लामो र कठिन सुत्केरी व्यथापछि महिलाहरुको योनीमार्गबाट लगातार पिसाब, दिसा वा दुबै चुहिरहने अवस्था प्रसव फिस्टुला हो।
महिलाहरुको योनीमार्ग अगाडि पिसाबथैली हुन्छ भने पछाडि दिसाथैली वा मलाशय हुन्छ।
योनीमार्ग, पिसाब थैली र मलाशय बीच एक आपसमा जोडिने कुनै प्वाल हुँदैन। लामो समयसम्म प्रशव व्यथा लाग्दा शिशुको टाउकोले आमाको योनीमार्ग र पिसाबथैली वा मलाशयलाई लगातार धेरै समयसम्म च्याप्दा वा थिच्दा त्यसमा प्वाल पर्न सक्छ। यसरी बन्ने प्वाललाई प्रसव फिस्टुला भनिन्छ।
फिस्टुला भएका महिलाहरु शारीरिक मात्र नभई मानसिक तथा सामाजिक समस्याबाट समेत पीडित भैरहेका हुन्छन्।
सुविधायुक्त स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थकर्मीबाट सुत्केरी गराउने चलन कम भएको हाम्रोजस्तो अविकसित देशमा यस्ता समस्या धेरै देखिन्छन्। यस समस्या सम्बन्धी सन् २०१२ को यूएनएफपिएको प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष २ सय देखि ४ सय जना महिलाहरुमा यस्तो समस्या देखापर्ने अनुमान गरेको देखिन्छ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार प्रति एक हजार जना महिला प्रसव हुँदा तीन जना महिलामा प्रसव फिस्टुलाको समस्या देखिन्छ।
प्रसव फिस्टुला हुँदा के हुन्छ?
प्रसव फिस्टुला हुँदा पिसाबथैली र योनीमार्गबीच प्वाल बन्न जान्छ। यस्तो अवस्थामा महिलाकोे योनीमार्गबाट पिसाब लगातार चौबिसै घण्टा बगिरहन्छ/चुहिरन्छ। यदि योनीमार्ग र मलाशय बीचमा पनि प्वाल बनेको छ भने योनीमार्गबाट दिसा पनि निस्किन्छ। यसरी योनीमार्गबाट निरन्तर रूपमा पिसाब, दिसा वा दुवै चुहिरहने हुन्छ।
यसका साथै अन्य समस्याहरु पनि देखापर्न सक्छन् । जस्तै:
- पिसाब चुहिने डरले खुट्टा सधैँ खुम्च्याएर बस्दा खुट्टा खुम्चिदै जानसक्छ।
- पिसाब धेरै चुहिने डरले पानी कम पिउँदा जलवियोजन तथा मिर्गौला सम्बन्धी समस्या हुन सक्छ।
- योनीबाट दिसा निस्किरहने डरले खाना कम खाँदा कुपोषण पनि हुनसक्छ।
- पिसाब चुहिरहने भएकोले आफनो दैनिक कार्यमा बाधा पर्नसक्छ।
- निरन्तर दिसा, पिसाब चुहिने हुँदा लुगा सँधै भिजेर गन्हाउने भई महिला अरूको अगाडि जान लाज मान्ने र आफुलाई घृणित ठान्ने हुनसक्छ।
- घर, परिवार र समाजबाट अपहेलित भई, दुब्र्यवहार तथा बहिस्कृत हुनसक्छ ।
यी अप्ठयाराहरुका कारण उनीहरुमा मानसिक तनाव हुन्छ ।
प्रसव फिस्टुला हुने कारणहरु
लामो समयसम्म प्रसव ब्यथा लाग्दा बच्चाको टाउकोले योनीमार्ग र पिसाबथैली वा दिसाथैली वा दुवैलाई धेरै समयसम्म थिच्नु यसबाहेक अन्य कारणहरुले पनि यो समस्या हुनसक्छ । जस्तैः
- चोटपटक लाग्नुः
शल्यक्रिया वा औजार प्रयोग गरी प्रसुति गराउँदा वा अन्य शल्यक्रिया गर्दा दुर्घटनावश प्वाल पर्नु।
बलपूर्वक यौनसम्पर्क राख्दा वा अन्य कारणबाट योनीमा चोटपटक लाग्नु।
- योनीमा जटिल सङ्क्रमण वा क्यान्सर हनु ।
