सन् २०१९ को अन्त्यदेखि नै विश्वलाई आक्रान्त पारेको कोभिड १९को संक्रमण सन् २०२१ को मध्यसम्म आइपुग्दा आफ्नो प्रारम्भिक विशेषतामा परिवर्तन गर्दै विश्वलाई नै चुनौती दिँदै अरु व्यापक बन्दैछ।
शुरुवाती समयमा मानिसहरुमा जति त्रास थियो त्यो त्रास र त्यसले ल्याएको क्षतिमा कुनै कमी छैन तर नेपालमा यसले गरेको असर हेर्दा मानिसहरुले सामान्य रुघाखोकी र सजिलै सन्चो भइहाल्छ भन्ने भ्रम पालेको पाइयो। अझ भन्नुपर्दा लक्षणविहिन तर पोजेटिभ आएका व्यक्तिहरुले त यसलाई सामान्य केही रहेनछ भनेको समेत सुनियो र जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नमा हेल्चेक्रयाई गरेको देखियो।
विज्ञहरुका अनुसार यतिखेर हामी कोरोना संक्रमणको दोस्रो चरणको प्रारम्भिक अवस्थामा छौं र यसको फैलावट र संक्रमण दर हेर्दा हाम्रो विद्यमान स्वास्थ्य संरचनाले धान्नै नसक्ने अवस्थामा पुग्ने त होइन भन्ने चिन्ता थपिएकोे छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुले बारम्बार गरिएको चेतावनीलाई न सरकारले न आम नागरिकले संवेदनशिलताका साथ स्वीकार गरेको पाइयो। परिणाम स्वरुप कोभिड दिन दुगुना रात चौगुनाको हिसावले बढ्दो छ। अझ दक्षिणतर्फको छिमेकी देशसँगको खुला सिमानाले हामीलाई ढिला भएपनि अवेर चाँही नगर्नु भन्ने सन्देश दिइरहेको छ।
यस अवस्थामा हरेक नागरिकले थप गम्भीर अवस्था आउन नदिन लापरवाही र हेलचक्रर्याइलाई शुन्यमा झार्नु जरुरी छ। सरकारलाइ समेत नागरिकले सचेत गराउनुपर्ने आवश्यकता देखिएको छ।
२०७८ सालको नयाँ वर्ष सबैतिर नयाँ उमंगका साथ आएको थियो। मेरी छोरीले नयाँ वर्ष मनाउन बाबा भएको ठाउँमा जानु भन्दै मेरो र उसको भाइको लागि हवाई टिकट लिइसकेको कुरा सरप्राइज थियो मेरो लागि।
यसर्थ म र मेरो छोरा सुर्खेतका लागि नेपालगञ्ज हुदै मंगलबार त्यसतर्फ लागियो त्यसपछि बुधबार र विहिबार सुर्खेतमै बस्ने र शुक्रवार नेपालगञ्ज जाने अनि शनिवार हामी काठमाडौ फर्कने र उहाँ सुर्खेत फर्कने गरी हाम्रो यात्राको सूची तयार भयो।
सोही बमोजिम नै हामी शुक्रबार नेपालगञ्ज आयौ। होटलमा छिर्ने बित्तिकै उहाँले कटक्क पेट काटेको र जीउ गलेको भन्दै पल्टनुभयो। शनिवार हाम्रो उडान ९.३० मा भएकाले विहान ब्रैकफास्ट खाइ त्यतै लागियो र हामे वोर्डिङ्ग भएपछि उहाँ सुर्खेतका लागि जानुभयो हामी यता काठमाण्डौं फर्कियौं।
त्यतिवेलै मलाइ एयरपोर्टमा नै एकदम पेट दुख्यो र जीउ लल्याकलुलुक भयो यद्यपी काठमाडौ उत्रियो र ट्याक्सी खोजी घर आइपुग्यौ। मलाइ एकदमै असजिलो महसुस भएको थियो छोरीले खाना खाएर रेस्ट गर्नु भनेकाले खाना त खाएँ तर त्यति मिठो भएन। लुगा पनि नफेरी वेडमा पल्टे। जीउ एकदमै तातेको र दुखेको थियो। ज्वरो नापे १००.४ रहेछ। जीउ यस्तो दुखेको थियो की कहिल्यै त्यस्तो अनुभव भएको थिइन।
