नेपालमा नागरिकका हकहितसँग सम्बन्धीत धेरै नीति, नियम तथा कानुनहरु निर्माण भएका छन्।यसमध्ये पनि महिला हकहितका सवालमा संविधानमा नै स्पष्ट व्यवस्था गरेको छ।महिला स्वास्थ्य सुरक्षाका सवालमा त झन् विषेशाधिकार प्रदान गर्ने गरि सुरक्षित मातृत्त्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ तथा सुरक्षित मातृत्त्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली, २०७७ निर्माण भई कार्यान्वयनको चरणमा छ।
तर के यसो भन्दै गर्दा यी र यस्त नीति, नियम, ऐन तथा नियमावलीहरुको अनुभुति गाँउगाँउका महिलाहरुले गर्न पाएका छन् त्? मलाइ सवाल यहाँबाट शुरु गर्नुपर्छ जस्तो लाग्छ...
समाजमा अहिले पनि विभेद कायमै छ। महिलालाई भएका विभिन्न रोगहरु पालेर घरव्यवहार सम्हालेर समाजको सानो एउटा कुनाभित्र सिमित रहेर बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर लाजधक मान्ने र आफूलाई लागेको रोगको बारेमा भन्न समेत डराउने कारणले महिलासँग सम्बन्धित रोगको विषय स्थानीयस्तरको स्वास्थ्यसम्म पनि आउन सकिरहेको अवस्था छैन।
हामीले एकातिर यी र यस्ता समस्याहरुलाई स्वास्थ्य संस्थासम्म आउने वातावरण तयार गर्नुपर्ने अवस्था देखिन्छ भने अर्कोतिर स्वास्थ्य संस्थासम्म आएका सेवाग्राही महिलालाई एकीकृत रुपमा प्रजनन् स्वास्थ्य सेवालाई आधारभुत स्वास्थ्य सेवाको प्याकेजभित्र राखेर सेवा प्रदान गर्ने वातावरण सृजना गर्नुपर्ने अवस्था देखिन्छ। किनकी महिला घरकी यस्ती खम्बा हुन् जुन आफ्नो स्वास्थ्यको समेत परवाह नगरी घरको नितान्त पारिवारिक जिम्मेवारीमा उनीहरुलाई समाजले रुमलिन बाध्य बनाएको छ । जसको कारणः-
• प्रत्येक महिलालाई लामो समयदेखि रोग लुकाएर बस्नुपर्ने बाध्यता छ।
• उनले आफ्नो समस्या घरपरिवारसँग खुलेर राख्न नसक्ने वातावरण छ।
• खुलेर स्वास्थ्य संस्थासम्म जानलाई धेरै सामाजिक अवरोधहरु छन्।
• महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन भनिए तापनि महिलाको पिडा पुरुषलाई अनुभूति नहुने र अनुभूत गर्न नखोज्ने देखिन्छ।
यी र यस्ता समस्याहरुको चाङ्ग बिध्यमान रहँदै गर्दा प्रत्येक नीतिगत स्थानमा महिला स्वास्थ्यको लबिइङ कम भएको देखिन्छ।यी र यस्ता विषयले महिला स्वास्थ्यको विषय ओझेलमा परेको छ।
यी सबै कानुनी निर्णयले हामीले हाम्रा दुरदराजसम्म रहेका सम्पुर्ण महिला दिदिबहिनिहरुलाई स्क्रिनिङ तथा पहिचानको दायरामा ल्याई समयमा नै यी स्वास्थ्य समस्याबाट छुटकारा गराउन तथा उपचार गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको छ।
यी र यस्ता स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय धनकुटाले संघीय सरकार तथा स्थानीय सरकारसँगको समन्वय, सहकार्य तथा सहअस्तित्वको सिद्दान्तलाई अनुशरण गरि यस आ.व. बाट एकीकृत प्रजनन स्वास्थ्य सेवा बिस्तार गर्नुपर्छ भन्ने उद्देश्यले जिल्लाका ५५ वटा सरकारी स्वस्थ्य संस्थाका १-१ जना स्वास्थ्यकर्मीलाई एकीकृत प्रजनन स्वास्थ्य सेवा विस्तार सम्बन्धी तालिम सञ्चालन गर्यो।
