काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि बिहीबार राति आइसीयू कक्षमै भौतिक आक्रमण भयो।
कोरोना संक्रमितहरुको उपचार हुने कोभिड आइसीयूमा उपचाररत दाङका ५४ वर्षिय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आइसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए। त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए।
ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण हुन थालेपछि बिरामीलाई छाडेर उनीहरुको भागाभाग भएको थियो।
कतिपय ज्यानकै जोखिम बढेको भन्दै अस्पतालको माथिल्लो तलाबाट हाम्फालेका थिए।
यो घटनाको चौतर्फी निन्दा भएको छ। तर, घटनामा संलग्नहरु कानूनी दायरामा आएका छैनन्।
भेरी अस्पतालमा पछिल्लो तीन हप्ताको अवधिमा चिकित्सक र नर्समाथि आक्रमण भएको यो चौंथो पटक हो।
यसअघि पनि आकस्मिक कक्ष र कोभिड कक्षमै पसेर विरामीका आफन्तलगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। ती सबै घटना कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर भएका थिए।
नेपालगञ्जको भेरी अस्पताल कोरोना संक्रमितको उपचारका लागि पछिल्लो समय उदाहरणीय अस्पताल बनेको छ। पश्चिम नेपालमा बढेको कोरोना संक्रमणसँगै धेरैको आशाको केन्द्र यही अस्पताल बनेको छ। कारण, अस्पतालले कोरोना उपचारका लागि सबैका लागि उदाहरणीय प्रबन्ध गरेको छ।
तर, त्यसक्रममा उपचाररत बिरामीको मृत्यु हुँदा आफन्तले डाक्टर र नर्सहरुलाई नै आइसीयुमा पसेर आक्रमण गर्न थालेपछि आफूहरु त्रासमा काम गर्न बाध्य भएको डाक्टर तथा नर्सहरुले बताएका छन्।
भेरी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ड डा प्रकाश थापाले आक्रमण गर्ने समूह ज्यान मार्ने उद्देश्यले आइसीयूमा प्रवेश गरेको बताउँदै भने, ‘तीन हप्ताको बिचमा चार पटक अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। अन्य थ्रेट र मानसिक टर्चर हरेक दिन हुन्छ। अघिल्ला घटनाका दोषीलाई कारवाही नगर्दा यस्तो अवस्था आएको हो।‘
उनले महामारीको समयमा दिनरात नभनेर खटिएका स्वास्थ्यकर्मीमाथि हरेक दिनजसो ज्यान मार्ने उद्देश्यसहित आक्रमण हुँदा मनोबल कमजोर बनेको बताए।
उनले भने, ‘जबरजस्ती आइसीयूमा छिरेर तोडफोड गर्दै पिपिइ लगाएर उपचारमा खटिएका नर्सलाई घाँटी थिच्ने, अन्य समयमा पनि मेरो बिरामीलाई केही भए तलाई पनि मार्छु भन्ने, जथाभावी बोल्ने जस्ता घृणित काम भइरहेको छ। यस्ता घटनाका दोषीलाई कडा कारबाही नभए यी कुरा समाधान हुँदैनन्।’
भेरी अस्पतालका कोभिड फोकल पर्सन डाक्टर संकेत रिसालले पहिलो घटनाका दोषीलाई कारबाही नगर्दा अन्यमा पनि अराजकता बढेको बताए।
उनले भने, ‘अहिले पनि दोषी खुलेआम घुमिरहेका छन्। हामी दोषीलाई कारवाही हुनुपर्छ भनेर राती १ बजेसम्म प्रशासनमा थियौं। ३ हप्तामा ४ घटना भए। एक जनालाई कारबाही भएको छैन। सबै दोषी खुलेआम घुमिरहेका छन्। यसले हामीलाई निकै दुःखी र हतोत्साहित बनाएको छ।’
उनले बिहीबारको घटनाले चिकित्सक तथा नर्सहरु ड्युटीमा जानै डराएको बताए।
‘मान्छेमा अराजकता चुलियो। पहिलो घटना भएपछि अस्पताल प्रशासनले कारबाहीका लागि निवेदन समेत दियो। अस्पताल प्रशासनले बिरामी हेर्ने, उनीहरुको सेवा गर्ने हो। तर, सम्बन्धित निकायले ती गुण्डालाई कारवाही नगरेपछि उनीहरुको मनोबल बढ्यो। यो हप्ता, १० दिनमा ३ पटक आक्रमण भयो।’
