अहिलेसम्मको तथ्याङ्क अनुसार संसारमा बालबालिकामा अरु उमेरको तुलनामा कोभिड-१९ को संक्रमण कम देखिएको छ। नेपालमा पनि अरु उमेरको तुलनामा बालबालिका कम संक्रमित देखिएका छन्। तर कोरोनाको पहिलो लहरमा भन्दा दोश्रो लहरमा बालबालिका धेरै संक्रमित भएका छन्। पहिलोमा लगभग २ प्रतिशत थिए भने दोश्रोमा बढेर लगभग १० प्रतिशत देखिएको छ। अब तेश्रो लहर अक्टोबर/नोभेम्बर तिर आउने र बढी बालबालिका जोखिममा पर्ने अनुमान गरिएको छ। बालबालिकामा कोभिडको लक्षण अरु उमेरकोमा भन्दा हल्का पाइएको छ र कतिमा संक्रमणको कुनै लक्षण नै नदेखिने पनि हुन्छ। तर कोभिडले बालबालिकामा जटील रूप पनि लिन सक्छ र ज्यानसम्म पनि जाने हुन सक्छ। त्यो जटिलता मध्ये ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआइएस-सी) एउटा ठूलो जटिलता हो र अहिले नेपालमा पनि यो समस्या बढेको पाइएको छ।
एमआइएस-सी के हो?
‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआइएस-सी) भनेको बालबालिकाहरुमा हुने एउटा एस्तो अवस्था हो जसमा शरीरको विभिन्न अंगहरु जस्तै मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, आँखा, छाला, पेट/आन्द्राहरु सुन्निने हुन्छ। अहिलेसम्म यकिन कारण थाहा भइनसकेको भएपनि यो समस्या कोभिड संक्रमित भएका वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ। सबै उमेरका बच्चामा यो देखिन सक्छ तर विशेषगरी ३ देखि १२ वर्षका र औषतमा ८ वर्षका बच्चामा यो बढी पाइने गरेको छ।
यो कहिले हुन्छ?
कोभिड संक्रमित भएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आएको २ देखि ६ हप्ता भित्रमा हुन्छ। बच्चामा कोभिडको कुनै पनि लक्षण नदेखिकन पनि एमआइएस-सी देखिन सक्छ।
यो किन हुन्छ?
कोभिड संक्रमित भएको २/३ हप्ता पछि हुन सक्ने प्रतिरोधात्मक शक्ति अनियन्त्रणको कारणले यो हुन्छ।
यो विरलै देखिए पनि एउटा गम्भीर र ज्यान पनि लिन सक्ने अवस्था हो। तर यदि समयमै यसका लक्षण थाहा पाइयो र समयमै आफ्नो बालरोग विषेशज्ञसँग वा अस्पतालमा सम्पर्क गरियो भने यसको निदान र उपचार समयमै हुन सक्छ। र यो निको पार्न वा यसको जटिलता कम गर्न सकिन्छ।
यसका लक्षणहरू के के हुन?
ज्वरो (>१००.४°F ) सँगसँगै यी अरु लक्षणहरु
१) आँखा रातो हुनु
२) ओठ र जिभ्रो रातो हुनु
३) घाँटी दुख्नु
४) शरीरमा रातो डाबर आउनु
५) पेट दुख्नु
६) उल्टी वा पखाला हुनु
७) अत्यधिक थकान लाग्नु
८) स्वास फेर्न गाह्रो हुनु
९) टाउको दुख्नु
यसको निदान कसरी हुन्छ?
विश्व स्वास्थ्य संगठन र सेन्टर फर डिजिज कन्ट्रोलले दिएको दुई वटा क्राइटेरिया छन्। कुनै एकको आधारमा बालरोग विषेशज्ञद्वारा लक्षण हेरेर र जाँच गरेर यसको निदान गरिन्छ।
के के जाँच गरिन्छ?
१) रगतको जाँच (ESR, CRP, fibrinogen, Procalcitonin, D dimer, Ferritin, LDH, COVID pcr, COVID antibody test इत्यादि)
२) ECHO
३) छातीको एक्स-रे
४) USG abdomen
अवस्था हेरेर अन्य थुप्रै जाँच हरु गर्नु पर्ने हुन सक्छ र यी जाँच हरु अवस्था हेरेर पटक पटक गर्नुपर्ने पनि हुन सक्छ।
यसको उपचार कसरी गरिन्छ?
अवस्था हेरेर गम्भीर प्रकृतिको भए PICU मा अथवा गम्भीरता कम भए वार्डमा राखेर उपचार गरिन्छ। समयमै उपचार जरुरी हुन्छ। IVIG, steroids र supportive उपचारहरु गरिन्छ।
बालबालिकालाई कोभिड संक्रमणबाट जोगाउन अपनाउनु पर्ने विधि अपनाएर कोभिड संक्रमण हुन नै नदिनु नै MISC बाट बच्ने सर्वप्रथम उपाय हो। तर समयमै उपचार भए निको पार्न र जटिलता कम गर्न सकिने भएको हुँदा एमआइएस-सी को जस्तो लक्षणहरु देखिने बितिकै बालरोग विषेशज्ञसँग वा अस्पतालमा सल्लाह लिन जरुरी छ।
-(डा भण्डारी नवजात शिशु तथा बालरोग विषेशज्ञ हुन्)