यस तालिममा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (भिआइए) जाँच, स्तन क्यान्सरको स्क्रिनिङ (सिबिई र एसबिई) जाँच र आङ खस्ने समस्याको पहिचान तथा कन्जरभेटिभ व्यवस्थापन तथा शल्यक्रियाका लागि प्रेषण सम्बन्धि विषय समावेश गरि सैद्धान्तिक तथा रियल महिलामा प्रयोगात्मक अभ्यास समेत गराई सेवा प्रदायकलाई सेवा प्रदान गर्न सक्छु भन्ने सम्मको ज्ञान, सिप र इच्छाशक्ति विकास गराई निजले आफू कार्यरत स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्न शुरु गरेको अवस्था छ।हामीले यो मोडालिटिको सेवालाई आउने आर्थिक वर्षभित्र यस जिल्लाका सम्पुर्ण लक्षित समुहका महिलाहरुलाई एकपटक हाम्रो सेवाको दायरामा ल्याई स्क्रनिङ गर्ने र स्क्रिनिङबाट प्राप्त नतिजाको आधारमा आवश्यक व्यबस्थापन गर्ने भन्ने हाम्रो अभियान समेत रहेको छ।
जब यस कार्यालयले यस जिल्लामा यो मोडालिटिको स्वास्थ्य सेवा शुरुवात गर्यौं यसवाट एउटा छुट्टै फरक प्रकृतिको नतिजा प्राप्त भएको छ।यध्यपि अझै यसबाट थप सकारात्मक नतिजाको प्रतिक्षामा त हामी छौं नै। तथापी बिहानीले दिनको प्रतिबिम्बित गदर्छ भनेझैं सेवा सुचारु तथा निरन्तरता गर्दैगर्दा यो मोडालिटिको सेवा अझ पहिलानै शुरु गर्न सकेको भए धेरै प्रभावकारी हुने रहेछ साथै अब नेपालका अन्य सबै स्वास्थ्य स्वास्थ्यबाट शुरु गर्नुपर्छ भन्ने हामीलाई महसुस भएको छ। किनकी सुरक्षित मातृत्त्व तथा प्रजनन् स्वास्थ्य ऐन तथा नियमावलीले अंगिकार गरेको महिलाको प्रजनन स्वास्थ्यको विषयलाई उक्त सेवाको पहुँच लक्षित वर्गका महिलासम्म पुर्याउन सहज तथा उद्देश्य पुरा गर्न सकिने रहेछ भन्ने कुरा हामीलाई लागेको हुनाले यो फोरम मार्फत सबैलाई जानकारी पनि गराउन चाहन्छु।
यो एकीकृत सेवा सुचारु गर्न र यसलाई निरन्तरता दिन र प्रत्येक महिलाले आफ्नो अनुकुल एकीकृत सेवा लिन कसरी सहज र सरल छ र अन्य पनि विस्तार गर्नुपर्छ त भन्ने विषयलाई म अलिकति प्रष्ट्याउन चाहन्छूः-
• एक स्वास्थ्यकर्मीलाई एउटै तालिमबाट तिनवटा सेवा प्रदान गर्न सक्नेगरी दक्ष बनाउन सकिने (व्यवस्थापन गर्न सहज)।
• एउटै स्वास्थ्यकर्मीबाट एक सेवाग्राही महिलाले एउटै एक्सपोजरमा तीनवटा सेवा Single Visit Approach मा सेवा प्राप्त गर्न सक्ने।
• स्वास्थ्य प्रणालीको सामुदायिक स्वास्थ्य प्रदान गर्ने पहिलो संस्था आधारभुत स्वास्थ्य सेवा ईकाईहरुबाट समेत यही स्वास्थ्यकर्मीको संरचनाबाट दैनिक रुपमा सेवा उपलब्ध गराउन सकिने।
• यस मोडालिटिको सेवा दैनिक रुपमा उपलब्ध गराउँदा समेत थप आर्थिक भार नलाग्ने।
