अस्पतालको नियमित ड्युटी सकेर घर आइपुगेको थिएँ। मेरो पेटमा हुर्कँदै गरेको साढे आठ महिने शिशु अलि बढ्ता नै चलमलाएको महसुस भइरहेको थियो। त्यति नै बेला ज्वरो आउन थाल्यो। टाउको दुखिरहेको थियो। भोलिपल्ट कोभिड परीक्षण गराएँ। नतिजा पोजिटिभ आयो।
मेरो दुई वर्षको ठूलो बच्चा पनि केही दिनपछि नै संक्रमित भयो। परिवारका सदस्य एकपछि अर्को गर्दै संक्रमित हुन थाले। त्यति बेला देशमा कोरोनाको पहिलो लहर चल्दै थियो। हामी स्वास्थ्यकर्मी नै रनभुल्लमा थियौँ। अनि त, मलाई आफ्नै जीवन अनिश्चिततातर्फ धकेलिएको महसुस भयो।
आफैंले काम गर्ने अस्पतालको कोभिड आइसोलेसन वार्डमा थिएँ, म। परिवारका अन्य सदस्य नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा थिए। त्यतिबेला परिवार, काखको बच्चा र पेटको बच्चाको लागि पनि रोग जित्नुपर्छ भन्ने सोचले मनोबल उच्च बनाएको थिएँ। म जीवन जिउनुको अर्थ अझ बढी अनुभव गर्दै थिएँ।
कोभिड संक्रमितहरु त्यतिबेला समाजबाट पनि पीडित थिए। संक्रमितलाई हेर्ने दृष्टिकोण विभेदकारी र नराम्रो थियो। कोही संक्रमित भएको थाहा पाए छिःछि गर्ने र ‘पूरै समाजलाई हानी पुर्याउला’ झैँ व्यवहार थियो।
यसकारण संक्रमितहरुलाई दोहोरो तनाव थियो, रोगको र समाजको। म अस्पतालको आइसोलेसनमा पेटको बच्चाको मुटुको गति अनुभव गर्दै मनमनै उसलाई भनिरहेको हुन्थेँ, ‘केही दिन अझै धैर्यताका साथ रमाउँदै खेल्दै बस, म ठीक नहुन्जेलसम्म।’ दस दिनको आइसोलेसन बसाइसँगै आत्मबल, पोषण र स्याहारका कारण मलाई निकै हलुका भएको महसुस भयो। त्यसपछि पेटको शिशुलाई संसार देखाउन आतुर हुन थालेँ।
तर, राजधानीका अस्पतालहरुमा कोभिडका लागि छुट्याइएका बेड भरिएका थिए। कोभिड वार्डहरुमा भर्ना पाउनु भनेको युद्ध जित्नु जस्तै थियो। अन्ततः बेड मिल्यो, अब भने सबै ठीक हुन्छ भन्ने लाग्यो। तर, हामी स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसबारे गलत बुझाइ रहेछ। त्यही कारण मैले प्रसव पीडाको समयमा थप पीडा खप्नुपर्यो। ती पीडा अहिले शब्दमा व्यक्त गर्न सक्दिनँ।
२०औँ दिन आइपुग्दा पनि मेरो कोभिड परीक्षण नतिजा पोजिटिभ नै थियो। पेटको शिशु बाहिर निस्कने प्रयत्न गरिरहेको थियो। मेरो शारीरिक तथा पाठेघरको अवस्थाले साथ दिइरहेको थिएन। संक्रमणकै अवस्थामा शल्यक्रिया गर्न चिकित्सकहरु डराइरहेका थिए। तर, हिम्मत गरे। गर्भवतीको स्वास्थ्य जटिल बन्न थालेपछि विशेषज्ञ चिकित्सकले आफ्नो संभावित संक्रमणलाई गौण ठाने। त्यो दिन, १८ अगष्ट २०२० बिहान १० बजे मैले छोरीलाई जन्म दिएँ।
संक्रमित अवस्थामा नै छोरीलाई जन्म दिन सकेको कारण पीडाकै बीच पनि म खुसी थिएँ। तर, मलाई छोरीसँग छुट्याइयो। मैले १५ दिनसम्म नवजात छोरीलाई स्तनपान गराउन पाइनँ। स्वास्थ्यकर्मीकै गलत बुझाइले यस्तो भएको थियो।
संक्रमण हुनु एउटा पीडा। पेटमा बच्चा अर्को पीडा। अस्पतालमा बेड नपाउनु पिडामाथिको पीडा। र आफूले जन्माएको सन्तानलाई स्तनपान गर्न नपाउनु झनै ठूलो पीडा। यस्तो बेला मैले भने आत्मबल बलियो बनाएको थिएँ।
झन्डै एक महिनापछि मेरो कोभिड परीक्षण नतिजा नेगेटिभ आयो। अनि खुशीहरु फर्किन थाले। त्यतिबेलासम्म परिवारका सदस्य पनि संक्रमणमुक्त हुँदै थिए। बल्ल हाम्रो जीवन सहज हुन थाल्यो।
तर, कोरोना महामारी साम्य भएको थिएन। नेपालमा अप्रिल २०२१ बाट दोस्रो लहर फैलिन थाल्यो। आफैंले भोगेको पीडाबाट पाठ सिक्दै स्वास्थ्यकर्मी हुनुको नाताले घरपरिवार, छिमेक, समाजसँग आफ्नो अनुभव साटेर भ्रमहरु हटाउने प्रयासमा लागेँ। आफैँ कार्यरत अस्पतालमा भर्ना भई आउने कोभिडका बिरामीलाई पनि आफ्ना अनुभव सुनाउथेँ।
अस्पतालका बेडमा पुगेका संक्रमितहरु कतिपय गलत बुझाइका कारण पनि आत्मबल गुमाइरहेका छन्। मानसिक पीडा खेप्न बाध्य छन्। अहिले त्यस्ता बिरामीको स्याहार गर्न र आत्मबल बढाइदिन पाउँदा गर्व महसुस गर्छु। जुन रोगको पूर्ण उपचारका लागि औषधी बनेको छैन, त्यसैका बिरामीलाई हामी बचाउने अभियानमा छौँ। उचित मेडिकल हेरचाह र आत्मबल दिएर बिरामीलाई घर फर्काउन सकिन्छ। त्यसबाहेक बिरामीका लागि उचित खानपान, पोषणयुक्त आहार र सहृदयी व्यवहार आवश्यक छ भनेर उनीहरुका आफन्तले पनि बुझ्नुपर्छ।
अहिले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको छ। गर्भवतीसँगै सबै उमेर समूहका मानिस जोखिममा पर्ने आकलन भइरहेको छ। त्यसैले सामाजिक दूरी, उचित पोषण, स्याहार तथा उच्च मनोबल नै रोगसँग लड्ने हतियार हुन्। खोप लगाएपछि पूर्ण सुरक्षित हुने होइन। यसर्थ सुरक्षाका सबै उपाय अपनाउनुपर्छ।
–लेखक शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा स्टाफ नर्स छिन्।