काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अमेरिकाबाट कोरोनाविरुद्धको फाइजर खोप ल्याउन सकिने अवस्थाबारे छलफल गरेका छन्।
प्रधानमन्त्री देउवाले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी) का पदाधिकारीसँग बिफ्रिङका क्रममा फाइजर खोप ल्याउने, भण्डारण र प्रयोगसम्बन्धि विषयमा जिज्ञासा राखेका थिए।
उनले फाइजर खोप ल्याउन के काम भएको छ, केके थप काम गर्नुपर्छ र 'कोल्ड चेन'ले धान्छ कि धान्दैन भनेर समेत सोधेको छलफलमा सहभागि एक कर्मचारीले जानकारी दिए।
प्रधानमन्त्री देउवासँग छलफलका लागि स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल, प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल, मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनी र सिसिएमसीका अध्यक्ष बालानन्द शर्मालगायतसँग सिंहदरबारमा पुगेका थिए।
कोरोना भाइरसविरुद्ध सबैभन्दा सुरुमा बनेको फाइजर खोप सबैभन्दा प्रभावकारी मानिएको छ। तर यो खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। नेपालमा उक्त क्षमताको भण्डारण छैन।
स्वास्थ्य मन्त्रालयले फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिका लागि आवश्यक पर्ने भएकाले ल्याउन पहल भइरहेकोबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको थियो।
फाइजर खोप ५ दिनसम्म माइनस २० डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने र युनिसेफ र गाभीले थप क्षमताको भण्डारणका लागि कोल्डचेन सहयोग गरिरहेकाले व्यवस्थापन सहज हुने विषय पनि प्रधानमन्त्रीलाई जानकारी गराएको ती कर्मचारीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडलेले नेपालमा २ करोड १५ लाख १८ वर्षभन्दा माथि र १२ देखि १८ वर्ष उमेरसम्मका ३५ लाख जनसंख्या भएकाले २ करोड ५० लाख जनसंख्यालाई कोरोना खोप आवश्यक पर्ने जानकारी प्रधानमन्त्रीलाई गराइएको बताए।
उनले हालसम्म चीन, जापान र कोभ्याक्सबाट आउने खोपबारे पनि जानकारी गराएको बताउँदै १२ देखि १८ वर्ष उमेर समूहलाई फाइजरको खोप ल्याउन प्रयास भइरहेको बताए।
सरकारले कोभ्याक्स सुविधा मार्फत ‘कष्ट सेयरिङ’मा वा ‘डोनेसन’ दुवैका लागि कुराकानी अगाडि बढाउने तयारी गरेको छ।
प्रधानमन्त्री देउवा सहित अन्य ४ मन्त्री समेत उपस्थित भएको बिफ्रिङमा प्रधानमन्त्री देउवाले खोपबाहेक कोरोना नियन्त्रणका लागि हालसम्म भएका प्रयास, चुनौति र अहिलेसम्म भएका कामबारे पनि चासो राखेका थिए।
‘प्रधानमन्त्रीले चासो पूर्वक कुरा सुन्नुभयो। हामीले अहिलेसम्मका सबै प्रगति, चुनौति र गर्नुपर्ने कामबारे जानकारी गरायौँ। हामीले जनशक्ति थप, सिसिएमसीसँग काममा भइरहेको दोहोरोपन र त्यसरी डुप्लिकेसन नहुने गरी कम गर्नुपर्ने, प्राविधिक नेतृत्व स्वास्थ्य मन्त्रालयले लिनुपर्ने कुरा भन्यौँ,’ प्रवक्ता पौडेलले भने।
त्यसबाहेक तीन तहको सरकारकाबीचमा समनव्य नहुँदा भएको समस्या, अस्पतालमा क्रिटिकल केयरको क्षमता बढाउने विषयबारे पनि छलफल भएको बताइएको छ।
प्रधानमन्त्री देउवाले खोपलाई प्राथमिकताको साथ अगाडि बढाउन निर्देशन दिएपनि आज अन्य निर्देशन भने नदिएको बताइएको छ।