अनुभव, ज्ञान र निर्णय लिने क्षमताको आधारमा , उच्चतम मानविय आदर्श पालना गर्दै विश्व -ब्रम्हाण्डलाई न्याय प्रदान गर्दै, दर्सनमा आधारित भएर मानविय क्रियाकलाप गरिन्छ भने त्यो क्रियाकलाप दार्शनिकीय क्रियाकलाप हुन्छ। व्यक्तिले अंगालेको दर्शनले मानिसले गर्ने सम्पुर्ण क्रियाकलापलाई असर पारिरहेको हुन्छ।
प्रत्यक्षरुपमा दर्शनशास्त्रले कुनै पनि समस्याको सोझै व्यवहारिक समाधान दिँदैन, तर यसले अप्रतक्ष्य रुपमा, तार्किक ढंगले समस्याको समाधान खोज्न र समाधान गर्न सघाउँछ। विज्ञानको दर्शनशास्त्रको उल्लेखनिय प्रभाव जनस्वास्थ्यको दर्सनशास्त्रीय विधि माथि परेको पाइन्छ। यो लेखमा विज्ञानको दर्शनशास्त्रसँग सम्बन्धित केही मुलभुत विधा र तिनले कोभिड -१९ को व्यवस्थापन, रोकथाम तथा नियन्त्रणमा पुर्यानउने भूमिकाका बारेमा छोटकरीमा बर्णन गरिएको छ।
विज्ञानको दर्शनलाई अंग्रेजीमा Philosophy of Science भनिन्छ। यो विधाले विशेषगरी विज्ञानको दर्शनको बारेमा अध्यन तथा अनुसन्धान गर्दछ। कोभिड -१९ एक प्रकारको कोरोना भाइरसद्वारा हुने सरुवा रोग हो। विज्ञानको दर्शनमा भाइरसको बारेमा खासै उल्लेख भएको पाइदैन। तर सुक्ष्म-जीवविज्ञानले यसको बारेमा प्रशस्तै अध्ययन तथा व्यख्या गरेको पाइन्छ। भाइरसको संक्रमणबाट हुने रोगहरुको व्यवस्थापन, नियन्त्रण तथा रोकथाम गर्ने प्रक्रियामा विज्ञानका दर्शनका अधिकांस विधिहरु, जस्तै : रिजनिंग विधि, इम्पेरिसिजम्, डिडक्टिभीजम्, इनडक्टिभीजम्, र्यासनलिजम्, तर्कशास्त्र, सम्भाव्यता र तथ्यांकशास्त्र , परिकल्पना र त्यसको जाँच, गणित शास्त्र र त्यसका दर्शन, प्रयोगमा ल्याउन सकिन्छ र ल्याइएको पनि छ ।
पश्चिमा दार्शनिक, अरिस्टोटल, जसलाई पश्चिमा तर्क शास्त्रका पिता पनि मानिन्छ। उनले प्रतिपादन गरेको रिजनिंग विधिको प्रयोग कोभिड -१९ को व्यवस्थापनमा पनि निक्कै नै उपयोगी छ। उदाहरणको लागि, कोभिड-१९ को संक्रमण समाजका सबै समूहका व्यक्तिमा पाइएको छ। जस्तै, सबै जात, वर्ण, लिङ्ग, तथा संस्कृति मान्ने विभिन्न समुदायका सदस्य, धनी, गरिब, शक्तिशाली, कमजोर, पैदल हिँड्ने, जहाजमा उड्ने, सडकमा सुत्ने, महलमा बस्ने, त्यसैले यसै तथ्यका आधारमा यो संक्रमण मलाई पनि हुने सम्भावना उत्तिकै छ भन्ने निस्कर्समा पुग्नु नै अरिस्टोटलले विकाश गरेका तथा अपनाएका रिजनिंग विधिलाई सहि तरिकाले प्रयोगमा ल्याउनु हो।