पक्कै पनि फरक नतिजाको अपेक्षासहित शुरु गरिएका कदमहरुमा केही कठिनाईहरु त अवश्य नै आउँछन् नै, तदनुरुप हामीले पनि केही अवरोधहरु, केही समस्याहरु, केही व्यवधानहरु त फेस गर्यौं। जस्तै:
• एउटा स्वास्थ्य संस्थाबाट एक जना मात्र स्वास्थ्यकर्मीलाई दक्ष बनाउन सकियो जसको कारण उहाँ बिरामी वा विदामा हुँदा सेवा अवरोध हुने भयो (बजेट)।
• सेवा सुचारु तथा निरन्तरताका लागि थोरै खर्च लाग्ने औजार उपकरणहरु (सिलिकन रिङ पेसरी, स्पोन्ज होल्डर, डक्स स्प्याकुलम, एसेटिक एसिड तथा Infection prevention का औजार उपकरण) को पनि अभाव हुनु ।(सरोकारवालालाई विश्वास दिलाउन कठिन)
• सेवाग्राही महिला चेतनास्तरको कमी तथा लाजधकको कारण जाँच गर्न हिचकिचाउनु।
• स्वास्थ्यमा तालिम लिएका स्वास्थ्यकर्मीमात्र उक्त सेवाको गुणस्तरियता तथा प्रवाहका लागि जिम्मेवार हुन भन्ने मानसिकताका कारण।(स्वास्थ्य प्रणालि भित्र परम्परागत सोच कायम रहनु)
यो एकीकृत सेवा सुचारु गर्ने उद्देश्यलाई हार खान नदिई सपोर्ट, सहयोग गर्नुहुने परिवार कल्याण महाशाखाबाट कविता म्याडम लगायत सम्पूर्ण टिम, जिल्ला अस्पताल धनकुटाको सम्पूर्ण टिम, धनकुटा जिल्लाका सातवटै स्थानीय तहका जिम्मेवार व्यक्तित्वहरु तथा सो अन्तर्गत रहेका स्वास्थ्य संस्थाका मेरा सहकर्मी साथिहरुलाई विषेश धन्यवाद दिन चाहन्छु।
उहाँहरुको साथ र सहयोगको कारण हामीले हार खान सकेनौं र अब हार खाँदैनौं किनकी यसको नतिजा निस्कन शुरु भइसकेको छ। यस जिल्लाको चौबिसै गाँउपालिकाको बुधबारे स्वास्थ्य चौकीबाट स्क्रिनिङ गरेर स्तन क्यान्सरको शंका गरि नोबेल अस्पताल प्रेषण गरेको ४५ बर्षीया महिलामा स्तन क्यान्सर देखिएको र उहाँ हाल उपचारको प्रक्रियामा हुनुहुन्छ।नतिजा सकारात्मक आएको तथ्यांकले देखाईसकेको छ। त्यसैले हामी अहिले केही उत्साहित पनि भएका छौं।र यो सेवालाई अन्यत्र पनि विस्तार गर्नुपर्छ भन्ने हामीलाई लागेको छ।
कुनै पनि लक्ष्य पुरा गर्न नीति, योजना तथा बजेट एउटा पाटो हो भने कुनैपनि योजनाको कार्यान्वयन मुख्य विषय जस्तो लाग्छ।जहाँसम्म महिला स्वास्थ्यका कुरा आउँछन्। यसमा स्थानीय सरकारको महत्त्वपुर्ण भुमिका हुन्छ।किनकी प्रत्येक महिलाको पहुँच स्थानीयस्तरसम्म जति सरल र सहज हुन्छ, ठुलाठुला स्वास्थ्य संस्थासम्मको पँहुच त्यति नै गार्हो हुन्छ।
त्यसैले महिला स्वास्थ्यसँग सम्बन्धित यी र यस्ता प्रकारका सेवाहरु स्थानीय तहमार्फत शुरु गर्दा अझ प्रभावकारी र दिगो हुने भएको हुनाले म यो फोरम मार्फत सबै स्थानीय तहका जिम्मेवार व्यक्तित्त्वहरुलाई यी र यस प्रकारका सेवाहरु एकीकृत रुपमा सञ्चालन गर्नेगरी आगामी आर्थिक वर्षमा नीति तथा योजना बनाउन हुन तदनुरुप बजेट विनियोजन गर्नहुन विनम्र अनुरोध गर्दछु।
-(पब्लिक हेल्थ नर्स घिमिरे स्वास्थ्य कार्यालय, धनकुटामा कार्यरत छिन्।)