मैले तुरुन्तै केटाकेटीलाई भनेर आफू आइसोलेसनमा बसे। सिटामोल पनि खाएँ तर भोलीपल्ट पनि ज्वरो घटेको थिएन त्यसपछि पिसिआर परीक्षण गराउने विचार गरेँ, तर जानलाई ट्याक्सी पाउन पनि गाह्रो, स्कुटीमा जाने विचार गरेको छोरीले दिइन र उसले आफै चलाएर लगी।
स्वाव दिएर आएपछि पनि के होला भन्ने खुलदुलीे लागिरह्यो। बेलुका १० बजे पोजिटिव भएको रिपोर्ट आयो। सोचँ,े नयाँ वर्षको शुरुवाती दिन मेरो लागि त्यति फलदायी भएन। उता श्रीमानलाई पनि ज्वरो आइरहेकोले टेस्ट गर्न भनेँ, उहाँको पनि पोजिटिव आयो। नपरिन्जेल सामान्य रुघाखोकी भनेको सुनेको थिएँ तर आफूलाई त्यो भन्दा फरक लक्षणहरु देखिनु र नयाँ संक्रमण अझ जटिल खालको छ भन्न्ो सुनेकाले डर लागेपनि मनलाई सान्त्वना दिइरहेँ।
शुरुको ४ दिनजति मलाई अत्यन्तै कष्टकर भयो। दिनभर ढोका बन्द गरी एउटै कोठामा बस्न पर्नु ज्वरो, जीउ दुखाइ, खाना अरुचीले गर्दा मानसिक तनाव पनि निकै बढ्यो।
यद्यपी यसलाई सहजताका साथ स्वीकार्न पहिले संक्रमित भई निको हुनुभएका साथीहरुको अनुभव र फोन सल्लाहले पनि सहयोग पुर्यायो। यसैगरी स्वास्थ्य सेवा विभाग तथा किर्तिपुर नगरपालिकाबाट पनि फोनमा फलो-अप गरिएको देख्दा खुशी पनि लाग्यो र सुधारिएको फलो-अप प्रणाली स्थापित रहेछ भन्ने अनुभूति गर्न पाएँ।
यसैगरी डा. अनुप बाँस्तोला टेकु अस्पताल जो अत्यन्तै व्यस्त हँुदाहुदै पनि फोनबाट समेत सल्लाह दिनुभयो र अप्ठ्यारो भएमात्र हस्पिटल आउनु भन्दा निकै खुशी लाग्यो।
मेरो अनुभवमा यो सामान्य त कदापि होइन। हरेक व्यक्ति यसबाट बच्नको लागि आफू नै पहिलो जिम्मेवार हुनुपर्दो रहेछ। सकेसम्म भीडभाडमा जाँदै नजाने, जानै परे जनस्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गर्ने, कोभिडसँग मिल्दाजुल्दा लक्षणहरु देखिएमा जाँच अगाडि नै परिवारका सदस्यबाट टाढा रही एकान्तबास बस्ने, त्यसपछि तुरुन्तै नमूना परिक्षण गरी आइसोलेसनमा बस्ने र यदि पोजेटिभ आएमा कम्तीमा १० दिन पूर्ण एकान्तबास बसी अरुलाई संक्रमण हुनबाट जोगाउनु महत्वपूर्ण दायित्व रहेछ।
यो नियम पालना गरेका कारण मैलै घरका अन्य सदस्यलाई संक्रमण हुनबाट जोगाएँ। त्यसैले स्वयं जिम्मेवार बन्ने गरौं, संक्रमण चक्रलाई परास्त गर्न मेरो भूमिका महत्वपूर्ण छ भन्ने मनन सबैले गर्यौं भने माथि भनिएजस्तै यो केही पनि रहेनछ भन्न पाइएला नत्र उही हो।