केही दिन अघिको कुरा हो। बिहानै इटहरीका एक जना कोरोना संक्रमित श्वासप्रश्वासमा समस्या भयो। उनको शरीरमा अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम हुन थाल्यो।
कोभिड अस्पतालहरु कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल अस्पताल र विराट टिचिङ्ग अस्पतालमा फोन गरे। तर यी सबै अस्पतालबाट एउटै उत्तर आयो, अहिले शय्या खाली छैन।
त्यसपछि इटहरी अस्पतालको एम्बुलेन्सको अक्सिजन लगाउँदै इटहरी आइसोलेसनमा अक्सिजन दिँदै भाइटल्स मोनिटर गरौँ भने। ती बिरामीलाई इटहरी आइसोलेसनमा केही घण्टा राखेपछि विराट टिचिङ्ग अस्पतालमा रेफर गर्यौँ।
मैले यो बिरामीको लागि फोनमा गरिरहेको कुराकानी छोरी साइराले ध्यानपूर्वक सुनिरहेकी थिइन्। त्यसपछि छोरी साइराले एकाएक प्रश्न गरिन्, ‘बाबा हजुरलाई कोरोना भए बेड कहाँ पाउँछ?’
छोरीको कलिलो मस्तिष्क र उनले गरेका प्रश्नले म एक छिन अड्किए। अनि सम्झाउँदै भने, ‘म माक्स, सेनिटाइजर लगाउँछु मलाई कोरोना हुन्न।’ मैले यति भन्दै छोरीलाई फिक्का ढाडस दिए।
छोरीको जिज्ञासा यतिमै सकिएको थिएन। उनले फेरी थपिन्, ‘देशको मान्छेलाई त केही हुन्न होला नि बाबा.....।’
मन मनै पेशा नै स्वास्थ्यकर्मी भएपछि जति रोके नि एक न एक दिन त लागि हाल्छ नि भन्दै छोरीलाई भने, ‘होनी मलाई कोरोना लाग्दैन।’
उनले मन्त्री, सरकारी कर्मचारीहरु र अस्पतालमा काम गर्नेहरुलाई देशको मान्छे भनेर बुझ्छिन्। केही समयपछि अस्पताल निस्कने बेला भयो। उनले सदा झैँ बाई बाबा भन्दै चाँडै घर आइसोस हई। अनि घर आउँदा कोरोना नलिई आइसोस नि भनिन्।
अस्पताल जाँदा बाटोमा कोभिड संक्रमितको लागि शय्या नपाएको र छोरीसँगको त्यो संवादले मन निकै भावुक र गम्भीर बनायो। यो एउटा संयोग मात्र नभई अहिलेको यथार्थ पनि हो। यो घटनाले मलाई पेशागत हकहितको लागि स्वास्थ्य सेवा प्रदायकहरुको सुरक्षा र उपचार सम्बन्धी केही लेख्न उत्पे्ररित गर्यो।
हाल कोभिड १९ संक्रमणको दर बढ्दो छ। कोरोना भाइरसको म्युटेशनले संसार आक्रान्त छ। अस्पतालमा शय्या नपाएर बिरामी र आफन्त छटपटाइरहेका छन्। हुन त यो समय भनेको संक्रामक रोगको महामारी फैलिएको समय हो। यस्ता बेला मौजुदा श्रोत र साधनको कमी हुनु स्वाभाविक पनि हो। तर हाम्रो पूर्व तयारी, व्यवस्थापन र श्रोत परिचालनको तालमेल पूर्ण रुपमा हुन सकिरहेको छैन।
अहिले दिन रात कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण, व्यवस्थापन र उपचारमा खटिने स्वास्थ्यकर्मीहरु, चिकित्सकहरु, नर्सहरुकै लागि पनि आइसीयू शय्या र भेन्टिलेटर नपाएर अकालमै ज्यान गुमाउनु परेको समाचारहरु आइरहेका छन्। कार्य क्षेत्रमा पर्याप्त स्वास्थ्य सुरक्षा उपलव्ध छैन। कोभिड पोजेटिभहरुसँग प्रत्यक्ष सम्पर्कमा काम गरेपछि पनि केही अस्पतालमा क्वाटरको सुविधा र आइसोलेसनको व्यवस्था छैन। यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुले कसरी मनोबल उच्च राखेर काम गर्न सक्छन् ?