अरिस्टोटलले आफ्ना गुरु प्लेटोले विकाश गरेका रिजनिंग विधिमा आधारित भएर आफ्ना रिजनिंग विधिको प्रणालिगत विकाश गरेका थिए। र, यो विधि आजसम्म पनि विज्ञानको जगतमा उत्तिकै महत्वपुर्ण तथा लाभदायक छ। अरिस्टोटलले तर्क विधि र अवोलोकन विधि दुवै विधि संयुक्तरुपले प्रयोग गरि जीव विज्ञानमा आफ्ना केही मान्यता दाबी गरेका थिए। उनले प्रयोग गरेका दुवै बिधि, तर्क विधि र अवोलोकन विधि कोभिड -१९ को व्यवस्थापनमा पनि उत्तिकै महत्वपुर्ण छन् । स्मरण रहोस, प्लेटो सोक्रेटिजका शिष्य थिए र सोक्रेटिज पश्चिमा दर्शन विधाका एक संस्थापक दार्शनिक थिए।
पश्चिमा दार्शनिकहरुले विकाश गरेको दर्शनशास्त्रको एक अर्को विधि हो र्यासनलिजम् । रिजन तथा रिजनिंग विधि नै ज्ञानको प्रमुख श्रोत हो र विध्यमान ज्ञानले वैज्ञानिक तवरले काम गरेको छ कि छैन भनि जाँच गर्न पनि यही विधिको प्रयोग गर्ने गरिन्छ। यो विधिका समर्थक तथा अभ्यासकर्ताको मान्यता के हुन्छ भने, सत्य हुन्छ र त्यो सत्यलाई तर्कको आधारमा प्राप्त गर्न सकिन्छ। यो विधिलाई अत्यधिक रुपमा सैद्धान्तिक गणित, सैद्धान्तिक भौतिक विज्ञान, सैद्धान्तिक रसायन विज्ञान, खगोल विज्ञानमा अत्यधिक प्रयोग गर्ने गरेको पाइन्छ। यही विधिको प्रयोग गरि कुनै पनि व्यक्तिलाई कोभिड -१९ को संक्रमण भएको छ भने उक्त व्यक्तिले यो रोग अरु व्यक्ति र समुदायमा पनि सार्न सक्छ भन्ने निस्कर्ष निकालिन्छ।
अर्का अंग्रेज दार्शनिक, सर फ्रान्सिस ब्याकन, जसलाई इम्पेरिसिजम् विधिका पिता पनि मानिन्छ। उनले प्रस्ताव गरेको विधी, प्रस्न सोध्ने र तथ्य संकलन गर्ने। कोभिड -१९ को व्यवस्थापन, रोकथाम तथा नियन्त्रणमा अत्यधिक उपयोगी भएको पाइन्छ। जस्तै यो विधि अनुसार, के तपाईलाई कोभिड -१९ का लक्षण देखिएका छन् ? यो प्रस्न सोध्ने र उत्तर (तथ्य ) को आधारमा व्यक्तिलाई वर्गीकृत गर्ने र सुनिस्चितताको लागि प्रयोगशाला जाँच गर्न लगाउने गरिन्छ। प्रयोगशालाको जाँच नतिजाको आधारमा कोभिड -१९ ले संक्रमित व्यक्ति अथवा समूहको लागि आवश्यक पर्ने उचित व्यवस्थापनका रणनीति अपनाइन्छ ।
अर्का दार्शनिक डेविड ह्युमले विकाश गरेका इम्पेरिसिजम् लगायत कज एंड इफेक्टका बिधीको प्रयोग पनि कोभिड -१९ को व्यवस्थापन तथा नियन्त्रणमा उत्तिकै उपयोगी छन्। विज्ञानको दर्शनमा इम्पेरिसिजमले तथ्य र तथ्यांकमा आधारित भएर सिद्धान्तको विकाश गर्दछ। सारा तथ्यांकशास्त्रीय विश्लेषण, परिकल्पनाको जाँच यहि इम्पेरिसिजम् विधिमा आधारित भएर गरिन्छ। त्यस्तै, बेज सिद्धान्तमा आधारित भएर, स्क्रिनिंग टेस्टका नतिजाका आधारमा, तथ्यांक शास्त्रीय विश्लेषण गरिन्छ।
