पुर्खाले लडेर बचाएको मेरो
अस्तित्व तिमीले बचाउन सकेनौँ है,
सबै मिली म भित्र
एक छत्र अटाउन पनि सकेनौँ है ।
तिम्रो लाचारिपन लिएर
आज लुटिएको मेरो मुख हेर्नलाई,
के आउछौ तिमी ?
मातृभूमीको विकास गर्नु त कता,
मेरै छातीमा टेकी,
आ-आफू नै लड्दैछौ तिमी ।
तानातानको ताण्डव नाच देखाउदै
आज थङ्थिलो मेरो मुख हेर्नलाई,
के आउछौ तिमी ?
आमा भन्दा प्यारो तिमीलाई तिम्रै सम्पति,
त्यही जोड्दैमा ममता नराख्ने भयौं एक रति ।
कम से कम दश धारा
मेरो दुधको मूल्य त चुकाउ तिमी ।
दरिद्र त्यो तिम्रो अनुहार लिएर
आज सुस्ताएको मेरो मुख हेर्नलाई,
के आउछौ तिमी ?
घरको बोझ सम्झिएर
बृद्धाश्रममा बन्दी छोडेर
आफू स्वतन्त्र जीवनमा भुल्ने
तिमी,
मेरो दुःखले फेरि दुखित हुन
आज रोईरहेको मेरो मुख हेर्नलाई
के आउछौ तिमी ?
मेरो मुख के हेर्छौ तिमी ?
-(डा सूरज निरौला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान)