले खोप पाउन नै च्यालेन्जिङ छ।
निजी क्षेत्रले खोप खरिद गरेर ल्याउँदा नेपालीहरूले खोप किनेर लगाउनुपर्ने हो?
निजी क्षेत्रले खोप भित्र्याए भने निजी क्षेत्रसँग सरकारले किन्ने प्रक्रिया अपनाएर जानुपर्ने हुन्छ। खरिद प्रक्रियामा नेपालमा ४ किसिमको खोप दर्ता भयो। कोभिसिल्डले ६ डलरमा दियो भने अर्को कम्पनीको ४८ डरलको खोप त हामी किन्न सक्दैनौं। त्यसले गर्दा सुरुमा खोप पाइयो भने ७२ प्रतिशतलाई सरकारले निःशुल्क दिने। त्यसपछि निजी क्षेत्रले भित्र्यायो भने ४८ डलर तिरेर नि मान्छेले लगाउन सक्लान् भन्ने हाम्रो आकलन हो।
निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिँदा सरकारका कार्यक्रम प्रभावित हुने र खोपमा चलखेल हुन सक्ने आकलन गरिएको छ नि?
अब हामीले खोप ल्याउन सकेनौं भने निजी क्षेत्रले ल्याउँछ नै। यदि निजी क्षेत्रले खोप ल्याउन सक्छ र त्यो खोप मानिसहरुले खरिद गरेर लगाउन सक्छन् भने त त्यहाँबाट पनि खोपको 'कभरेज' बढ्छ। अब निजीसँग किनेर लगाउन नसक्ने जनताले सरकारको भर पर्नुपर्छ। निजी क्षेत्रले कसरी कति ल्याउन सक्छन्? जनताहरू त्यसमा कति उत्साहित भएर सहभागी हुन्छन्। जनताले नेपाल सरकारले ल्याउने खोप निःशुल्क लगाउछौं भनेर प्रतीक्षा गर्छन् नि के हुन्छ अब हेर्नुपर्छ।
सरकारले खरिद गरेर खोप ल्याउने योजना असफल हुने देखिएपछि निजीलाई खुला गरिएको हो?
कतिपय अवस्थामा सरकारले खोप लाउन नेपाल सरकारको खरिद ऐनसँग मिल्दोजुल्दो थिएन। उहाँहरूले खोप दिन्छौं भनेर डकुमेन्ट पठाए ८० प्रतिशत अग्रिम भुक्तानी गर्छौँ भन्यौँ। सुरुमा त हामीले जति पैसा पर्छ सोहीअनुसार शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्छ भनेका थिए। तर हाम्रो खरिद ऐनले त्यस्तो गर्न दिँदैन।
हामीले सार्वजनिक खरिद ऐनका दफा टेकेर मन्त्रिपरिषद्को निर्णय गरेर ल्याएको थियो। खोप किन्दा ५ करोड धरौटी राख्नुपर्ने हुन्थ्यो। तर खोप उत्पादक कम्पनीले मानेनन्। त्यसैले अहिलेको अवस्थामा मन्त्रिपरिषद्ले निर्णय गरेको हो। अब सरकारले आफैँले किन्ने भनेको थप ५० लाख डोज खोपको विषयमा पनि सोहीअनुसार निर्णय गर्नुपर्छ। खरिद ऐनभित्र रहेर त हामीले खोप किन्न सक्छौं। तर अहिले ऐन भन्दापनि आकस्मिक रुपमा मन्त्रिपरिषद्बायट निर्णय भएर खरिद भएको हो। अहिले कोरोनाविरुद्धको खोपमा खरिद गर्ने विषयमा पनि समस्या छन्।
खोप अभावको विषयले पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोजको चिन्ता हुन थालेको छ। पहिलो डोज लगाएकाहरूलाई सरकारले दोस्रो डोजको खोप कहिले दिन्छ? दोस्रो डोजको खोप दिन समस्या त छैन नि?
हामीसँग आएको खोप २३ लाख डोज हो। १६ लाखभन्दा बढी खोप खपत भइसकेको छ। कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइसकेकाहरूलाई दोस्रो डोज दिन खोप अहिले छैन।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिसिल्ड खोपको विषयमा सुरुमा पहिलो डोज लगाएको ४ हप्तामा दोस्रो डोज लगाउने भनेको थियो। तर पछि ८ देखि १२ हप्तामा लगाउन भनिएको छ। त्यो अवधि लम्बिँदा पनि हामी आशावादी भएका छौं।
कोभ्याक्सको खोप आयो भने पहिलो चरणमा लगाएका स्वास्थ्यकर्मीलाई दोस्रो डोज दिन सक्छौँ। डेढ महिनाभित्रमा खोप आयो भने दोस्रो चरणमा खोप लगाउन सुरु गरिएकाहरूलाई पहिलो डोज लगाएको १२ हप्ताभित्र दोस्रो डोज दिन सकिन्छ।
मैले नै भन्नुभन्दा पनि स्वास्थ्य मन्त्रालयमा नीतिगत निर्णय गरेर कसरी जाने भनेर छलफल हुन्छ। अहिले यो विषयमा चिन्ता सबैमा छ। हामीले अहिलेसम्म आएको खोपलाई सबै प्रदेशमा समानुपातिक ढंगले वितरण गरेका छौं। अहिलेसम्म आएको खोप वितरणमा कुनै समस्या छैन। आपूर्तिमा पनि समस्या छैन, खोप लगाउनेहरूमा पनि समस्या छैन। खोप अभियान निरन्तर चलेको थियो। तर चुनौती भनेको खोपको उपलब्धता नै भयो। हामी आशावादी नै हुनुपर्छ। पहिलो डोज पाएकालाई दोस्रो डोज दिन कोभ्याक्समार्फत भएपनि हामी पहल गर्छौं।