परम्परागत दर्शनशास्त्रको अभ्यास गर्ने क्रममा र्यासनलिजम् र इम्पेरिसिजमको बीचमा एक प्रकारको विरोधाभाषपुर्ण संघर्ष थियो, र कतिपय अवस्थामा एकले अर्काको अस्तिस्वनै स्वीकार्न पनि कठिन थियो। उक्त समयमा र्यासनलिजम् र इम्पेरिसिजम् मध्ये कुन विधिको प्रयोगले सही निस्कर्ष निस्कन्छ भनि बहुतै घनिभूत शास्त्रीय बहस हुन्थे। हाल, समस्याको समाधान तथा प्रश्नको उत्तर खोज्ने दार्शनिकीय विधि र्यासनलिजम् र इम्पेरिसिजमको बीचमा त्यति धेरै संघर्ष छैन, र आवश्यकता अनुसार दुवै विधिको उपयुक्त प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ भनेर दार्शनिकहरुले भन्ने गरेका छन्। समस्याको समाधान तथा निस्कर्ष निकाल्ने क्रममा विधिगत तवरमा र्यासनलिजम् र इम्पेरिसिजम् मध्ये कुन विधि उपयुक्त हो छुट्याउने कार्य बहुतै गाह्रो कार्य हो। यो जटिल कार्यलाइ एउटा सरल उदाहरण दिएर प्रस्ट पारिएको छ। मानौ एउटा सानो गाँउ छ, र त्यो गाँउमा थोरै जनसंख्या छ र त्यहा बस्ने सबैले एक अर्कालाइ चिन्दछन्। मानौ त्यो गाँउमा एउटा व्यक्ति छ जो दिन भर मुखमा मास्क नलगाई, दिनै, दिनभरी गाँउ डुल्छ र खाने बेलामा साबुन पानिले हात नधोई, जहाँ जे पायो त्यहि क्वाप्प खान्छ र यो नै उसको दैनिकी हो। बिगत १ महिना देखि उसको दैनिकी उही छ। मानौ, ३० दिन सम्म उसलाई केहि पनि भएको छैन, यानेकी, उसमा कोभिड -१९ संक्रमणका केहि पनि लक्षण देखिकेका छैनन् र प्रयोगशालामा जैविक जाँच गर्दा पनि उसमा कोभिड-१९ को कुनै भाइरस देखिएको छैन। हामीले उक्त व्यक्तिको क्रियाकलापबाट कोभिड -१९ संक्रमण सम्बन्धि के निस्कर्ष निकाल्न सक्छौ ? यहाँ एउटा महत्व पुर्ण प्रश्न के हो भने, के उक्त व्यक्तिलाइ ३१ औं दिनमा संक्रमणका लक्षण देखिएला त ? के उक्त व्यक्ति ३१ औं दिनमा जैविक रुपले संक्रमित भएको होला त ? यो प्रश्नको उत्तर खोज्न हामीले महान् दार्शनिक तथा गणितिग्य रस्सलले दिएका किसान र कुखराको उदाहरण अध्यन गर्नु पर्ने हुन्छ। उक्त व्यक्तिको क्रियाकलापलाई आधार मान्दै इम्पेरिसिजम विधिको गलत प्रयोग गरि निस्कर्ष निकाल्दा के पाइन्छ भने उक्त व्यक्तिलाइ ३१ औं दिनमा पनि संक्रमण भएको हुनु हुदैन, जुन निस्कर्ष पुर्ण सत्य होइन। यो अपुर्ण सत्य हामीले हाम्रो रिजनिंग विधिको सही प्रयोग तथा छनौट गर्न नसकेर प्राप्त भएको हो। हो, यस्तै