अक्सिजनको सही समाधानको चर्चा गर्नु कता हो कता, अक्सिजन सिलिण्डरमा कलर फोटोसहितको पर्चा नै टाँस्ने र ढोल बजाएर बाँड्ने मन्त्रीको तरिकाले कोभिडले एन्जाइटी बढेर दिक्क लागेको बेला सबैलाई हाँस्ने र प्रश्न उब्जाउने बनाएकै हो। अक्सिजन प्लाण्ट राख्न जिल्लामा कसले बजेट पारेको भनी वक्तव्यवाजीमा होडवाजी गरेर सबैलाई जिल्ल पार्ने बनाएको तात्तातो समाचारको तापक्रम पनि घटिसकेको छैन। अरु पनि यस्तै हाँस्य शृंखलाको बाढी अझै बढ्ने पूर्वानुमान लगाउन सकिन्छ।
'नीति फुस्किएर राज गर्ने माध्यम मात्र बन्यो राजनीति' भनी कतै कुरा राख्यौं भने 'उसोभए राजनीति गर्न आफैं उत्रिनु नि' भन्ने रेडिमेड उत्तर दिएरै सिण्डिकेट चल्ने गर्दोरहेछ, राजनीतिमा। चुनावको दिन भोट हाल्नु र औंलामा निलो रंग दल्नुमा राजनीतिको परिभाषा खोज्ने हो कि समाजको रंग बदल्नुमा?
नेताज्यू, के तपाईं कहिल्यै बिरामी पर्नु भएन? तपाईंका परिवारजन कहिल्यै बिरामी परेनन्? साधारण ओखति खान इटली जान पनि छुट पाउनु अघिसम्म तपाईंले कहिल्यै इटहरीमा उपचार लिनु भएन? जर्जिया जान सबै खर्च पाउनु अघिसम्म तपाईंले बर्दियामा कहिल्यै उपचार लिनु भएन? तपाईंकै घरको पनि सबैभन्दा महत्वपुर्ण बिषय त स्वास्थ्य नै होला नि, होइन र? कोभिड शब्द आफैंले को भिड गर्छ भनिरहेका बेला जनताले मात्र 'टाइट्ली' बस्नु पर्ने र तपाईंहरुले चाँही 'लाइट्ली' लिए पनि हुने हो? अनि यस्तो बेलामा जनताको तनावमाथि ध्यान दिने हो कि चुनावमाथि? जे हो त्यही बोल्ने आँट गर्नुस् है नेताज्यू, जनताका आफ्नै सिसिटिभी हुन्छ, तपाईंहरुलाई हरदम नियाल्ने।
तपाईंहरुमध्ये कतिलाई थाहा छ, गलब्लाडर अपरेशनको कुन अस्पतालमा कति मूल्य छ ? जनता जान्न चाहन्छन् अस्पताल भनेको 'अस्त व्यस्त ताल' को प्रतिक हो र? भनी। यहाँको यसमा उत्तर के छ? नेपालको स्वास्थ्य प्रणालीको मोडल कुन हो भनी विदेशीहरुले सोध्ने गर्छन, शायद तपाईंहरु पनि विदेश जाँदा त्यहाँको मन्त्रीले त्यही प्रश्न सोध्दा हुन्। हामीसंग त उत्तर छैन, तपाईंसंग छ कि? छ भने बताइदिनुस। छैन भने त्यसको उत्तर खोज्नु पर्छ कि पर्दैन? बहश गर्नु पर्छ कि पर्दैन? पहिलेको चुनावमा जे छाप्यो, त्यसैलाई कपी-पेस्ट गरेर बनाएको घोषणापत्रले कहिलेसम्म थेग्ने हो? के तपाईंहरुको पार्टीमा विषय-विज्ञ कोही नै छैनन्? अरु देशको चुनावमा एक नम्बरको एजेण्डा स्वास्थ्यकै हुन्छ हजुर। अरु देशमा एउटा नम्बर हाल्नासाथ त्यस बिरामीको इतिवृत्तान्त हेर्न मिल्छ। जसका कारण उपचार नै छिटो शुरु हुनपुग्छ र सही उपचार पाउनेदेखि इमर्जेन्सीमा बचाउन सकिने चान्स नै बढेर जान्छ। यो कुरा तपाईंहरुले नबुझेकै चाहीँ त होइन होला है।
ए नेताज्यू, हाम्रो देशमा कुद्ने एम्बुलेन्सको गति हेर्नुस त ! बिरामी झन् सिकिस्त हुने ट्याङ्का जस्ता एम्बुलेन्स छन्। छिटो जान पाउँ भनी तपाईंका गाडीले जस्तै साइरन त फुक्छन तर स्पीड लिन चुक्छन् ती एम्बुलेन्स। देश भरनै १०२ नम्बर लगाउन के ले रोक्छ? कि इण्डियन एम्बेसीले अनुदान दिने एम्बुलेन्स नै हाम्रालागि राम्रा एम्बुलेन्स हुन्? निर्क्यौल गर्नुस। यस्तो कुरामा लिड गरे त तपाईंको फोटो जनता आफैंले मन-मनमा लगाइहाल्छन नि, त्यसरी अक्सिजनको सिलिण्डरमा टाँसिराख्नै पर्दैन। एकपटक नेताज्यूहरु सबै मिलेर दुई तीनवटा सहरको हस्पिटल