विश्वव्यापी रुपमा फैलिएको कोरोनाले विश्वका अधिकांश देशहरुलाईआक्रान्त बनाएको छ। यस महामारीले विश्वका धनी राष्ट्रहरूका साथै अधिकांश गरिब राष्ट्रहरूलाई त झन बढी प्रभाव पारेको छ। धनी राष्ट्रहरुले खोप उत्पादन गरेर खोपको प्रयोग बाट कोरोनाको दोस्रो लहरलाई राम्रोसँग व्यवस्थापन गरिरहेका छन् भने नेपालजस्ता विकासोन्मुख देशहरुलाई दोस्रो लहरले झन् आक्रान्त बनाइदिएको छ। भारत लगायत विश्वका अन्य गरिब मुलुकहरूले खोपलाई समयमा नै सुनिश्चित गर्न नसकेका कारणले ठूलो धनजनको क्षति व्यहोर्नु परिरहेको छ।
कोरोना भाइरसको संरचनामा आएको परिवर्तनले नयाँ भेरियन्टहरु उत्पन्न भएका छन् र मेडिकल विज्ञानलाई अझ चुनौती दिइरहेको छ। गत वर्ष जिल्ला र पालिका स्तरमा क्वारेन्टाइन केन्द्र र संस्थागत आइसोलेसन केन्द्रहरु स्थापना भएका थिए र कोरोनाबाट संक्रमित व्यक्तिहरुलाई जिल्ला तथा पालिका स्तरमानै पहिचान गरि रोग रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाइएको थियो। समुदायस्तरमा फैलिन दिइएको थिएन। यो वर्ष कोरोनाले आफ्नो परिवर्तित संरचनासहित गाउँ गाँउ र समुदायस्तरमानै फैलिरहेको छ।
समुदायस्तरमा फैलिएको कोरोनालाई कसरी नियन्त्रणमा ल्याउने त?
१. अधिकांश पालिकाहरुका वडाहरुमा स्वास्थ्य चौकीहरु रहेका छन्। कतिपय वडाहरुमा सामुदायिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रहरु र शहरी स्वास्थ्य केन्द्रहरु पनि रहेका छन्। सबै स्वास्थ्य संस्थाहरुलाई सक्रिय रुपमा सञ्चालनमा ल्याउनु पदर्छ।साथै कार्यरत स्वास्थ्यकर्मीहरुले सम्भावित कोरोनाबाट संक्रमित बिरामीलाई समयमा नै पहिचान गरि उपचारका साथ साथै परिवारबाट अलग बस्ने व्यवस्था मिलाई पिसिआर परीक्षणका लागि ताकेता गर्नु पर्दछ।
२. सबै वडाहरुले आ-आफ्नो वडाहरुमा विपद व्यवस्थापन समिति गठन गर्नु पर्दछ। साथै जनप्रतिनिधि, टोल सुधार समितिका संयोजकहरु, स्वयंसेवकहरु र समुदायमा अवस्थित अन्य जिवित संघसंस्था समुह कल्बहरुलाई सक्रिय बनाउने र आफ्नो समुदायमा रहेका कोरोनाका जस्तै लक्षण भएका बिरामीहरुको पहिचान गरी स्वास्थ्य संस्थालाई रिपोर्टिङ गर्नुपर्दछ।
३. समुदायमा बसोबास गर्ने आम नागरिकहरू आफ्नो घरको कुनै सदस्य समुदायभन्दा बाहिरबाट आएको भएमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनु पर्दछ। सो अवधिमा लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थालाई खबर गरि उपचार लिनु पर्दछ। साथै रोग लुकाउने, आफूखुसी औषधि किनेर खाने, स्वास्थ्य मापदण्डको पालामा नगर्ने जस्ता गतिविधिहरु गर्नुहुँदैन। यो किन भनिएको हो भने आफू त संक्रमित हुने सम्भावना रहन्छ नै साथै परिवारका अन्य सदस्यहरुलाई पनि रोग सर्ने सम्भावना रहन्छ। र कुनै परिवारका सदस्यहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा यदी संक्रमण भएमा जटिल अवस्था सिर्जना गर्न सक्दछ। घरमा दुर्घटना हुने सम्भावना बढी रहन्छ त्यसकारण समयमा नै स्वास्थ्य संस्थालाई सूचना दिने, पिसिआर परिक्षण गराउने र तुरुन्तै उपचार गरिहाल्ने र सभ्य नागरिकको पहिचान दिनु पर्दछ।
४. समुदायस्तरमा कोरोना फैलिरहेको अवस्थामा स्वास्थ्य संस्थाहरुमा अन्य बिरामीहरु र शंकास्पद कोरोनाका बिरामीहरु पनि उपचारका लागि नआउने सम्भावना बढिरहने भएकाले उक्त समयलाई स्वास्थ्यकर्मीहरुले अवसरको रुपमा सदुपयोग गर्नु पर्दछ।स्थानीय स्वास्थ्यकर्मीको संख्या बराबर वडालाई विभिन्न ब्लकमा विभाजन गरी स्वास्थ्यकर्मीहरुले पालैपालो आफ्नो निर्धारित क्षेत्रमा आफु र स्थानीय स्वंयसेवकको सुरक्षालाई प्राथमिकतामा राख्दै सबै सुरक्षाका मापदण्डहरु पुरा गरी स्थानीय स्वयंसेवक सहित कोरोनाका शंकास्पद विरामीहरुलाई खोज्न तथा रोग पहिचान गर्न घरदैलो कार्यक्रमलाई एकदिन बिराएर तीव्रता दिनु पर्दछ।
