'साहसीको एक मात्र चाहना,सफलताको प्रतिक... जस्ता उत्तेजित विज्ञापनले आममानिसलाई यो खाए पछि साहस आउँछ भन्ने गलत सन्देश प्रवाह भएको छ। साथी संगत, चिन्ता, फ्रस्टेसन, फेसन आदिका कारण यो धूम्रपान अझ बढी युवामाझ फस्टाएको छ।
विश्वमा धूम्रपान ठूलो समस्या एवं चुनौती भइरहँदा पनि यसको प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। विशेषत: एकछिनको आनन्द मिल्ने, आफूलाई अहम् हुन आवश्यक ठान्ने हुँदा युवा वर्गमा झन् यसले ठूलो प्रभाव पारेको देख्न सकिन्छ। धूम्रपान एक किसिमको दुर्व्यसनी लत हो, जसले विभिन्न खालका रोगहरु निम्त्याउने गर्दछ। चुरोट बिँडी, कक्कड, हुक्का, सुर्तीजन्य पदार्थ विभिन्न नाम दिए पनि यसको मुख्य काम धूम्रपान एवं धुँवा नै निकाल्नु हो।
'विश्व तम्बाकू निषेध दिवस' अथवा 'अन्तर्राष्ट्रिय धूम्रपान विरुद्धको दिवस' (World No Tobacco day) प्रत्येक वर्ष ३१ मे का दिन मनाउने गरिन्छ। तम्बाकु, धूम्रपानबाट हुने नोक्सान, असरको अवस्था देखेर १९८७ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सदस्य देशहरुले एक प्रस्ताव पारित गर्यो। जसद्वारा ७ अप्रिल, १९८७ को दिन यस दिवस मनाउने फैसला भयो। तर, यसपछि हरेक ३१ मेको दिन धूम्रपान निषेध दिवस मनाउन थालियो।
धूम्रपानको प्रयोगका असर, हानि र खतराका बारेमा विश्व जनमानसमा अवगत गराउँदै यसको उत्पादन, खरिद, विज्ञापन एवं सेवनको कम कसरी गर्न सकिन्छ त्यो दिशामा आधारभूत कारबाही, जवाफदेही गर्न यस्ता खालका दिवसहरु वर्षेनि गर्दै जनचेतना जगाउन थालियो।
सुर्तीजन्य पदार्थमा करिब ४ हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरु पाइने गर्दछ। जसमध्ये २ सय देखि ४ सयसम्म साह्रै हानिकारक रसायनहरु हुन्छन्। सुर्तीजन्य पदार्थमा करिब ६० थरीका प्राणघातक क्यान्सर गराउने तत्वहरु हुन्छन्। जसलाई क्यान्सरको कारक तत्व पनि मानिन्छ। खासगरी सुर्तीमा खोटो र कार्बन मनोअक्साइड जस्ता प्राणघातक रसायनहरु पाइन्छन् भने निकोटिन जस्तो धूम्रपानको लत लगाउने तत्व पनि पाइने गर्दछ। करिब ८७५ फोक्सोको क्यान्सरको एकमात्र कारण धूम्रपान हुने गरेको छ।
सुर्तीजन्य पदार्थको सन्दर्भ यसको असरबारे (डब्लुएचओ)ले भनेको छ- सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्दछन्। विश्वमा धूम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ। विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसहरुको मृत्यु हुन्छ। जसमध्ये ६ लाखको अरुले सेवन गरेको असरले मृत्यु हुने गरेको छ। यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसहरुको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिवेदन अनुसार सन् २०३० सम्म प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ। जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरुका मात्र हुनेछन्।
नेपालमा पनि प्रतिवर्ष १५ हजार व्यक्तिहरुको सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भइरहेको छ। (डब्लुएचओ) का अनुसार नेपालमा ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाहरु धूम्रपान गर्दछन्। संसारमा १ अर्बभन्दा धेरै मानिस सूर्तिजन्य पदार्थको सेवन गर्दछन्।
संसारका बालबालिकामध्ये आधाले सुर्तीको धुँवाको असरले प्रदूषित हावामा श्ववास फेर्दछन्। विश्वमा हरेक १० जना वयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन्छ। हालको जस्तै अवस्था रहेमा २१औं शताब्दीमा १ अर्ब मानिसको मृत्यु हुनेछ ।सन् २०३० देखि हरेक वर्ष ८० लाख भन्दा धेरै मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुनेछ। यसमध्येका ८०५ मानिस नेपाल जस्तो विकासशील देशका हुनेछन्।
धूम्रपानले मुख, घाँटी र फोक्सोको क्यान्सर
स्तनको क्यान्सर, छाला चाउरी पर्ने, श्रवणशक्ति कमजोर हुने, दाँत बिग्रने, दम बढ्ने, खोकी लाग्ने, मुटु, कलेजो सम्बन्धी रोगहरु लाग्ने रक्तचाप बढाउने, पेट र आन्द्रामा अल्सर हुने जस्तो खालका रोगहरू ध्रूमपानका कारण लाग्ने गर्दछन् ।
धूम्रपान हानिकारक छ। यो थाहा पाउन या याद रहनका लागि अनेक सन्देश, विज्ञापन सधै हाम्रोसामू आउने-जाने गर्दछ। चुरोटको बट्टामा मोटो मोटो अक्षरमा चेतावनी लेखेको हुन्छ। टिभी र फिल्ममा डराउने चित्र, सन्देश आउने गर्दछ। टिभीको हरेक कार्यक्रमको स्क्रीनमा कहीँ चुरोट खाएको दृश्य आयो भने तुरुन्त तल सन्देश आउँछ कि धूम्रपान र तम्बाकूले क्यान्सर हुन्छ। “Smoking/ tobacco kills.” या “Smoking is injurious to health. It causes cancer”, आदि।
यसका साथै सार्वजनिक स्थलमा धूम्रपान निषेध छ। होटलमा, हवाईजहाजमा, अफिस, अस्पताल अनेक ठाउँमा धूम्रपान गर्न मनाही छ। र, धूम्रपान गर्यो भने फाइन (जरिवाना) गर्ने गरिन्छ। ठाउँ-ठाउँमा निषेधको सूचना राखेर याद दिलाए पनि धूम्रपान गर्न छाडेको देखिन्न। धूम्रपान गर्नेलाई त नोक्कासन छ नै ध्रूमपान गर्ने व्यक्तिको आस-पासलाई पनि नोक्सान हुन्छ।
धूम्रपान छाड्नका लागि अनेक उपाय अपनाए पनि सहज छोड्न गाह्रो हुने हुन्छ। समयको पालन गर्ने वा सूची तयार पार्ने, चुरोट खाने बेला ल्वाङ, सुकमेल जस्तो चपाउने, व्यायाम गर्ने अलिअलि कम गरी खाने, भरसक व्यस्त रहने गर्दैगर्दा पनि विस्तारै कम गर्न सकिन्छ। ठूला ठुला होडिङ बोर्ड, व्यापक प्रचार-प्रसार, स्वास्थ्य शिक्षा, ऱ्याली जस्ता क्रियाकलाप गरेर जनचेतना जगाएर धूम्रपानलाई नियन्त्रण गर्न सकिन्छ।
एक दिनको नारा, गोष्ठी, सेमिनारले मात्र धूम्रपानलाई निर्मूल पार्न सकिँदैन। तसर्थ, हामी यो नभूलौं कि आज हामीले चुरोट सल्काएर खरानी बनाएका छौं भोलि त्यही चुरोटले हामीलाई खरानी बनाउने छ। चेतना भया।