यौनको मामिलामा विश्व निकै उदार भैसकेको छ। तर, नेपाली समाजमा भने यौनका बारेमा खुलेर कुरा गर्ने उदारता अझैं आइसकेको छैन। यहीकारण मानिसहरू यौन रोग लागेपनि वा यौनांगमा रोग लागेपनि लुकाएर राख्ने गर्छन्। रोग जटिल भइसकेपछि मात्र अस्पताल आउने गरेका छन्। डाक्टरहरूलाई देखाउँदा पनि अर्को मानिस अगाडि छ भने खुलेर नभन्ने प्रवृत्ति छ।
उमेर ढल्केका मानिसभन्दा तुलनात्मक रूपमा किशोर उमेरका मानिसहरू आफ्ना समस्या खुलेर भन्न थालेका छन्। तर, उनीहरूपनि अधिकांश एक्लाएक्लै आउँछन्। कसै–कसैले साथीहरूलाई लिएर आउँछन्। कसैले आमालाई लिएर आए भनेपनि आफ्नो यौनांगको समस्याबारे नभिनिदिनुस् भनेर हामीहरूलाई आग्रह गछन्। अभिभावकहरूलाई आफ्ना यौनका समस्या नभन्ने प्रवृत्ति छ।
सचेतना बढ्यो, लजाउने प्रवृत्ति घटेन
खुलेर नआउने प्रवृत्ति भएपनि मानिसमा यौन रोगप्रति सचेतना भनेको बढेको पक्कै हो। कुनै पुरुषको बाहिर अन्य महिलासंग यौनसम्पर्क भएको रहेछ भने रोग आफ्नी श्रीमतीलाई पनि सर्ला कि भन्ने त्रास उनीहरूमा पनि हुन्छ। यस्तोमा आफैं आएर खुलेर पनि भन्ने गर्छन्। प्रायःजसो यस्तो अवस्थामा एक्लाएक्लै आउछन्। दुवै जना आएपनि हामीले एकको कुरा अर्कोलाई सुनाउदैनौ। एक्लाएक्लै परामर्श गर्छौं। एचआइभी नै भएको अवस्थामा चाहिँ एक अर्कालाई सुनाउँछौ। यौनजन्य रोगले परिवारमा झगडा ल्याउन नहुनेमा हामी पनि सचेत रहन्छौं।
केही समयअघिसम्म पुरुषहरूले हामी महिला डाक्टरलाई देखेपछि नबोली कागजमा आफ्ना समस्या लेखेर दिने गरेका थिए। उनीहरूले कागजमा लिंग उत्तेजित नहुने, बिमिरा आउने, घाउ भएको, यतिजनासंग यौनसम्पर्क गरेको थिएँ, यस्तो समस्या आयो भनेर लेखेर दिन्थे। ती समस्या पढेपछि हामी उपचार गथ्र्यौ। तर, अहिले यो क्रमचाहिँ हटेको छ।
पहिला–पहिला हामीले ढोकामा आएका बिरामीलाई ‘आउनुहोस्, यतै हो, नलजाउनुहोस्’ भनेर हरेक दिन भन्नुपथ्र्यो। बल्ल–बल्ल कोठामा छिरेकाहरूलाई पनि समस्या भन्न धेरैबेर लाग्ने गथ्र्यो। कति त कोठामा समेत छिर्न हिम्मत गर्दैनथे। नलजाउनुहोस् उपचार गरेपछि निको हुन्छ भनेपछि बल्ल बताउँथे।
पुरुषहरू महिला डाक्टर देखेर लजाउँछन्
धेरै पुरुषहरू उपचारका लागि आउने हु“दा धेरैजसो पुरुषहरू मलाई देखेर लजाउने र समस्या नै भन्न नचाहने गर्छन्। उनीहरू पुरुष डाक्टर भएको कोठामा चियाउने गर्छन्। कतिपय पुरुषहरूले त महिला डाक्टर होइन पुरुष डाक्टर नै चाहिन्छ पनि भन्छन्। पुरुष डाक्टर चाहिन्छ भन्नेलाई हामीले पुरुष डाक्टरकहाँ नै पठाइदिन्छौ“। तर सधैँभरी पुरुष डाक्टर नहुन पनि सक्छन्। त्यस्तो अवस्थामा हामीले उहा“हरूलाई परामर्श तथा रोगको बारेमा जानकारी दिन्छौं। महिलाहरू पनि त्यस्तै हुन्छन्। सकेसम्म महिला डाक्टरलाई नै खोज्छन्। कतिपयले पहिला भन्न लजाएपनि हामीले परामर्श गरेपछि र रोगको बारेमा खुलेर कुरा गर्नुहोस् भने पछि आफ्ना समस्या राख्ने गर्छन्।
लजाउने र डराउनेलाई हामीले ‘रोग भनेको महिला वा पुरुष भनेर लाग्दैन, अन्य अंगमा हुनेरोग भन्दा यौनरोगले जटिल समस्या लिन सक्छ त्यसकारण नलजाई भन्नुहोला, हामी महिला डाक्टर भएर त उपचार गर्न लजाएका छैनौ“ तपाईंहरू किन लजाउनुहुन्छ? के जचाउने हो? खुलेर भन्नुहोस, रोगलाई लुकाउनु हुन्न लाज मान्नु पर्दैन भन्दै सम्झाउने गर्दछौ“।
कस्ता समस्या आउछन्?
