काठमाडौं- सरकारले खोप भण्डारण निर्माण र पुरानाको मर्मतसम्भार एक वर्ष बितिसक्दा पनि गर्न नसक्दा प्रदेशमा खोप भण्डारणमा समस्या हुने देखिएको छ।
गत वर्ष कोरोना भाइरसको संक्रमण देखिपछि सरकारले नयाँ भण्डारण केन्द्र र पुरानाको मर्मत गर्ने निर्णय गरेको थियो। तर अहिलेसम्म पनि उक्त निर्णय अनुसारको काम हुन सकेको छैन। जसका कारण कोभिड विरुद्धको खोप भण्डारणमा समस्या हुने देखिएको हो।
प्रदेशमा मात्र होइन एकै पटक धेरै मात्रामा खोप आएमा केन्द्रीय खोप भण्डारण केन्द्रमा नै भण्डारणमा समस्या हुने कर्मचारीको भनाई छ।
पहिलो लहरको कोरोना संक्रमणमा कमी आएपछि कोल्ड रुम बनाउने तदारुकतामा पनि कमी आएको कर्मचारीको टिप्पणी छ।
गत हप्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अबको १० दिनमा खोप खरिदमा बे्रक थ्रू हुने बताएका थिए। उनले चीन, रसिया, अमेरिकालगायतका देशसँग एक करोड डोज खोप खरिदका लागि पहल भइरहेको जानकारी दिएका थिए।
यद्यपी ती विषयमा खरिदका अन्य प्रक्रिया भने अगाडी बढेको छैन। उनकै भनाई अनुसार १० दिन भन्दा केही बढी समय लागेपनि ती खोप आयो भने भण्डारणमा भने समस्या हुने देखिन्छ।
खोप खरिदका लागि विभिन्न पहल गरिरहेको सरकारले खोप ल्याएर राख्ने ठाउँबारे भने चासो दिएको छैन।
‘कोल्ड रुम बनाउने विषयमा वास्ता नगर्दा अहिले एकैपटक ठूलो परिणाममा खोप आएमा भण्डारणको समस्या हुने अवस्था देखिएको छ। खोप अनुसार भण्डारणमा फरक पर्छ,’ आपूर्ति व्यवस्था शाखाका फार्मेसी अधिकृत बढेबाबु थापा भन्छन्,‘खोप अनुसार भण्डारणमा फरक पर्ने रहेछ। कुन खोप आउँछ भन्ने कुराले खोप भण्डारणका लागि क्षमता पुग्छ पुग्दैन भन्नेबारे भन्न सकिन्छ। चीनको अहिले नै आएको खोप खरिद गरेर धेरै आयो भने चाँही समस्या पर्छ। यो खोपको भोल्युम ठूलो छ।’
नेपालको भौतिक संरचना २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्न खालको छ। त्यसैले सरकारले भण्डार र ल्याउन समेत सहज भएकाले भारतबाटै पहिलो चरणमा खोप खरिद गरेको थियो। भने सोही तापक्रममा राख्ने मिल्ने खोप भारत र चीनले अनुदानमा पनि दिएको थियो।
‘राजधानी बाहिर रहेका खोप भण्डार केन्द्रहरु भनेको समयमा मर्मत हुन सकेनन्। अहिले १० लाख डोज खोप आउँदा भण्डारणमा चापाचाप भयो। राजधानी बाहिरका कोल्ड चेनको मर्मत हुन नसक्दा र बनाउने भनिएका भण्डारण केन्द्र नबन्दा थप खोप भण्डारणमा समस्या हुन्छ,’ व्यवस्थापन महाशाखाका एक कर्मचारीले भने।
अहिलेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको कोल्ड रुम मात्र मर्मतभएको छ। चीनबाट मंगलबार आएकोमध्ये करिब साढे चार लाख खोप त्यहाँ भण्डारण गरिएको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले केन्द्रीय भ्याक्सिन स्टोर, एयरपोर्ट र बाराको पथलैयामा रहेको कोल्ड रुपमा भण्डारण गर्न सकिने र बाँकी खोप रेफ्रिजेरेटर भ्यानमा भण्डारण गर्ने बताए। उनले तत्काल थोरै संख्यामा खोप आएकाले समस्या नभएको बताए।
ढुंगानाको भनाईप्रति उनैकै महाशाखाका कर्मचारी भने सहमत छैनन्।
‘कोल्ड रुम अझै बनेन। अहिलेपनि एयरपोर्ट र राजश्व अनुसन्धानकले लिलाम गरेको मासु, तरकारी बोक्ने कन्टेनरमा राख्ने तयारी छ,’ व्यवस्थापन महाशाखाका एक कर्मचारी भन्छन्, ‘दश लाख खोप आउँदा काठमाडौँका कोल्ड स्टोर भरिएका छन्। केही गरी समयमा ५० लाख डोज खोप आइहाले हालको भण्डारण क्षमताले धान्दैन। हालसम्म प्रदेश स्तरमा बनाउनुपर्ने कोल्ड रुपमा पनि बनेको छैन।’
