विश्वलाई त्रसित बनाएको कोरोना भाइरसबाट कोही पनि अछुतो हुन सकेको छैन। हामी स्वास्थ्यकर्मी कोरोना विरुद्धको यो लडाईमा होमिएका छौँ र दिनरात कोरोनालाई परास्त गर्न जुधिरहेका छौँ।
म अहिले मन भित्रभित्रै महाभारतको लडाई लडिरहेकी छु। कतैबाट एम्बुलेन्सको हर्न बजेको सुन्दा पनि मन आत्तिन्छ। कति कुरा त सायद म शब्दमा बयान गर्न पनि सक्दिन। हुन त एम्बुलेन्स, अस्पताल र आइसीयू मेरो लागि नयाँ कुरा होइन। तर पनि मन झस्किदो रहेछ। कतैबाट एम्बुलेन्सको आवाज आउने बित्तिकै मन आत्तिने रहेछ।
त्यो एम्बुलेन्सको आवाज सुन्ने बित्तिकै फेरी अस्पतालको शय्यामा छटपटिएका बिरामीको अनुहार मेरो आँखा अगाडी आउँछ। शय्यामा श्वास फेर्न भएका ती बिरामीको दृश्य सम्झदा म आफैँलाई पनि गाह्रो भएको महसुस हुन्छ।
एक साताअघिको कुरा हो, भेन्टिलेटरमा रहेका एक जना दाइको अक्सिजनको मात्रा ५० प्रतिशतमा झरेको थियो। उहाँलाई अक्सिजनको आवश्यक थियो। उहाँले मलाई मद्दत माग्नुभयो। मैले सबै ठाउँमा कोशिस गर्दा पनि उहाँलाई मद्दत गर्न सकिन। त्यो बेला म आफैँलाई लाचार महसुस भयो।
अक्सिजन मात्र पाएर पनि निको हुन्छ की भन्ने कयौँ बिरामीहरु अहिले अस्पतालहरुको वरण्डामा भेटिन्छन्। यस्तो खबरहरु पढिरहँदा मन निकै पोलेर आउँछ। हामी रातदिन नभनी खरिरहेका हुन्छौ। तर पनि कुनै पनि कयौ पटक कोशिस गर्दा मुठ्ठिबाट बालुवा खसे झैँ हुँदैछ।
मनमा सधै एक किसिमको डर भैरहन्छ। कतै म बाट नै बिरामी, आमा बुवा र परिवारका अन्य सदस्यलाई कोरोना सर्छ की भन्ने डर लाग्छ। कतै आफ्नै हातले कोरोना पो दिन्छु की भन्ने लागिरहन्छ।
कोभिडको यो महामारीमा जोखिम मोलेर काम गरिरहँदा आमा बुवालाई चिन्ता लाग्नु सामान्य पनि हो। मैले पहिलेदेखि नै बुवा आमालाई चिन्ता लिनु पर्दैन म सुरक्षित छु भनेर सम्झाइ रहन्थे। तर अहिले हामी सुरक्षित भएर काम गरिरहेका छौँ भनेर पनि सम्झाउन नसकिने अवस्था छ। म बाट नै मेरो परिवार जोखिममा पर्छ की भनेर पनि घर जाउँ की नजाउँ भन्ने दोधारमा पर्छु।
तर आशा छ, यो समय पनि बितेर जानेछ। कोरोना विरुद्धको यो लडाईमा हामी कोरोनालाई जसरी पनि परास्त गरिछाड्नै छौँ। बिरामीहरुलाई निको बनाउन हामी यसरी नै दिनरात खट्ने छौँ। मेरो यो प्रयास निरन्तर जारी रहनेछ।
( डा बेन्जु कोइराला कीर्तिपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग रेजिडेन्ट हुन्। )