प्रसव फिस्टुला हुनमा सहयोगी भूमिका खेल्ने तत्वहरु
- गुणस्तरीय प्रसुति सेवा नपाउनु (उचित प्रसूति गराउने संस्था नजिकै नहुनु, दक्ष जनशक्ति उपलब्ध नहुनु)
- यसबारे चेतनाको कमी हुनु।
- गर्भावस्थामा गरिने स्याहार र प्रसुति सेवाबारे चेतनामा कमी हुनु।
- स्वास्थ्य संस्थामा गएर प्रसुति गराउने चलन कम हुनु।
- आर्थिक अवस्था कमजोर हुनु।
- २० बर्ष उमेर नपुग्दै बच्चा जन्माउनु।
प्रसव फिस्टुलाको उपचार
प्रसव फिस्टुलाको उपचार सुविधायुक्त अस्पतालमा तालिम प्राप्त दक्ष चिकित्सकबाट शल्यक्रियाद्वारा गर्न सकिन्छ। तर कहिलेकाहीँ उपचारले पुरै निको नहुन पनि सक्छ र कसैलाई उपचारपछि यो समस्या पुनः बल्झिन पनि सक्छ। शल्यक्रिया गरिसकेपछि बिरामी कम्तीमा दुई देखि तीन हप्तासम्म अस्पतालमा बस्नुपर्छ।
शल्यक्रियाबाट प्रसव फिस्टुलाको उपचारपछि ध्यान दिनुपर्ने कुराहरुः
- समय–समयमा पुनः जाँच गराउनु पर्दछ।
- कम्तीमा ६ महिनासम्म यौनसम्पर्क गर्नुहुँदैन।
- कम्तीमा २ वर्षसम्म गर्भ रहन दिनुहुँदैन।
- गर्भवती भएपछि नियमित गर्भजाँच गराउनु पर्दछ र सुविधायुक्त स्वास्थ्य संस्थामा शल्यक्रिया गरेर मात्रै प्रसुति गराउनुपर्दछ।
प्रसव फिस्टुलाबाट बच्ने उपायहरुः
प्रसव फिस्टुला हुनबाट जोगाउन गर्भवती महिलाको परिवारका सदस्यहरुको मुख्य भूमिका रहन्छ। गर्भवती महिलाको उपयुक्त हेरचाह, नियमित स्वास्थ्य जाँच गराउनुका साथै प्रसवावस्थामा दक्ष स्वास्थ्यकर्मीको उचित सहयोग र समुचित ब्यवस्थापनले गर्दा फिस्टुला हुने सम्भावना हुँदैन।
- गर्भवती हुँदा कम्तीमा ४ पटक नियमित गर्भ जाँच गराउनुपर्छ।
- प्रसुति सेवाको लागि स्वास्थ्य संस्थामा गएर दक्ष स्वास्थ्यकर्मीद्वारा प्रसुति गराउनुपर्छ। ।
- प्रसुति सेवाको लागि उचित स्वास्थ्य संस्थामा जान ढिलो गर्नुहुँदैन। ८ घण्टाभन्दा बढी लगातार व्यथा लागेमा तुरुन्तै शल्यक्रिया सुविधा भएको अस्पतालमा जानुपर्छ।
- महिलाहरुमा गरिने विभेदलाई रोक्नुपर्छ। जस्तैः पोषण, गर्भवती तथा सुत्केरी स्याहार, बालविवाह आदि।
- परिवारले कम्तीमा २० बर्ष उमेर नपुगी बिवाह गरी दिनुहुँदैन।
- कम्तिमा २० बर्ष उमेर नपुगी गर्भधारण गर्नु हुँदैन।
- किशोरावस्था र गर्भावस्थाको समयमा उचित पोषणयुक्त खानेकुराहरुमा विशेष ध्यान दिनुपर्छ।
समस्याबाट पीडित महिलाहरुलाई हेयको दृष्टिले नहेरी समयमानै उपचार गराउन सहयोग गर्नुपर्दछ। परिवार र श्रीमानको भूमिका धेरै महत्वपूर्ण हुन्छ।
आफ्नो परिवार तथा छिमेकी कसैलाई प्रसव फिस्टुलाको समस्या भएमा वा शङ्का लागेमा आवश्यक सेवा र सल्लाहका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ। प्रसव फिस्टुलाको शल्यक्रिया उपचार काठमाण्डु मोडेल अस्पताल (फेक्ट–नेपाल) मा निशुल्क गरिन्छ।
(प्राडा गणेश दंगाल काठमाडौं मोडेल अस्पतालको महिला रोग विभागमा कार्यरत छन्।)