काठमाडौं- बाँकेमा सक्रियको संक्रमितको सख्ंया बढेपछि उपचार र व्यवस्थापनमा समस्या उत्पन्न भएको छ। बाँकेमा हाल एक हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन्।
बाँकेको भेरी अस्पतालमा उपचाररत ४६ र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २९ कोरोना संक्रमितको अवस्था जटिल रहेको बताइएको छ। यीमध्ये ११ सय बढी संक्रमित होम आइसोलेसन रहेका छन्। अन्यलाई भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर नगरपालिका कोभिड अस्पताल, ह्वाइट हाउस मनिकापुर र होम आइसोलेसनमा राखिएको छ।
बाँकेमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा कोभिडका लक्षण भएका गम्भीर बिरामीको उपचारका लागि कोभिड युनिट छुट्याइएको छ। तर, दुबै अस्पतालका बेड बिरामीले भरिएपछि नयाँ पुष्टि भएका गम्भीर बिरामीको कसरी उपचार र व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको हो।
भेरीमा संक्रमितका लागि बनाइएको १४२ वेड पूणर् रुपमा भरिएको भेरी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ट डा प्रकाश थापाले बताए। हरेक दिन ३ सयभन्दा बढी संक्रमित पुष्टि भइरहेको भन्दै उनले नयाँ बिरामीको उपचारका लागि बेड नभएको बताए।
‘स्थिति नियन्त्रण बाहिर गइसक्यो। अस्पतालका सबै बेड भरिएका छन्,’ उनले भने, ‘जटिल प्रकारका बिरामी आउने क्रम जारी छ। त्यसैले हरेकले आफ्नो ठाउँबाट महत्त्वपूणर् भूमिका खेल्नु जरुरी देखिन्छ।’
संक्रमणको स्थिति नियन्त्रण बाहिर गएकाले अस्पतालमा बिरामीले उपचार पाउने अवस्थाबाट बन्चित भएको बताउँदै उनले अस्पताल प्रशासनले मात्र केही गर्न नसक्ने दुखेको गरे।
दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै बाँकेका स्थानीय तहले जिम्मेवारपूणर् भूमिका नखेलेको समेत टिप्पणी हुन थालेको छ।
यता, नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा पनि बिरामी भरिएका छन्। शिक्षण अस्पतालमा रहेको ३० बेडको कोभिड आइसियु पूणर् रुपमा भरिएको छ।
पछिल्लो समय कडा खालका लक्षण भएका बिरामी आउने क्रम जारी रहेकाले तत्काल अक्सिजन सहितको आइसोलेसन सेन्टर थप गर्नुपर्ने अस्पतालका सहायक निर्देशक डा नितेश कनोडियाले बताए।
उनले संक्रमण नियन्त्रणका लागि बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र मात्र लकडाउन गर्नुको औचित्य नभएको टिप्पणी गरे। ‘स्थिति निकै भयाभह भइरहेको छ,’ उनले भने,‘बाँके मात्र होइन यो क्षेत्रमै कडा लकडाउन गरिहाल्नुपर्छ। उपमहानगरपालिका भित्रको लकडाउन पनि फितलो छ। यसरी संक्रमण रोक्न थप समस्या हुने देखिन्छ।’
तत्काल कडा लकडाउन गरी सिमानाकामा कडाइ, उपचारका लागि जनशक्ति, अक्सिजनसहितको बेड बढाउन उनले आग्रह गरे।
‘अघिल्लो समय सामान्य लक्षण भएका संक्रमित बढी थिए। उपचारका लागि सबैलाई अक्सिजन आवश्यक परेको थिएन,’ उनले भने, ‘यसपटक कडा निमोनिया भई आउने गम्भीर प्रकृतिका बिरामी बढी छन्।’
पछिल्लो समय हरेक दिन परीक्षण गरिएका पिसिआर नमुनामध्ये ८० प्रतिशत पोजिटिव भइरहेको बताउँदै उनले कडा कदम नचाले अवस्था झन जटिल बन्ने बताए।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीले संक्रमण नियन्त्रणका अर्काको मुख ताकेर बस्ने बेला नभएको बताए। डिसिसिएमसीमा बजेट नभएकाले एम्बुलेन्स समेत संचालन गर्न नसकिएको दुखेको उनले गरे। ‘अरुले गर्देला भन्ने समय नै छैन। पछिल्लो समय संक्रमण पुष्टि भएका मध्ये ९० प्रतिशत व्यक्तिमा लक्षण छ। हरेक पालिकामा अक्सिजन सहितको बेड व्यवस्था गर्न सकियो भने भेरी र मेडिकल कलेजमा गम्भीर खालका बिरामी राख्न सकिन्थ्यो। हामीले आवाज उठाइरहेका छौँ तर सम्बन्धित निकाय तात्नुपर्यो,’ उनले भने।
उनले पछिल्लो समय उपचार हुन नसक्ने कारण रुघाखोकी र ज्वरोका लक्षण देखिएका व्यक्ति पिसिआर जाँच गराउन नआएको पनि बताए। उनले भने, ‘जाँच गराए पोजिटिव आयो भने उपचार पाइन्न भन्ने डर फैलन लागेको छ, यो झनै चिन्ताजनक अवस्था हो।’ समयमा संक्रमित पत्ता लगाइ आइसोलेट गर्न नसके उपचारको अभावमा ज्यान गुमाउनेको संख्या बढ्ने उनको भनाइ छ।
पछिल्लो २४ घण्टामा बाँकेमा तीन संक्रमितको ज्यान गएको सँगै मृतकको संख्या ७० पुगेको छ। पालिका तहमै पर्याप्त मात्रामा अक्सिजनसहितको बेड व्यवस्थापन गरी आइसोलेसन निर्माण गरिनुपर्ने माग उठिरहे पनि स्थानीय पालिका, जिल्लामा भएका सरकारी निकाय मात्र होइन स्वास्थ्य मन्त्रालयले समेत बेवास्ता गरेको देखिन्छ।
भेरी अस्पतालका मेसु थापा, मेडिकल कलेजका सहायक निर्देशक कनोडियाले अस्पतालमा थप गम्भीर बिरामी आए पनि उपचार गर्न राख्न नसकिने भएकाले तत्काल थप व्यवस्थाका लागि सरकार, स्थानीय निकाय, सरोकारवालसँग आग्रह गरेका छन्।
जिल्ला प्रशासन बाँकेले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लक डाउन गरेको छ। स्वास्थ्य मन्त्रालयले ५ सय बढी सक्रिय संक्रमित भए सो क्षेत्रमा लकडाउन गर्न सक्ने अधिकार जिल्ला प्रशासनलाई दिएको छ। संक्रमितको संख्या बाँके जिल्लाभर बढिरहेको अवस्था समस्या थप जटिल बन्दै गएको छ।