शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक– यी सबैको समस्वर स्थितिलाई स्वास्थ्य भनिएको हो। आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्नु स्वास्थ्य हो। जब यो स्थितिको सन्तुलन बिग्रिन्छ, प्रथमतः हाम्रो शरीरमा यसको असर देखिन्छ र विस्तारै यो असन्तुलनले मन अनि भावनामा पनि प्रतिकूल असर गर्न थाल्छ। यसबाट तनावको अवस्था सिर्जना हुन थाल्छ।
मानव सामाजिक प्राणी भएकाले यो तनावले हाम्रो मनोवैज्ञानिक स्थितिलाई पनि भित्रभित्रै हल्लाउन थाल्छ, मक्काउन थाल्छ। यसले हाम्रो सोच्ने तरिकामा पनि प्रतिकूल असर गर्ने हुनाले वरिपरिको वातावरण र अन्य मानिससँगको हाम्रो सम्बन्ध वस्तुगत र तार्किक नभई एक अज्ञात डर र भयद्वारा निर्देशित हुन थाल्छ।
प्रकृतिमा अनेक किसिमका घटना हुन सक्छन्। त्यसका बारेमा हामीलाई पूर्वज्ञान हँुदैन। जस्तो: बाटोमा हिँड्दा हिँड्दै एक्कासी सर्प अगाडि देखियो भने पछाडि हुत्तिइन्छ। कुनै हिंस्रक जनवारले आक्रमण गर्न खोज्दा ज्यान जोगाउन जोडले भागिन्छ। त्यस बेला सामान्य स्थितिमा नाघ्न नसकिने खाल्डो नाघ्न सकिन्छ। प्रकृतिले यस्तो घटनाबाट जोगिन हामीभित्र भिड्ने वा भाग्ने आन्तरिक क्षमता दिएको छ। ज्यानै खतरामा परेको यस्तो संकटकालमा मुटुको धड्कन आफैं बढ्छ, मुटुले बढी रगत पम्प गर्छ। पेटका धमनीहरु खुम्चिन्छन्, आँखाको नानी ठूलो हुन्छ, श्वास बढ्छ। मांसपेशी शक्तिशाली हुन्छन्। कलेजोबाट रगतमा ग्लुकोज छोडिन्छ। मस्तिष्क र शरिरको क्रियाकलाप बढ्छ।
वास्तवमा यो आत्तिएको अवस्थामा शक्ति उत्पादन गर्ने र खर्चिने (श्वासप्रश्वासको दर बढाउने) हाम्रो मस्तिष्कको भाग सक्रिय भएर आउँछ। खतरामुक्त स्थितिको बोध भएपछि यो शारीरिक ज्वार र कम्पन विस्तारै कम हुन्छ। हामी फेरि पुरानै अवस्थामा फर्किन थाल्छौं। यो स्वाभाविक प्रक्रिया हो।
कहिलेकाहीँ घटनाहरु मनोगत हुन थाल्छन्। अर्थात् वास्तविक खतरा नभए पनि मनले त्यो खतराको कल्पना गर्न थाल्छ। अक्सर कुनै आघातको असर मनमा गहिरिएमा यस्तो हुन थाल्छ। कल्पना र अज्ञात भयको पनि आफ्नै खालको शक्तिशाली जैविक, शारीरिक, मनोवैज्ञानिक र संवेगात्मक प्रतिक्रिया हुनसक्छ। प्रत्येक पटक मनमा त्यो कल्पना आउनासाथ ज्यानलाई खतरा हुने वास्तविक घटनाले जस्तै मुटुको गति बढ्नेदेखि लिएर अनेकौँ शारीरिक प्रतिक्रिया र संवेग उत्पन्न हुन्छन्। यस्तो स्थिति लामो समयसम्म जारी रहेमा यसले अनेकौँ शारीरिक र मानसिक खतरा निम्त्याउँछ। तनावबाट सबैभन्दा पहिले रक्तचाप बढ्न थाल्छ, जुन स्वास्थ्यका लागि खतरनाक हुनसक्छ। निरन्तर तनावले हृदयघात, मधुमेह, अनेकौँ खालका एलर्जी, पाचन प्रणालीको सन्तुलन बिग्रिने, अकारण डर लाग्ने, निद्रा नलाग्ने जस्ता दैनिक जीवनलाई सीधै असर पार्ने रोग देखिन थाल्छन्।
यस्ता कल्पनाजन्य खतरा र भयबाट उत्पन्न तनावलाई समयमै नियन्त्रणमा ल्याउने कोसिस गर्नुपर्छ। वास्तविक खतराभन्दा पनि भविष्यको खतराको भय भयावह हो। वास्तविक खतरा छोटो समयका लागि हुन्छन्। मनोवैज्ञानिक डर सिर्जना हुन नदिने केही सामान्य उपाय अवलम्बन गर्न सकिन्छ। ज्यानलाई खतरा भएका बेला सुरक्षित स्थानमा सर्नु र बस्नु जति जरुरी छ, मनलाई शान्त राख्नु, धैर्य नगुमाउनु र सहयोगी भावना राख्नु पनि उत्तिकै जरुरी छ। एक्लै कुरा खेलाउने र धूमिल भविष्यको कल्पनामा गर्नाले रोग देखा पर्छ। शरीरको रोगसँग लड्ने क्षमता ह्रास हुँदै जान्छ।
मनलाई शान्त राख्न गरिने अभ्यासले संकट आएका बेला छालका रुपमा आउने संवेगहरुलाई समुद्ररुपी चेतनामा समायोजित गर्न आघात निरोधकको काम गर्छ। अन्यथा सचेतन रुपले जवाफ दिन पर्ने स्थितिमा हामी अचेतन प्रतिक्रिया गर्न सक्छौं। जुन घातक हुन सक्छन्। शान्त मनमा दौडिने सकारात्मक भावहरुले संकट व्यवस्थापन गर्न मद्दत गर्छ। विज्ञानले जतिसुकै प्रगति गरे पनि अनेकौं प्राकृतिक विपत्ति हाम्रो नियन्त्रणमा छैनन्। यस्ता क्षति हामीले खेप्नैपर्छ। यस्ता विषम परिस्थिति हामी आत्तिनु पनि स्वाभाविक हो। तर, यस्तो परिस्थिति नभएका बेला पनि आत्तिरहनु र अरुलाई पनि अत्याइरहनु अस्वाभाविक हो। यस्तो समयमा मनलाई शान्त राखेर सम्भावनालाई पहिल्याउनु जरुरी हुन्छ।
मनमा उठेका खराब संवेगहरुलाई शारीरिक व्यायाम, योग, सहयोगी र सुरक्षाको भाव, ध्यानले कम गर्न सकिन्छ। त्यस्तै नकारात्मक प्रकृतिका कुराकानीबाट जोगिने, आफूलाई स्थिर राखी उत्साही बन्ने प्रयासको अभ्यास पनि धेरै महत्वपूर्ण हुन्छ। प्रकृतिको नियतिलाई नकार्न सकिँदैन। तर, यसैमा अल्झिएर ऊर्जा खेर फाल्नु हुँदैन। योग गरौं। ध्यान गरौं। जुन सहज जीवनका लागि लाभदायी हुन सक्छ।
(लेखक ध्यान प्रशिक्षक हुन्)