गलत रिजनिंग बिधिको प्रयोग गरेर निकालेका निस्कर्ष अथवा समस्याको समाधान कदापी वैज्ञानिक हुदैन। जस्तै : हिजो सम्म ठम ठम हिँडिरहेको मान्छेलाई कसरि कोरोना भयो?, रात दिन एउतै भान्सामा खाने, एउटै घरमा बस्नेसंग किन डराउने? आदि। यहाँ , निस्कर्ष निकाल्दा दुवै विधि र्यासनलिजम् र इम्पेरिसिजमलाई उत्तकै महत्व दिनु पर्ने हुन्छ, नत्र सही निस्कर्ष निकाल्न सकिदैन। विज्ञानको दर्शनले यहि मान्यता राख्दछ।
रिजनिंग प्रक्रियाको अर्को विधि हो डिडक्टिभीजम् र इनडक्टिभीजम्, जसको प्रयोग हामीले हाम्रो समस्याको समाधान तथा निस्कर्ष निकाल्न बहुतै प्रयोग गरेका हुन्छौ र यी बिधिको उपयुक्त प्रयोग गर्न नजानेको खण्डमा पनि गलत नतिजा अथवा सत्य भन्दा टाडाको नतिजा निस्कन्छ। सिद्धान्तको आधारमा गरिएका अवलोकनबाट निस्कर्ष निकाल्ने प्रक्रिया र विधिलाई डिडक्टिभीजम् भनिन्छ भने अवलोकन गरेको आधारमा सिद्धान्त निर्माण गर्ने प्रक्रियालाई इनडक्टिभीजम् भनिन्छ। कोभिड -१९ को व्यवस्थापन, रोकथाम तथा नियन्त्रणमा डिडक्टिभीजम् र इनडक्टिभीजम् विधिको सही प्रयोग आवश्यकता अनुसार गर्न सक्नु पर्दछ।
अर्का दार्शनिक कार्ल पोपरका विचार पनि कोभिड -१९ को व्यवस्थापन, रोकथाम तथा नियन्त्रणमा उत्तिकै सहयोगी छन्, जस्तै उनको प्रख्यात दर्शन , " विज्ञान र गैर विज्ञानलाई कसरी छुट्याउने ? ", उनले व्यक्त गरेका विज्ञान दर्शनका विचार कोभिड-१९ को व्यवस्थापन, रोकथाम तथा नियन्त्रणमा अत्यधिक महत्वपुर्ण तथा उपयोगी भएको पाइन्छ। पछि दार्शनिक कार्ल पोपरले वैज्ञानिक अनुसन्धानको सर्बोपरि उदेश्य नै स्थापित सिद्धान्तलाइ गलत सिद्ध गर्नु हो, न कि प्रमाणित गर्नु मात्रै हो भनि धेरै नै व्याख्यान दिए, र उनको यो भनाइ हालको अवस्थामा धेरैनै मननीय छ। कोभिड -१९ संक्रमणको उपचारको विधि साथसाथै कोभिड -१९ सम्बन्धि सम्पुर्ण सूचना, विचार तथा समाचारलाई संचार माध्यमले विज्ञानको कसीमा जाँच गरेर मात्र प्रचार तथा प्रसारण गरेमा आम मानिसलाई सही धारणा बनाउन मद्दत पुग्दछ। यसको लागि आम मानिसले पनि विषयविज्ञको मात्र सल्लाह, सुझाबलाई आत्मा साथ गर्नु बुद्धिमानी हुन्छ।
छोटकरीमा माथि उल्लेख गरिएका विज्ञानको दर्शनशास्त्रीय विधीको सही प्रयोग गर्न सकेमा पक्कै पनि कोभिड -१९ को व्यवस्थापन, नियन्त्रण तथा रोकथाममा उच्चतम सफलता हासिल गर्न सकिन्छ र पक्कै पनि यो रोगले मानव जातिलाइ पुर्याउने क्षति न्यूनीकरण गर्न सकिन्छ।