कोरोना महामारीका कारण कैयन मानिसको जीवन संकटमा परेको छ। विश्वव्यापी रूपमा हेर्ने हो भने लाखौं मानिसले अकालमा ज्यान गुमाए, कतिपय मानिसले मृत्युको मुखबाट पुनर्जीवन पाएको अनुभूति गरे। केहीलाई सामान्य लक्षणको अनुभूति भयो। जे–जस्तो भएता पनि सबैलाई त्राहीत्राहीको अवस्था थियो को मरिने हो, को बाँच्ने हो भन्ने डर तथा त्रास सबैको मनमा व्याप्त रहेको थियो। मानिसलाई घरबाट बाहिर निस्कन हिम्मत थिएन। सरकारले महामारीबाट कमभन्दा कम क्षति होस् तथा यो रोग नियन्त्रणभन्दा बाहिर नजाओस् भन्नका लागि लकडाउन गरेको अवस्था थियो। लकडाउनले गर्दा देशको अर्थतन्त्रमा ठूलो असर प¥यो। साथै, मानिसलाई दैनिक गाँसको जोहो गर्नसमेत हम्मे परेको अवस्थाबाट देश पिरोलिएको थियो। यातायात बन्द थिए, हवाई सेवा बन्द थियो।
यसैबीच कोरोनाको संख्यामा केही कटौती हुँदै आएपछि लकडाउन केही खुकुलो पारियो। कोरोनाविरुद्धको खोपमा विश्वमा केही आशाका किरणहरू विजाञ्कुरित हुन थाले। अक्स्फोर्ड तथा अन्य विश्वविद्यालयबाट उत्पादित खोपले केही सफलता पाएपछि विश्वका मानिसमा केही हिम्मत तथा मनोबल बढेर गयो। खोपको कार्यक्रम क्रमिक रूपमा विभिन्न देशमा विस्तारित हुँदै गयो। नेपाल सरकारले अहोरात्र मेहनत गरी भारत सरकारबाट अक्स्फोर्ड विश्वविद्यालयको प्रविधिबाट भारतको सेरम इन्स्टिच्युटबाट उत्पादित खोप अनुदानमा तथा सहुलियतमा ल्याएर अग्रपंक्तिका स्वस्थ्यकर्मी तथा क्रमिक रूपमा ज्येष्ठ नागरिकलाई पहिलो डोज दिएको छ। विश्वका विकसित मुलुकका नागरिकले हालसम्म पाउन नसकेको खोप नेपाल सरकारको सफल कूटनीति तथा भारत सरकारको छिमेकीप्रतिको उदारताको परिणामस्वरूप आएको सहजै बुझ्न सकिन्छ।
अहिले मानिस निर्वादरूपमा आवतजावत गरिरहेका छन्। विवाह, पूजालगायतका समारोह आयोजना गरिरहेका छन्। यतिसम्म कि संसद् विघटनको मुद्दालाई लिएर राजनीतिक दलले कैयन दिनसम्म सडक तताए, जुलुस निकाले तर कोरोना संक्रमितको संख्यामा खासै फरक परेन। मानिसमा तत्पश्चात् यति आत्मबल बढेको छ कि अहिले मानिस निर्वादरूपमा मास्कको प्रयोग नगरी हिँड्न थालेको हामी देख्न सक्छौं। अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई कोरोना संक्रमितको संख्यामा कमी आएकाले उपचार प्रवाह गर्न केही सहजता महसुस गरेको अनुभूति गर्न सकिन्थ्यो।
सरकारले यो समयमा कोरोना परीक्षणका विभिन्न उपायहरूको खोज गरिरहेको थियो। निजी क्षेत्रलाई कोरोनाको खोप ल्याउन दिने कार्यमासमेत सरकार लागिरहेको जानकारी आमसञ्चारमाध्यममा प्रसारित भइरहेका छन्। कोरोनाविरुद्धको खोप ल्याउनमा सरकार सफल भएकोमा राज्य नागरिकबाट धन्यवादको पात्र छ। यसै समयमा विभिन्न स्थानीय तहमा कम्तीमा पाँच श्ययाको अस्पताल स्थापना गर्ने योजना ल्याएर सरकारले भविष्यमा चाहिने स्वास्थ्य मागलाई पूर्ति गर्न कदम लिएकोमा सरकार धन्यवादको पात्र छ।
