जलबिन्दुबारे संसारभर जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरी मार्च महिनाको दोस्रो साता विश्व जलबिन्दु सप्ताह मनाउने गरिन्छ। विश्व जलबिन्दु सङ्घको आयोजनामा यस वर्ष हुन गइरहेको यो कार्यक्रमका लागि 'संसार सुन्दर छ, दृष्टि जोगाऔँ' भन्ने नारा तय गरिएको छ।
दृष्टि स्नायु (अप्टिक नर्भ)मा हुने जलबिन्दुबाट दृष्टि गुम्ने दर अन्धोपन गराउने रोगको सूचीमा विश्वमा दोस्रो स्थानमा छ। नेपालमा अन्धोपन गराउन सक्ने आँखाको रोगको सूचीमा जलबिन्दु तेस्रो स्थानमा छ। यो रोगबारे धेरैमा सचेतनाको अभाव छ। जलबिन्दु लागेका व्यक्तिको परिवारमा यो रोगको जोखिम १० गुणा बढी हुने अध्ययनले देखाएको छ। यसर्थ परिवारमा कसैलाई जलबिन्दु भएको खण्डमा बढी सचेतता अपनाउन जरुरी हुन्छ।
सुरुवाती अवस्थामा यो रोगको खासै लक्षण पनि देखिँदैनन्। केही समयपछि भने अचानक तीव्र गतिमा आँखा रातो भएर दृष्टि धमिलो हुने, आँखा र टाउको दुख्ने हुन्छ। यसले दृष्टि स्नायुमा असर गर्न थाल्छ। जलबिन्दुको समस्यामा प्रायगरी दृष्टि परिधि (भिजुअल फिल्ड) साँघुरिएर आँखामा समस्या निम्तिने हुन्छ।
प्रारम्भिक अवस्थामै जलबिन्दु पत्ता लगाउन आँखा विशेषज्ञसँग परामर्श गर्न जरुरी हुन्छ। आँखामा चाप, अप्टिक डिस्क निरीक्षण, गोनिओस्कपी र दृष्टि परिधि आदिबारे जाँच गरेपछि मात्र रोग प्रारम्भिक अवस्थामा पत्ता लगाउन सकिन्छ। 'एन्टी ग्लुकोमा' झोल औषधि, लेजेर तथा सर्जिकल उपचार विधि अपनाएर यो रोगको रोकथाम गर्न सकिन्छ। तर यो रोग लागिसकेपछि उपचार तथा परामर्श जीवनभर आवश्यक हुन्छ। ४० वर्षभन्दा माथिको उमेर समूहका व्यक्ति, मधुमेह, उच्च रक्तचापको समस्या भएका र लामो समय स्टेरोइड औषधि प्रयोग गर्ने मानिस पनि यो रोगको जोखिममा पर्न सक्ने भएकाले सही समयमा आँखा जाँच गर्नु रोकथामको उत्तम उपाय हुन सक्छ।
गौतम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिपी कोइराला नेत्र अध्ययन संस्थानकी आँखा रोग विशेषज्ञ हुन्।