३१ डिसेम्बर, सन् २०१९ मा चीनले हुवाई प्रदेशको वुहान सहरमा धेरै मानिसहरुमा निमोनियाको प्रकोप देखिएको सूचना विश्व स्वास्थ्य सङ्गठनलाई दियो। त्यो बेला निमोनियाको सही कारण पत्ता लागेको थिएन।
सन् २०२० जनवरीमा निमोनिया लागेको मानिसहरुको नमूना सङ्कलनबाट नयाँ भाइरस पत्ता लाग्यो। त्यो भाइरसलाई सुरुवातमा नोबेल कोरोना भाइरस भनियो। साथै वैज्ञानिकहरुको अनुसन्धानबाट प्रकोपको कारण नोबेल कोरोना भाइरस भएको तथ्य पत्ता लाग्यो। यो भाइरसलाई सार्स कोभ–२ भनि नामाकरण गरी सम्बन्धित रोगलाई कोभिड–१९ भनियो।
चीनको वुहानमा ह्वात्तै फैलिएको कोरोनाभाइरसले विश्वभर महामारीकोे रुप लिन सक्छ भन्ने कसैलाई पत्तो र मतलब थिएन। तर त्यसको केही समयमा नै एकपछि अर्को गर्दै विभिन्न देशका सहरहरुमा यो रोग फैलिन थाल्यो। नेपालमा पनि २३ जनवरी २०२० मा पहिलो सङ्क्रमित भेटिएका थिए। विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२०मा कोभिड-१९ लाई ‘प्यान्डेमिक’ अर्थात् विश्व महामारीको रुपमा घोषणा गरेको थियो।
डेढ वर्ष बितिसक्दापनि विश्व कोरोना महामारीको संकटमै छ। कोरोना अझै केही वर्ष हराएर शून्य हुने स्थिति देखिँदैन। यो त झन् उग्र भएर विभिन्न रुपमा फैलिँदै गएको देखिएको छ।
रुप फेर्दै, विकराल हुँदै फैलिएको कोरोनाले मानिसलाई झन् त्रसित बनाएको छ। मानिसहरुलाई अहिले यो महामारीको अन्त्य कहिले होला भन्ने त्रास र प्रश्नले चिन्तित तुल्याएको छ। यो प्रश्न स्वभाविक नै हो भनेर मान्न सकिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार गत मंगलबार बिहानसम्ममा विश्वभर १६ करोड ६८ लाख ६० हजार ८१ जना मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। जसमध्ये १४ करोड ५० लाखभन्दा बढी सङ्क्रमण मुक्त भएका छन्। कोरोना संक्रमणका कारण ३४ लाख ५९ हजार ९९६ जनाको ज्यान गएको छ।
नेपालमा अहिले कोरोनाको दोस्रो लहर चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ र दोस्रो लहरमा संक्रमित र मृतकको संख्यामा पनि बृद्धि भइरहेको छ।
मंगलबार बिहानसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५ लाख २० हजार ४६१ जना सङ्क्रमित भएका छन्। यी मध्ये ३ लाख ९८ हजार ४८३ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोरोनाका कारण ६ हजार ५ सय ३१ जनाले ज्यान गुमाएका छन्।
सन् २०१९, चीनबाट सुरुवात भएको कोरोना भाइरसको पहिलो लहर विभिन्न देशमा फैलिँदै यसले अमेरिका, इटाली, स्पेन जस्ता देशहरुमा भयानक रुप लिएको थियो। दिनहुँ लाखौ सङ्क्रमित भेटिन्थे भने हजारौंको ज्यान जान्थ्यो। नेपाल यसबाट अछुतो रहन नसकेपनि यसले नेपालमा अरु देशहरुमा जस्तै भयानक रुप लिएको अवस्था थिएन। तर दोस्रो लहरले नेपालसहित छिमेकी मुलुक भारत नराम्रोसँग प्रभावित बनिरहेको छ।
भाइरस यस्तो जीव हो, जो जीवित प्राणी बाहेक अरु निर्जीव र बाहिरी वातावरणमा लामो समय जीविकोपार्जन गर्न सक्दैन। तसर्थ यसको निराकरणका लागि भ्याक्सिनको महत्वपूर्ण भूमिका हुन्छ। भ्याक्सिनको उपलब्धता नहुँदासम्म मानिसले भाइरस सक्रमण रोकथामका उपायहरु आफैंले सकेसम्म अपनाउनु पर्दछ। यस्ता महामारी नियन्त्रणका लागि भ्याक्सिनहरु आविष्कार हुँदै आएका छन् र धेरै खालका यस्ता संक्रामक रोगहरु निर्मुल भएका छन्।
अहिले पनि विश्वका वैज्ञानिकहरुले एक वर्ष नपुग्दै कोरोना विरुद्धका विभिन्न भ्याक्सिनको आविष्कार गरे। भ्याक्सिनमा सफता पाएसँगै विश्वबाटै भाइरसको अन्त्य हुने आशा पलायो। विश्व स्वास्थ्य सङ्गगठनको अनुमति पाएपछि भ्याक्सिनेशनको सुरुवात झन्डै एकैसाथ गरियो। नेपालमा पनि २०७७ साल माघ १४ गते देखि भ्याक्सिनेशनको सुरुवात भयो।
सन् २०२० डिसेम्बरमा कोरोना भाइरसको यु.के.मा बि.१.१७ भेरियन्ट पत्ता लाग्या। यसरी विभिन्न देशमा विभिन्न भेरियन्टका भाइरसहरु भेटिदैं गए। यी नयाँ भेरियन्टमा भने साबिकको भ्याक्सिनको दक्षता घटेको पाइन्छ।