गत माघ महिनामा स्वास्थ्यखबरले खोप भण्डारण क्षमता बारे रिर्पोटिङ गर्दा व्यवस्थापन महाशाखाले २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५०० र ३ हजार ७५० लिटर भण्डारण क्षमता भएको कोल्ड रुम भएको जानकारी दिएको थियो।
महाशाखाका अनुसार उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको छ।
त्यसैगरी, विराटनगरमा रहेको ३ वटा कोल्ड रुममध्ये एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ। उक्त कोल्ड रुममा २ हजार २५० लिटर क्षमता रहेको छ। जसमा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको थियो।
व्यवस्थापन महाशाखाका अनुसार पथलैया, बारामा रहेको भ्याक्सिन स्टोरमा रहेका ३ वटा भ्याक्सिन स्टोर छ। तीनमध्ये २ वटा कोल्ड रुममा ३ हजार ७५० लिटर भण्डारण क्षमता रहेको छ। त्यहाँ प्रति रुममा १४ लाख ३६ हजार ७०० डोज भण्डारण क्षमता छ। भने ७ हजार ५०० लिटर क्षमता भएको तेस्रो रुममा २८ लाख ७३ हजार ५०० डोज भ्याक्सिन भण्डारण क्षमता छ। त्यहाँबाट विराटनगर, हेटौंडा र प्रदेश २ लाई समेट्ने महाशाखाले बताउँदै आएको छ।
पथलैयामा रहेको कोल्ड रुम बिग्रिएर सञ्चालनमा आएको थिएन। गत माघमा खोप आउने भएपछि काठमाडौैंबाट पठाइएका प्राविधिकहरुले उक्त स्टोर मर्मत गरिसकेको आपूर्ति महाशाखा प्रमुख दुंगानाले जानकारी दिए।
पोखरा, बुटवल र धनगढीमा एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ। २ हजार २५० लिटर क्षमता भएको उक्त रुममा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण गर्न मिल्छ।
नेपालगञ्ज र सुर्खेतमा ३ हजार ७५० लिटर क्षमता भएको कोल्ड रुम तयार गरिएको छ। जहाँ १४ लाख ३६ हजार ७०० डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको छ।
बनेनन् नयाँ खोप भण्डारण केन्द्र
सरकारले अघिल्लो वर्ष नै सातै प्रदेशमा बनाउने भनिएको १० हजार लिटर नेट क्षमताको कोल्ड भण्डारण केन्द्र समेत बन्न सकेको छैन। सरकारले टेकु, विराटनगर, जनकपुर, पथलैया, पोखरा, बुटवल, सुर्खेत र धनगडीमा १० हजार लिटर क्षमताको खोप भण्डारण केन्द्र बनाउने भनेको थियो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्था शाखाका फार्मेसी अधिकृत बढेबाबु थापाले जनकपुर, हेटौँडा र पोखरामा नयाँ कोल्ड रुमको लागि जग्गा व्यवस्थापन भइसकेको भएपनि अन्य ठाउँमा खोजी कार्य भइरहेको आफुले जानकारी पाएको बताए।
उनले भने,‘हाम्रा पुराना खोप भण्डारण केन्द्रलाई मर्मत गरिएको पनि छ। अबको डेढ महिनाभित्र नयाँ कोल्डरुमहरु इन्स्टल हुन्छ भन्ने छ। कतिपय प्रदेशमा जग्गाको टुगो लागेको छैन। टुंगो लागेका स्थानमा बजेट पठाइसकिएको छ।’
प्रदेशमा बनाउने भनिएका खोप भण्डारण केन्द्र समयमा बन्न नसक्नुलाई प्रदेश सरकारको बेवास्ता मानिएको छ।
प्रदेशले आफ्नो प्रदेशमा कोल्ड रुपमा बनाउन जग्गाको टुंगो लगाउन नसक्नु, समयमा निर्माण सम्पन्न गर्न अग्रसरता नदेखाउनुले एक वर्ष बित्न लाग्दा समेत कोल्ड रुप बन्न नसकेको कर्मचारीको टिप्पणी छ।
‘केन्द्रले बजेट दिने भनेको छ। प्रदेशले समयमा जग्गाको त टुंगो लगाउनुपर्यो नि। स्वास्थ्यको जिम्मेवारी बहन गर्न कोभिड महामारीमा प्रदेशको भूमिका निकै निराशापूर्ण रहेको छ,’ एक कर्मचारी भन्छन्।