राजनीतिक दल आन्तरिक खिचातानीमा रूमलिएका छन्। सर्वोच्चको संसद् पुनःस्थापना तथा तात्कालीन नेकपा एमाले तथा माओवादी केन्द्र ब्युँताउने निर्णयपश्चात् देशको राजनीति ध्रुवीकृत भएको अवस्था छ। सरकारको अल्पमत तथा बहुमतको लडाइँ भइरहेको छ भने सत्ताधारी राजनीतिक दल आन्तरिक कलहमा फसेको छ। यही समयमा कोरोनाको दोस्रो लहर भारतका केही प्रान्तहरूमा व्यापक भएको छ। नेपालमा कोरोनाको दोस्रो लहर आउँदैन भनेर ढुक्क हुने अवस्था छैन।
भारत तथा नेपालका खुल्ला तथा अव्यवस्थित सीमानाकाका कारण नेपाल अति जोखिममा छ। मानिसमा लापरवाही बढेको अवस्था छ। कोरोनाले केही हुँदैन भन्ने दम्भी मानसिकता हामीमा पलाएको छ। सार्वजनिक यातायातमा कोचेर यात्रु चढाउने तथा बिनामास्क यताउता हिँड्नुले उपत्यकाजस्तो घना आवादी भएको ठाउँमा कोरोनाको दोस्रो लहरले धेरैलाई असर पार्न सक्छ।
विगतका गल्तीहरूबाट शिक्षा लिएर तीनै तहका सरकारहरूमा उच्च समन्वय आजकै मितिबाट सुरूआत हुनु अति आवश्यक छ। विगतमा जस्तो केन्द्र एकतिर, प्रदेश अर्को पाटोमा अनि स्थानीय सरकार आफ्नो तालमा बग्ने काम यसपटक नभएर समन्वयकारी तवरले सीमित स्रोतको अधिकतम उपभोगमा लाग्नुपर्ने देखिन्छ। क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो विगतमा कैयन स्थानबाट आएका थिए। विगतको अनुभवलाई संगालेर कार्य हुँदा हामी कोरोनाको दोस्रो लहरलाई परास्त गर्न सक्छौं। राजनीतिक बेमेल आफ्नो ठाउँमा छ। यदि, महामारीको दोस्रो लहर देशमा देखिएमा राजनीतिभन्दा माथि उठेर सबैले आ–आफ्नो तह तथा तप्काबाट सक्रियता प्रस्तुत गर्नुपर्ने देखिन्छ, बेमेलका बाबजुत सरकारलाई सहयोग गर्नुपर्छ। कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेको छिमेकी मुलुक भारतमा संक्रमण तीव्रगतिमा फैलिएको छ। भारतमा संक्रमणको उच्च विन्दुतिर बढिरहँदा नेपालमा पनि संक्रमण बढेको देखिएको छ। जसरी पहिलो लहरमा भारतमा संक्रमण तीव्र गतिमा फैलिएको एक महिनापछि नेपालमा बढ्यो, दोस्रो लहरमा पनि त्यही अवस्था आउनसक्ने विज्ञहरूले बताएका छन्। बुधबार (चैत ११ मा) मात्रै विराटनगरमा १० जना कोरोना संक्रमित भेटिएको छ। अहिलेको नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण तथा मृत्युदर बढिरहेको विज्ञहरू बताउँछन्।
विगतमा जस्तो स्रोत साधनको अभावले तथा पिपिईलगायत सामग्री आपूर्ति नहुँदा अस्पतालले बिरामी नलिएको तथा जनशक्तिको अभाव भनेर बिरामी फर्काएको घटना नदोहोरियोस् भनेर आजै सचेत हुनु आवश्यक छ। कोरोनाको बिरामीलाई भर्ना गरेर अकूत पैसा कमाउँछु भनेर सञ्चालित स्वास्थ्य संस्थालाई सरकारले विगतजस्तो मनोमानी शुल्क लिने कार्य हुन नदिने कार्यमा योजना बनाउन आवश्यक छ। देशमा रहेका निजी तथा शिक्षण संस्थालाई सरकारले समन्वय गरी सरकारी निगरानी तथा व्यवस्थापनमा बिरामीको उपचारको व्यवस्था मिलाउने योजना बनाउनु आवश्यक छ। होम क्वारेन्टाइनका बिरामीको रेकर्ड तथा नियमित ख्यालका लागि टोली कसरी परिचालन गर्ने, कन्ट्याक ट्रेसिङको व्यवस्था कसरी मिलाउने यसको योजनामा आजैबाट लाग्नु वाञ्छनीय देखिन्छ।
