एक अधबैंसे महिला
उमेरले भर्खरै चालिस कटेकी
लखतरान भएर त्यो पचासी नम्बर बेडमा पल्टेको पनि महिनै भइसकेछ
हरेक चोटी ढोकाबाट छिर्दै गरेका हामी सेता बस्त्रधारी देखेर चल्बलाउन खोज्थिन्
क्यानुलाले छिद्र छिद्र परेर सुन्निएका हातहरुलाई सकी नसकी जोड्न खोज्थिन्
कति आशावादी भएर
उठ्न नसकेको शरीर
अनि बोल्न नसकेका ओठहरु लर्बराउन खोज्थे
उनी घरी मलाई हेर्थिन
घरी त्यो छिनछिनमा कराइ रहने मनिटर
अक्सिजनको माक्सले अनुहार भरी बनाएको घाउ हेर्दै घरी घरी छेउमा ठडिएको त्यो ठूलो सिलिन्डर हेर्थिन
ढुक्क हुन्थिन सायद यति भए त अब बाँचिन्छ सोज्दै
र त फुलेको स्वास पनि एकछिनको लागि शान्त भइदिन्थ्यो महिनौंको बसाईले सुधारोन्मुख हुँदै गएको उनको स्वास्थ,
हेरचाह गर्दा गर्दै बिरामी पर्दा पनि हरेस नखाएका श्रीमान,
आमा निको भएर घर आउने पर्खाइमा बसेका ति कलिला छोराछोरीको आशाहरु नजिकिदै गर्दा
छिट्टै घर जाने उनको मुहारको खुशी कति सहजै पढ्न सकिन्थ्यो
तर अचानक एकदिन फोक्सो असोन्तोषी भइदियो
मुटुले आराम गर्न खोज्यो
आँखा निदाउन खोजे सधैंको लागि
हतारिदै बोलाउन गएका ती काकाको बोली नसकिदै
लोड गर्दै गरेको औषधि त्यही छोडेर दौडेकी म
हतारिदै दौडाउन पुगे आँखा मनिटरमा
स्वास लिन नसकेर तड्पिरहेकी उनलाई
दिन सकिने सबै अक्सिजन दिँदा पनि
फोक्सोले विश्राम लिन खोज्यो
हर प्रयासले मुटु चलायमान गराउन कोशिस गरिरहेँ तर अपसोच महिनौदेखि बाच्नलाई संघर्क्ष गर्दागर्दा थाकिसकेको मुटु चल्न सकेन
फोक्सो फेरि फुल्न सकेन
हारिन उनले र हार्यो मेरो मेडिकल शिक्षा
त्यो झ्यालमा अडेस लागेर
श्रीमतिको ढुङ्गा बनिरहेको शरीर हेर्दै एकोहोरो बनिरहेका काका डेढ महिना यही बेडमा बसी
छोराछोरीको अगाडि एक्लो कसरी जाउ भन्दै भक्कानिँदै थिए
अक्सिजनको जोहो गर्न गएका भान्जा काँधमा एक सिलिन्डर बोकेर कोठा भित्र पुगेका
उनी त्यो कहिले नउठ्ने
पार्थिव शरीर सँग रुदै बिलौन गरिरहे
चल्न छोडेको मुटुको त्यो सिधा लाइनको इसिजी निकाल्दै गर्दा
उनी जस्तै महिनौदेखि अस्पताल रुँगिरहेकी
आमालाई सम्झिदै कति बेला आशु झार्न पुगेछु
पत्तो समेत नपाएकी म
हत्तपत्त कसैले नदेख्ने गरि पन्जा लगाएकै हातले आँखा ओभानो पार्दै
अव्यक्त भावहरुले
उनको आत्माको चिरशान्तिको कामना गरिरहे