माथीको तस्बिरमा यो कविता
सेवामा दिनरात साँझ खटियौं थाकेर हैरान छौं।
आफ्नै झै मनु रोगले ग्रसित छन् कर्तब्यमा पोख्त छौं।।
बिछ्यौना छ कहाँ र त्यो सिरक खै पंखा तथा खाट नै।
मिल्दामा क्षण मात्र ढल्किन गयौं खाली हुने मेचकै।।
कोरोनासित लड्छ विश्व अहिले नेपाल आक्रान्त छ।
मान्छेका तन गाँज्छ गाल्छ कतिको झन् रोगले च्याप्दछ।।
देखिन्छन् जन अस्पताल भर नै सुनिन्छ चिच्याहट ।
के वेवारिस छाड्नु खै संक्रमितको चाहिन्न भो फुर्सद ।।
हो दायित्य वचाउने किन यसै छाडेर हिँड्छौं तर ।
के बच्चा परिवार के सहजता त्यागेर बस्छौं घर ।।
आफैं भैकन रोग संक्रमणमा लागिन्छ सेवातिर ।
खाली यो मनमा रहन्छ सबको राम्रो रहोस् तक्दिर ।।
गर्दै कार्य यसो टुसुक्क बसियो गालेछ निन्द्रा भई ।
भो आराम यहाँ पलाभर रह्यौं यै बेन्चमा ढल्किई ।।
साथी हौं प्रिय व्यक्ति हौं सकसमा हामी रहन्छौं अझ ।
हामी नर्स तथा चिकित्सकहरु हौं स्वास्थ्यकर्मी सब ।।
हाम्रो ध्येय रहन्छ केवल यहाँ आई विरामी बचुन् ।
सन्चो पार्नुछ रोग हुने मनुजको ती स्वस्थ भै फर्कियुन् ।।
गाँज्दा पूर्ण समाजको कुरुवा सङ्गै विरामी भिड ।।
देखिन्छन् अझ अस्पतालहरुमा हो शत्रु यो कोभिड ।।
होवोस् नास समस्त सँक्रमण यो एकान्तवासै बसी ।
श्रद्धा व्याप्त भयो असाध्य मनमा खोजेर लेखें मसी ।।
भै स्वास्थ्य श्रमी यिनै श्रमिकका कर्तब्य ओकल्छु म ।
होस् स्वीकार दिएँ सलाम छ सखे देखेर तिम्रा श्रम ।।
-('चूडा निर्भीक' भरतमणि मरहठ्ठा, उपचारात्मक महाशाखा स्वास्थ्य सेवा विभागमा कार्यरत छन्। उनी कोरोना संक्रमित पनि हुन्)