स्वास्थ्यकर्मीहरूको काँधमा पुनः गहन जिम्मेवारी आउने सम्भावना देखिएको छ। विगतमा आफ्नो घरपरिवार केही नभनी बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि चाहिने सामग्रीहरूको जोहो अहिलेबाटै गर्न सरकार पछि पर्नुहुन्न। गर्मी होस् वा जाँडो पिपिई लगाएर आफ्नो ज्यान बाजीमा राखेर बिरामीको सेवामा उत्रने सेता कोटधारी भगवानलाई काम गर्न कसरी सहज वातावरण सिर्जना गर्न सकिन्छ, यसतर्फ सम्बद्ध सबैको ध्यान जानु आवश्यक छ।
जुनसुकै समस्याले बिरामी अस्पतालमा भर्ना हुँदा कमभन्दा कम कुरुवा अस्पतालमा जाने व्यवहारको सुरूआत गर्नु आवश्यक छ। अस्पतालमा अनावयक भीड नगर्नु नै राम्रो हुनेछ। अति आवश्यक काम नपरी बाहिर ननिस्कने तथा निस्कँदा मास्क तथा समय–समयमा हात धुने व्यवहारलाई निरन्तरता दिन आवश्यक छ। हेल्चे¥याइँले कोरोना संक्रमित बनाउन सक्छ अनि ज्यानसमेत जान सक्छ। यो अमूल्य चोलालाई मात्र हाम्रो सावधानीले विगतमा पनि बचायो अब पनि बचाउँछ यो यथार्थलाई सबैले हृदयंगम गर्नु आवश्यक छ। बिरामीको उपचारका लागि चाहिने मोनिटर, भेन्टिलेटर तथा रेम्डीसिविर वा अन्य औषधिहरूको जोहोमा अविलम्ब नीति निर्माता लाग्नु आवश्यक छ।
अस्पताल व्यवस्थापनले यस महामारीमा धेरैभन्दा धेरै बिरामीले सुरक्षित तवरले कसरी उपचार पाउन सक्छन् तथा अस्पतालका कर्मचारीहरूलाई कसरी महामारीबाट सुरक्षित राखेर अस्पतालको सेवा अवरुद्ध नहुने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने कुरामा चनाखो भएर आवश्यक कदम लिनु आवश्यक रहन्छ। नआतिएर विगतका अनुभवहरूलाई सँगालेर कार्य हुँदा हामी यो लहरबाट सजिलै पार पाउन सक्छौँ भन्ने यथार्थलाई सबैले मनन गर्न आवश्यक छ। यस महामारीका सिपाहीलाई उच्च आत्मबल बढाउने वातावरण बनाउन सबै तहबाट लाग्नु आवश्यक छ।
कोरोनाको दोस्रो लहरबाट सबै बचौं। मास्क अनिवार्य लगाएर मात्र बाहिर निस्कौं। भीडभाड, सभा सम्मेलन, गोष्ठी, पूजा आदिलाई स्थगित गरौं। क्याफे तथा रेस्टुरेन्टको भीडभाडमा नजाऔं। कार्यालयमा काम गर्दा तथा बाहिर हिँड्डुल गर्दा भौतिक दूरी कायम गरौं। लापरवाही नगरौं। सचेत नागरिक भएर कार्य गर्दा हामी सबैले कोरोनाको यो लहरलाई परास्त गर्न सक्छौं। चाडपर्व परिवारका सदस्यहरू मात्र भेला भएर थोरै संख्यामा उपस्थित भएर मनाऔं। मानव समुदायमा आएको यो संकटलाई सबैले हातेमालो तथा सहयोगी भावले लडेर यो महामारीका सिपाही स्वास्थ्यकर्मीलाई सहयोग गर्नुपर्छ। खोप लगाएकाले म सुरक्षित छु भन्ने दम्भ मनबाट हटाउँदा राम्रो हुनेछ। खोप लगाएका केही व्यक्तिलाई समेत कोरोना भएको छ। साथै, खोपको दोस्रो डोज लगाउन बाँकी नै छ। यस खोपबाट कोरोना संक्रमणमा कति कमी आउँछ भन्ने खोजकै विषय रहेकोले व्यक्तिगत सावधानी खोप लगाएकाले समेत राख्नु जरूरी छ।