झरी सुरु भइसकेको छ। झरीको मौसममा मलेरिया, डेंगु, डायरिया, टाइफाइड, रुघाखोकीलगायत रोग लाग्ने जोखिम बढी हुने भएकाले झरीमा स्वास्थ्यको अतिरिक्त ख्याल राख्नुपर्छ।
– उमालेको अथवा क्लोरिन हालेको पानी मात्र पिउनुपर्छ।
– ताजा फलफूल र तरकारी खानुपर्छ। सडेगलेको खानुहुँदैन।
– वर्षातपछिको समयमा धुलो उडिरहेको सडकछेउ राखिएको पसलबाट स्ट्रिट फुड खानुहुँदैन। पानी मिसाइने खाद्य पदार्थ त्यस्ता ठाउँमा विशेष गरी खानुहुँदैन।
– घरबाहिर निस्किँदा फोल्ड गर्न मिल्ने छाता झोलामा हाल्ने बानी बसाल्नुपर्छ।
– जुस लगायत पेय पदार्थमा हालिने बरफले रुघा लगाउन सक्ने भएकाले चिसो लागेको महसुस भएको वेला बरफ खानुहुँदैन।
– झरीमा डायरियालगायत हुने जोखिम बढी हुने भएकाले दिसापिसाब गरेपछि साबुनपानीले हात धुने गर्नुपर्छ।
– झरीका वेला जगिङ, साइक्लिङ, वर्काउटलगायत गर्न अप्ठ्यारो हुने भएकाले स्वास्थ्यलाई राम्रो बनाइराख्न योग गर्नुपर्छ। घरभित्रै व्यायाम गर्नुपर्छ।
– घरमै बसी–बसी पनि योग गर्न सकिने भएकाले झरीमा योग कसरतको सबैभन्दा सजिलो उपाय बन्न सक्छ।
- लामखुट्टे, भुसुना आदि घरभित्र नछिरून् भन्नका लागि साँझ पर्न लाग्दादेखि नै झ्यालढोका लगाउनुपर्छ।
– दिनमा तीनपटकभन्दा बढी पातलो दिसा भयो भने डायरिया लागेको हुन सक्छ। यस्तोमा मसलेदार खाना खान बन्द गर्नुपर्छ र जीवनजल पिउने गरिहाल्नुपर्छ।
- पानीमा भिज्ने वा भिजेका कपडा लगाएर बस्न हुँदैन।
– हनहनी ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने आदि भयो भने मलेरिया लागेको हुन सक्छ। यस्तो भइरह्यो भने जँचाइहाल्नुपर्छ।
– घाँटी खसखस भयो, श्वास फेर्न अप्ठ्यारो भयो, हाच्छिउँ आइरह्यो, रुखाखोकी लाग्यो, टाउको दुख्यो, ज्वरो आयो, मांसपेशी दुख्यो, पसिना आइरहने भयो अथवा थकान महसुस भइरहने भयो भने इन्फ्लुएन्जाको इनफेक्सन भएको हुन सक्छ। यस्तो इन्फेक्सन झरीमा लाग्ने र अरू मानिसमा फैलिने सम्भावना बढी हुन्छ। त्यही भएर यस्तो समस्या भएका मानिसले खोक्दा अथवा हाच्छिउँ गर्दा रुमाल अथवा टिस्यु पेपरले मुख छोप्नुपर्छ।