वीर अस्पतालमा आउने सबैभन्दा बढी समस्या भनेको यौनांगमा मुसा आउने र पानी बग्ने नै हुन्। २०७० वैशाखदेखि ०७० चैतसम्मको तथ्यांकमा सबै खालका यौन रोगका केश ४ सय ६५ आएकोमा बढी मुसा र पानी बग्ने समस्या नै बढी पाइएका थिए। यसबाहेक पुरुषहरूमा युरेथ्रल डिस्चार्ज सिण्ड्रोम, भाइरसले हुने हर्पिस जेनेटाइलिस, भिरंगीजस्ता समस्या आउछन्। अधिकांश मानिसहरू विदेश जाँदा स्वास्थ्य जाँच गनेृ क्रममा यौन रोग देखिएपछि आउँछन्। त्यस्तामा अधिकांशलाई भिरंगी देखिएको पाइन्छ। यो एकदम ‘साइलेन्टली’ भइरहेको हुन्छ, मानिसलाई थाहा हुन्न। यो हुँदा घाउ आएपनि दुख्ने–पोल्ने हुन्न। मानिसहरूलाई रोगले च्याप्दापनि रोग लागेको थाहा हुन्न।
उमेर ढल्केकाहरू लिंग उत्तेजना नहुने, यौन चाहना घट्ने, शिघ्र स्खलन हुनेजस्ता समस्या लिएर आउछन्। यौनको समस्या लिएर आउनेमा साधुको रूपमा आउनेहरू भएको पनि फेला पारेका छौं। यद्यपि उनीहरूले यो कुरा स्पष्ट पार्दैनन्। त्यसैले यौन रोगले कुनै उमेर समूह भन्दैन। तर, पनि यस्तो समस्या युवाहरूमा बढी छ।
समाजलाई यौन रोगप्रति सचेत बनाउनुपर्ने आवश्यकता छ। युवाहरूमा के सही हो र के गलत हो भन्ने सन्देश दिने खालको कार्यक्रम आमसञ्चारका माध्यममार्फत् दिनुपर्छ। अभिभावकले पनि आफ्ना छोराछोरीका समस्या बुझेर उनीहरूलाई साथीजस्तै व्यवहार गर्नुपर्छ।
मलाई नराम्रो लाग्ने कुरा
मलाई सबैभन्दा नराम्रो लाग्ने घटनाचाहि बालिकाहरूमाथि हुने यौन दुव्र्यवहार हो। प्रायजसोः ५ देखि १० वर्षसम्मका बालिकाहरू समस्या लिएर आउछन्। तिनीहरूलाई परीक्षण गरेपछि यौन दुव्र्यवहार नै भएको पत्ता लाग्छ। प्रायःजसो यस्ता बालिकाहरू गाउँबाट आएका हुन्छन्, आमाबाबु काममा जाने, ठुलो परिवारसंग बस्ने, डेरामा एक्लै बस्ने बालिकाहरू यौन दुव्र्यवहारको शिकार हुन्छन्। उनीहरूलाई यौनसम्बन्धी कुरै केही थाहा हुन्न। यौनांगमा पिप लिएर आउछन्। पहिले केही भन्दैनन्। पछि सोध्दै जाँदा विस्तारै भन्न थाल्छन्। मान्छेले यौनांगमा चलायो, खेलायो भन्दै जादाँ चिनेको मान्छेले ‘यस्तो गर्यो’ सम्म भन्छन्। यस्तो कुराचाहिँ मलाई सबैभन्दा नराम्रो लाग्छ। यस्तो कुरालाई कसरी नियन्त्रण गर्ने हो कुन्नी?
पहिला अप्ठेरो भएको थियो, अहिले खुलेर कुरा गर्छौं
कलेजमा पढ्दा नै हामीले यौनरोगका बारेमा धेरै जानकारी लिएको भएपनि प्रत्यक्ष बिरामीको उपचार गर्नुपर्दा सुरुमा केही अप्ठेरो लागेको थियो। तर बिरामीको उपचार गर्नु नै हाम्रो पेशा भएकाले पछि त्यस्तो केही लागेन। अहिले त हामी जो बिरामी आएपनि यौनरोगका बारेमा खुलेर कुरा गरी उपचार गर्छौ। महिला भएर पुरुषहरूको यौनसमस्याका बारेमा उपचार गनुपर्दा मलाई कुनै लाज छैन। अन्य रोगभन्दा अझ यौनरोग बढी संवेदनशिल छ त्यसकारण उनीहरूको समस्या समाधान गर्नु मेरो पेशा भएकाले डराउनु र लजाउनु पर्ने अवस्था नै छैन। डाक्टर नै लजाउने र डराउने भयो भने कसरी उपचार हुन्छ र?