हरेक पटक घटना भएपछि अस्पतालले सुरक्षाको माग गर्दै कारबाहीका लागि निवेदन दिने तर दोषी एक हप्ता नबित्दै खुलेआम हिड्ने अवस्थाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल खस्केको, राज्यले पनि आफूहरुलाई बेवास्ता गरेको अनुभूति भएको चिकित्सकहरुले बताएका छन्।
रिसालले अहिले स्वास्थ्यकमीहरु ड्युटीमा जान नमानेको समेत बताए। अस्पताल प्रशासनको बैठक बसिरहेको जानकारी दिँदै अहिले भेरी अस्पतालमा भीडभाड र स्वास्थ्यकर्मीको तनावपूर्ण अवस्था रहेको उनले सुनाए।
बाँके प्रहरील घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रकाउ गरेको बताएको छ।
कोभिड आइसीयूमा खटिएकी नर्स यमकुमारी थापाले ती बिरामी अस्पतालमा भर्ना भएदेखि नै उनीहका आफ्न्तले मानसिक तनाव दिने गरेको बताइन्।
उनले भनिन्, ‘उहाँहरुको माथिसम्म पावर छ, केही भएपछि छोड्दैनाँै भन्ने कुरा त आइरहेको थियो। बिरामीको मृत्यु भएको कुरालाई लिएर हरेक पटक ड्युटीमा खटिएका नर्सको घाँटी थिच्न आउने हो भने हामीले कसरी काम गर्नेरु अहिले आइसीयूमा छिर्नै डर लाग्छ। यसरी काम गर्न सकिँदैन।’
उनले माथिल्लो तलाबाट आफ्ना साथीहरु हाम्फालेर नभागेको भए उनीहरुको ज्यान नै जान सक्ने अवस्था सिर्जना भएको बताउँदै भनिन्, ‘मेरा साथीहरुको अवस्था अहिले निकै प्यानिक छ। हामी सबै आत्तिएका छौँ। अहिले अस्पतालमा सबै जम्मा भएका छौँ। जो व्यक्ति घाँटी थिच्न गएको थियो, उसलाई हाम्रो अगाडि ल्याउनुपर्छ भन्ने माग राखेका छौँ। के गल्ती भयो हाम्रो, सोध्छौँ हामी। ’
उनले यसअघिका घटनाका दोषीलाई पनि पावरकै भरमा कारबाही नगर्दा पटकपटक स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण हुने क्रम बढेको बताइन्। दोषीलाई कडा कारबाही नभएसम्म काम गर्ने मनोबल नबढ्ने समेत उनले बताइन्।
मृतकका भाइ, छोरा लगायत अस्पतालमा भौतिक आक्रमणमा उत्रिएको बताइएको छ। दाङका एमाले नेता मानबहादुर रावत मृतकका भाइ भएको र उनले प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पावर देखाउँदै पटकपटक ड्युटीमा भएका चिकित्सक र नर्सलाई टर्चर गर्ने गरेको गुनासो चिकित्सकहरुले गरेका छन्।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले गम्भीर संक्रमितको संख्या बढेको छ। अस्पतालको आइसीयू र भेन्टिलेटरमा भर्ना भएका निकै कम संक्रमित मात्र निको भएको चिकित्सकहरुले पटकपटक बताउँदै आएका छन्।
भेरी अस्पतालका मेसु थापाले भने, ‘पछिल्लो पटक आइसीयू र भेन्टिलेटरमा भर्ना भएका बिरामीको रिकभरी रेट निकै कम छ। ती बिरामीको अवस्था पनि निकै क्रिटिकल थियो। अस्पतालमा भर्ना भएका बिरामीलाई निको बनाएर पठाउने हाम्रो एकमात्र उद्देश्य हुन्छ। पछिल्लो समय जटिल छ। यस्तो हरेक मृत्युसँगै हातपात हुन्छ भने काम गर्ने अवस्था कसरी रहन्छरु’
पटकपटक यस्ता घटना भइरहेको भन्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनमा जेल विथ आउट बेलको व्यवस्था लागू गर्न मागसमेत हुँदै आएको छ। यो ऐन आवश्यक भएको भन्दै मन्त्रिपरिषद्मा प्रस्ताव पुगेपनि अहिलेसम्म कुनै निर्णय भएको छैन।
यो व्यवस्था लागू भएको अवस्थामा स्वास्थ्यसंस्था एवं स्वास्थ्यकर्मीमाथि उपचारसम्बन्धी विषयमा आक्रमण भएमा पहिला हिरासतमा राखेर बल्ल कानूनी कारवाही सुरु हुने व्यवस्था हुन्छ। तर, पछिल्लो समय यस्ता भौतिक आक्रमणमा उत्रने व्यक्तिहरुमाथि कुनै कारवाही हुने गरेको छैन। जसका कारण यस्ता घटना बढिरहेका छन्।