सम्बन्धित स्थानीय, प्रदेश र केन्द्र सरकारहरुले समयमा नै ध्यान पुर्याउनु जरुरी छ। कोभिड १९ संक्रमणको लहरले कहिले सम्म निरन्तरता पाउने र यसले जनधनको कति क्षति गर्ला अहिले नै भन्न सकिने अवस्था छैन।
त्यसैले स्वास्थ्यकर्मीहरुको सुरक्षा र उपचार व्यवस्थाको सुनिश्चितता सरकारले गर्नुपर्छ। हुन त स्वास्थ्य सेवा प्रदायकहरुको मुख्य काम नै मानवीय स्वास्थ्य सेवा भएकोले जस्तोसुकै असहज परिस्थिति भए पनि निरन्तर स्वास्थ्य सेवा दिएका छन्। आफ्नो सेवा सुविधाभन्दा पनि बिरामीको सेवा पहिलो प्राथमिकतामा पर्छ। तर स्वास्थ्य सेवा प्रदायकहरुको सुरक्षालाई पहिलो शर्तमा राखिएन भने कोभिड १९ जस्तै मानवीय अस्तित्वलार्ई संकटमा पार्ने महामारीहरु प्रति जुध्न निश्चित रुपमा असफल हुने अवस्था छ।
सामान्यतया मानव श्रोत, औषधि उपकरण, आर्थिक श्रोत, नेतृत्व तथा सुशासन, सूचना प्रणाली र स्वास्थ्य पूर्वाधार स्वास्थ्य प्रणालीाका स्तम्भहरुमध्ये मानव संसाधन सबैभन्दा महत्वपूर्ण हुन्छन्। कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण, व्यवस्थापन र उपचारमा स्वदेश तथा विदेशवाट औजार उपकरण अक्सिजन सिलिण्डर, कन्सन्टेट्रेटर, पीपीइ र माक्स त सहयोग प्राप्त हुन सक्छ तर स्मरण रहोस् स्वास्थ्य जनशक्ति सहयोगमा प्राप्त नहुन सक्छ।
भएका स्वास्थ्य जनशक्तिलाई सुरक्षित रुपमा परिचालन गरेर महामारीलाई जित्नुपर्छ। किनभने स्वास्थ्य सेवा प्रवाहको लागि स्वास्थ्य जनशक्ति पहिलो शर्त हो। अतः कोभिड १९ संक्रमणको महामारी व्यवस्थापन र उपचारमा जिन्दगी र परिवारको प्रवाह नगरी दिन रात मानव स्वास्थ्य सेवामा खटिने क्रममा संक्रमित भए पूर्ण रुपमा उपचारको लागि छुट्टै केन्द्र र प्रदेशस्तरमा स्वास्थ्यकर्मीको लागि डेडिकेटेट कोभिड अस्पताल तत्काल तयार गरी सञ्चालनमा ल्याउन आवश्यक छ।
संघीय सरकारले देशभरी कुनै पनि स्थानको स्वास्थ्यकर्मीलाई कोभिड १९ संक्रमण भई हाई केयर आवश्यक भए तत्काल एयर एम्बुलेन्सबाट उक्त कोभिड डेडिकेटेट अस्पतालमा लगेर उपचारको व्यवस्था मिलाउन जरुरी छ। अहिलेको समयमा स्वास्थ्य सेवा प्रदायकहरु भनेका युद्धमा खटिएका सिपाहीहरु जस्तै हुन्। सबैलाई बचाउन राज्यको दायित्व हुन जान्छ।
एक जना निम्न तहदेखि उच्च तहको स्वास्थ्यकर्मी÷चिकित्सक उत्पादन गर्न सामान्यतया कम्तीमा १५ महिनादेखि ११ वर्ष समय लाग्छ। अकालमा स्वास्थ्य जनशक्ति गुमाउँदा हाम्रो जस्तो विकाशोन्मुख देशमा निकै क्षति पुग्ने निश्चित प्राय छ।
यसर्थ पनि कोभिड १९ रोगको महामारी नियन्त्रणका लागि दीर्घकालीन रणनीति बनाउन जरुरी छ। जनस्वास्थ्यका गतिविधिहरु र क्लिनिकल सेवालाई सँगसँगै व्यवस्थापन गर्न आवश्यक छ।
अन्त्यमा भन्नुपर्दा अहिले नै देशको विकासे बजेट काटेर सबै श्रोत र साधनलाई एकीकृत रुपमा स्वास्थ्यमा परिचालन गर्नुपर्छ। अहिले नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गरेर दीर्घकालीन परिवर्तन ल्याउने बेला पनि हो। सरकारले कोभिड १९ संक्रमणलाई चुनौती मात्र होइन अवसरको रुपमा पनि लिन सक्नुपर्छ।
(धमला इटहरी अस्पतालको ईमरजेन्सी प्रमुख तथा इटहरी उपमहानगरपालिकाको होम आइसोलेसन सपोट टिम संयोजक हुन्।)