लाइन भन्ने ठाउँ डुल्नुहोस् त, हामीले जे गरे पनि हुन्छ भनी भुल्नुहोस् र भन्नुहोस् बिल्डिंग नै पिच्छे अस्पताल बन्न सक्छ त्यसरी? तपाईं आफ्नो परिवारलाई त्यस्तो अस्पतालमा लाने आँट गर्न सक्नुहुन्छ? अस्पतालको मापदण्ड र खराब गर्नेलाई दण्ड हुँदैन? राम्रालाई पुरस्कार, नराम्रालाई तिरस्कार गर्ने गरी शून्य सहनशीलतामा नियमन हुनुपर्ने स्वास्थ्य क्षेत्र यसरी बेलगाम घोडा झैँ राखिराख्ने हो? सबै राम्रो भयो भने यसैगरी फोटो टाँस्न पाइँदैन कि भन्ने चिन्ता भएर त होइन नि? अरु देशले अनुदानमा दिएको सिलिण्डर खोसाखोस गरेर एउटै सिलिण्डरलाई दश-बाह्र जनाले छोएर दान दिने कि नीति-नियम-नियमनमा भूमिका खेलेर स्थायी योगदान दिने? उत्तर तपाईंकै।
बीमाको गति किन धिमा? अस्पतालहरुको स्लो-मोसन क्लेममाथि झनै स्लो-मोसनको प्रोसेस गरेर ट्राफिक जाम गरेको बीमाले हदको सिमा काट्ला कि नकाट्ला? यतातिर आँखा लगाउनु पर्ने तपाईंहरुको आँखा तत्क्षणका लागि बजेट खोसाखोसमा हुनुपर्ने हो र भन्या? एउटा अस्पताल पुग्यो, घन्टौं लगाएर बल्ल-तल्ल जाँच गरायो। अर्को डाक्टरकोमा जानुपर्दा त्यो पुर्जी देखाउनै डरायो। उता फेरि त्यही टेस्टलाई दोहोर्यायो। यस्तो बिषयमा रितिथिति मिलाउनुहोस न नेताज्यू, मन-मनले लाइक ठोक्लान, मन-मनै राम्रा कमेन्टको बर्षासंगै कहिल्यै चुनाव नहार्ने गरी तपाईंको स्थायी-जयजयकार होला नि! हाहाकारका बेला जबरजस्ती गराइने अस्थायी-जयजयकार वास्तवमा बेकार हो नेताज्यू। एउटा बिरामीले उपचार लिन कति समय खर्चन्छ, कति पैसा खर्चन्छ, कति झन्झट व्यहोर्छ भन्नेमा अध्ययन गर्नुहोस्। त्यसलाई हल गर्ने पहल गर्नुहोस्। तपाईंका कारण जति जति स्वास्थ्य सेवाको गुणस्तर बढ्छ, त्यही अनुपातमा तपाईंको पनि जनताको नजरमा गुणस्तर बढिसकेको हुन्छ।
स्वास्थ्य क्षेत्रमा तीन सरकारबीच छिनेको समन्वयको डोरी फेरि कस्नुहोस्, हरेक कुराको तथ्यांक लिएर बस्नुहोस्। इलेक्ट्रोनिक मेडिकल रेकर्ड लगाउनुहोस्, वहश गर्न स्वास्थ्यका सबै सेक्टरलाई जगाउनुहोस्। ह्युमन रिसोर्सको दुरदर्शी व्यवस्था गर्नुहोस्, मेडिकल र नर्सिङ्ग एजुकेशन निशुल्क हुनुपर्छ भन्नेमा पर्नुहोस्। दाताले भने अनुसार होइन, डाटाले भने अनुसार नीति कोर्न पैरवी गर्नुहोस्, अनि तपाईंले सिलिन्डरमा फोटो टाँस्ने सोचिराख्नै पर्दैन। हेल्थ जर्नलिजमलाई बढावा दिनुहोस्, स्वास्थ्य अनुसन्धानमा के हुँदैछ चासो लिनुहोस्।
नयाँ औषधि, नयाँ विधि र प्रविधि शिघ्र दर्ता गर्नेमा ध्यान दिनुहोस्, अरु देशको सिस्टमको पनि ज्ञान लिनुहोस्, अक्सिजन प्लाण्ट देशभरमा कति चाहिन्छ, अरु स्वास्थ्य सामग्री कहिलेदेखि आफ्नै देशमा बनेको किन्न पाइन्छ घोत्लिनुहोस्। डाक्टर, नर्स, पारामेडिक्स बाहेक पनि हेल्थकेयर मेनेजमेन्ट, बायोमेडिकल लगायत अन्य ह्युमन रिसोर्स कसरी बनाउने र खटाउने सोच्नुहोस्। तब न यस्ता महामारी सहजै थेग्न सकिनेछ। आगो लागेपछि कुवा खन्नुको तुक रहदैन, पहिले नै फायर फाइटिङ्ग सिस्टम रेडी राख्ने हो नेताज्यू। र अन्तत:, युनिभर्सल हेल्थ कभरेज उर्फ सर्वव्यापी स्वास्थ्य पहुँचमा कसरी पुग्ने हो भन्नेमा नै एकसुत्रीय ध्यान दिनुहोस्। त्यसो हुन सक्दा जनताको मनमा सदासर्वदा तपाईंको पहुँच रहिरहनेछ, कहिल्यै डिलिट नहुने गरी।
-(डा प्याकुरेल स्वास्थ्यखबरका मेडिक एडिटर हुन्)