यी नयाँ भेरियन्ट कै कारण विश्वमा फेरि कोरोना महामारीको दोस्रो लहरको सुरुवात भएको हो। यसले विश्वलाई अझै युद्धरत र शिथिल बनाउँदै लगेको प्रतीत हुन्छ। नेपालको छिमेकी देश भारतमा पछिल्लो चरणमा कोरोनाको यही नयाँ भेरियन्टले महामारीको रुप लिएको हो।
भारतमा अहिले बिरामीको लागि अत्यावश्यक अक्सिजन समेतको अभाव भएको देखिएको छ। नेपालमा पनि नयाँ भेरियन्टको संक्रमण दर र मृत्युदर दिनहुँ बढेको छ। यहाँ पनि अक्सिजनको अभाव भइरहेको छ। दोस्रो लहर चलेको केही समय यता दैनिक ९ हजार हाराहारीमा संक्रमित भेटिएका छन् भने केही दिन यता २ सयको हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको छ। यो नयाँ भेरियन्ट पहिलेको भन्दा बढी सङ्क्रमित र खतरनाक भएको पाइएको छ।
कोरोना भाइरसको पहिलो लहर फैलिँदा विभिन्न देशहरुमा मानिसहरुको आवतजावत र भिडभाडलाई नियन्त्रण गर्न लकडाउन गरिएको थियो।
लकडाउन गर्नुको मुख्य उद्देश्य सङ्क्रमणको दर घटाउँदै लैजानु हो। तर यही लकडाउनको कारणले मानिसको जीवन अस्तव्यस्त बन्दै गयो। धेरै मानिसले रोजगारी गुमाउनुपर्यो। कतिपय विद्यार्थीहरुले आ–आफ्नो निवासवाटै अनलाइन मार्फत कक्षा लिए भने कतिले पढाइ छाड्नु पर्ने अवस्था आइलाग्यो। मनिसहरु एक आपसमा भेटघाट गर्न र जमघट हुन नपाएका कारण एक किसिमको मानसिक तनावको अवस्था भय, डर र छटपटी आउन सक्ने खतरालाई धेरैले नजर अन्दाज गरेको अवस्था पनि देखियो।
पहिलो लहरको सङ्क्रमितको दर कम हुँदै गर्दा र भ्याक्सिनको आविष्कारले मानिसहरु पहिलेकै दिनचर्यामा लगभग फर्किएका थिए। तर यो धेरै दिन टिकेन।
पहिलो लहरको दर घट्दै जान लागेको र समाजिक जीवन राम्रो बन्दै गरेको केही महिनामै दोस्रो लहरको सुरुवात भयो। दोस्रो लहरपनि साबिकको जस्तै भयावह भएकोे कारणले लकडाउन गर्नुपर्ने अवस्था फेरि सिर्जना भयो। यो दोस्रो लकडाउनले मानिसलाई झन् अत्याएको छ। यसरी नयाँ भेरियन्ट आउँदै जाने हो भने कहिले हुन्छ त कोरोना भाइरसको अन्त्य भन्ने प्रश्नले सबैमा कौतुहलता बढाएको छ।
इतिहासलाई अध्ययन गर्ने हो भने अहिलेसम्म कोरोना भाइरसमात्र महामारीको रुपमा फैलिएको पहिलो भाइरस होइन। बीसौँ शताब्दीमा स्पेनिस फ्लू, एच १ एन १ इन्फ्लूएन्जा भाइरस पनि महामारीको रुप लिएको थियो।
सन् १९१८मा सुरुवात भएको स्पेनिस फ्लुको कारणले विश्वभर ५० करोड मानिसको ज्यान गएको थियो। झन् त्यो बेला अहिलेको जस्तो विज्ञान र प्रविधिको विकास भएको थिएन।
अस्पतालमा उपाचारका लागि अहिलेको जस्तो नयाँ पूर्वधारको विकास भएको थिएन। सन् १९१८मा सुरुवात भएको स्पेनिस फ्लुको महामारी, सन् १९२०को बीच तिरबाट बल्ल घट्न थाल्यो। यो फ्लुको अन्त्य हुनुको कारण धेरै मानिस सङ्क्रमित भएर र त्यसविरुद्ध विकास भएको प्रतिरोगात्मक क्षमता मात्र होइन। मानिसले यसको रोकथामका लागि अपनाएको उपाय पनि हो।
तसर्थ इतिहासका विभिन्न कालखण्डमा आएका महामारी जस्तै यो महामारीको पनि अवश्य अन्त्य हुनेछ। भ्याक्सिनको विकाससँगै यो भाइरसको अन्त्य सम्भव छ। कोरोनाको सुरुवाती भाइरसविरुद्ध वैज्ञानिकहरुले भ्याक्सिनको आविष्कार गरे भने पछि पनि नयाँ भ्यरियन्टविरुद्ध भ्याक्सिनको आविष्कार गर्ने छन्। त्यसबेलासम्म नागरिक आफैं सचेत र सजग हुन जरुरी छ। स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालनामा गम्भीर बन्ने हो भने धेरै हदसम्म यस्ता महामारीबाट बच्न सकिन्छ।
साबुन पानिले नियमित हात धुने, माक्सको नियमित प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, समाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने अथवा भीडभाड भएको ठाउँमा नजाने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डलाई कडाइका साथ पालन गर्न सकेमा भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर कम हुँदै जान्छ। अन्तत: भाइरसको न्यूनीकरण हुन गई निर्मुल हुन समय लाग्दैन। त्यसैले भाइरसबाट छुट्कारा पाउन आफ्नो ठाउँबाट पनि सक्दो प्रयत्न गरौं।
(ढकाल महाराजगञ्ज मेडिकल क्याम्पसमा बि.एससी.एम.एल.टि तेस्रो वर्षमा अध्ययनरत छिन्)