५. घरदैलो कार्यक्रमका दौरानमा भेटिएका शंकास्पद कोरोना र उस्तै लक्षण भएका बिरामीहरुलाई शीघ्र रिपोटिङ गरी पिसिआरको दायरामा ल्याउने, कन्ट्याक ट्रेसिङ गर्ने र आवश्यक प्राथमिक उपचार घर दैलो कार्यक्रमका दौरानमानै गर्ने र त्यसको लगत राख्नु पर्दछ।
६. पिसिआर परीक्षण पश्चात नतिजा पोजिटिभ आएका कोरोना बिरामीहरुलाई परिवार बाट अलग बस्ने व्यवस्था सहित (होम आइसोलेसन) घरमा नै उपचारको प्याकेज बनाउनु पर्दछ। उपचार प्याकेजमा आवश्यक औषधिहरु, १०-१५ वटा सर्जिकल मास्क, सेनिटाईजर, डिजिटल थर्ममिटर, सके पल्स अक्सिमिटर (पछि फिर्ता गर्ने गरी) बिरामीहरुलाई प्याकेजको रुपमा विपद व्यवस्थापन समितिले व्यवस्था गर्न सक्नु पर्दछ।
७.स्थानीय वडामा उपचार हुन नसकेका साथै जटिल किसिमका बिरामीहरुलाई र अक्सिजनको मात्रा घटदै गई रहेका कोरोना संक्रमित बिरामीहरुलाई तत्काल उपचार हुने अस्पतालमा रेफर गर्न एम्बुलेन्सको सुनिश्चित पहिलानै गर्नु पर्दछ।
८.संस्थागत आइसोलेसन केन्द्र र अस्पतालहरुमा बेड र अक्सिजनको अभाव हुन सक्ने अवश्यालाई ध्यानमा राखी वडा विपद व्यवस्थापन समितीले अक्सिजन कन्सन्ट्रेटर वा अक्सिजन सिलिन्डरलाई वडामा नै तयारी अवश्थामा राख्ने र स्वास्थ्यकर्मीले नियमित चिकित्सकको सर्म्पकमा रहि आवश्यक पर्ने बिरामीलाई अक्सिजनद्वारा उपचार सेवा सुरु गर्नु पर्दछ।
९. विपद व्यवस्थापन समितिले वडामा रहेका हाल काम नगरी बसेका जनशक्ती जस्तै स्वास्थ्यकर्मी, नर्स तथा चिकित्सकहरु र अन्य उपयोगी प्राविधिक जनशक्तिहरु वडामा भएमा स्वंय सेवकको रूपमा सामान्य भत्ता वा नसके खाजाको व्यवस्था गरि जिम्मेवारी सहित कार्यतालिका बनाई सबै सुरक्षाका मापदण्डहरुका सामानहरु उपलब्ध गराई परिचालित हुन अनुरोध गर्नु पर्दछ।
१०. विपद व्यवस्थापन समितिले आफ्नो वडालाई आवस्यक पर्ने सुरक्षा मापदण्डका सामानहरु मास्क, सेनिटाइजर, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने गाउन, पिपिइ सेट, फोस शिल्ड, साबुन तथा उपचारका लागी चाहिने औषधिहरू व्यवस्था गरि दिनु पर्दछ।
११. विपद व्यवस्थापन समितिले सरकारको मात्र मुख नताकेर विभिन्न संघसंस्था, समूह, क्लब, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई सहयोगका लागि अपिल गर्नुपर्दछ।
१२. विपद व्यवस्थापन समितिले विपद व्यवस्थापन कार्यविधि बनाई विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी संस्थाहरुबाट प्राप्त सहयोगलाई विपद व्यवस्थापन समितिको खातामा राख्ने र त्यसको आय व्ययको विवरण र हिसाब कितबलाई दुरुस्त रुपमा राखी सही ठाँउमा सदुपयोग गर्नुपर्दछ।
१३. विपद व्यवस्थापन समितिले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न स्वास्थ्य शिक्षाका सामग्रीहरूका साथै आवश्यकताअनुसार माइकिङ गर्ने आम नागरिकहरुलाई सूसूचित गर्न सामाजिक सञ्जालहरूको प्रयोग गर्ने महामारीका बेलामा भ्रम फैलाउने व्यक्तिहरुलाई नियन्त्रण गर्ने र संक्रमक ऐन अनुसार कार्वाहीको लागि सिफारिस गर्ने लगायतका गतिविधिहरु पनि गर्नुपर्दछ।
१४. निषेधाज्ञा एक अस्थायी रोग रोकथाम तथा नियन्त्रणको उपाय भएकाले आम नागरिकहरुले स्थायी रूपमा स्वयं यस रोगबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु कडाईका साथ पालना गर्नुका साथै सामाजिक दुरी कायम गरि काम गर्ने गर्नुपर्दछ।
१५. आम नागरिकले सरकारद्वारा उपलब्ध गरिएको कोरोनाविरुद्धको पूर्ण मात्राको भ्याक्सिन नडराइ लगाउनु पर्दछ।
१६. पालिकाहरुले स्थानीय रुपमा फैलिएको कोरोनालाई रोकथाम नियन्त्रण तथा व्यवस्थापन गर्न खटिएका स्थानीय स्वास्थ्यकर्मीलाई प्रोत्साहान स्वरूप जोखिम भत्ताको उपलब्ध गराउनु पर्दछ।
( नोटः माथीका सबै टिप्सहरु म कार्यरत वडामा कोरोना नियन्त्रण गर्न अपनाइएका कदम र अनुभवमा आधारित टिप्सहरू हुन् र हाल उक्त वडामा कोरोना नियन्त्रण पनि भएको छ)
(जन स्वास्थ्य निरिक्षक)