दाँतमा किरा लाग्ने समस्या भनेको खानेकुरा तथा काठमा लाग्ने किरा जस्तो होइन। दाँतमा लाग्ने 'किरा' एक प्रकारको सुक्ष्म जीव हो। जुन नाङ्गो आँखाले देख्न सकिँदैन।
दाँतमा किरा लाग्ने भन्दा पनि यसलाई दाँत सडेको वा कुहिएको भनिन्छ। चिकित्सकीय भाषामा यो समस्यालाई दन्त सडन पनि भनिन्छ।
दाँतमा जब फोहोर हुन्छ, त्यसमा रोग लाग्छ नै। मुखमा भएका सुक्ष्म जीवले दाँत तथा दाँत र गिजाको बीचमा रहेका, अड्किएका खानेकुराहरुलाई एसिडमा परिणत गरिदिन्छ। ती एसिडले दाँतको सतहमा रह्यो भने दाँतको बाहिरी भाग इनामेललाई खियाउँछ। त्यसपछि दाँतमा खाल्डो पर्दै जान्छ।
पहिले इनामेल त्यसपछि डेन्टिङ, पल्प हुँदै जरासम्म पुग्छ। दाँतमा अड्किएका खानेकुराहरुलाई मुखमा भएका सुक्ष्म जीवहरुले खाँदा प्रतिक्रिया भएर निस्कने अम्लले दाँतलाई खाल्डो पार्ने प्रक्रियालाई दन्त सडन भनिन्छ।
हामीले दाँत सफा गर्ने क्रममा आफ्नो दाँतलाई ऐनमा राम्रोसँग हेनुपर्छ। हामीले दाँतलाई राम्रोसँग हे¥यौँ भने पनि धेरै कुरा थाहा पाउन सक्छौ। यदी दाँतको रंग सामान्य भन्दा फरक खैरो, फुस्रो या कालो रंगको देखिनु नै यसको सुरुवाती लक्षण हो।
दाँतको रंग खैरौ, फुस्रो या कालो हुन थालेको छ, दाँत किराले खान सुरु गरिसकेको छ भनेर बुझ्नुपर्छ।
दन्त सडनले निम्त्याउन सक्ने जटिलताहरु
दन्त सडनको सुरुवाती चरण छ भने हामीले दाँतमा कालो धब्बा या रंग परिवर्तन देख्छौ। यति हुँदा पनि हामीले सरसफाई गरेनौ भने यो समस्या दाँतको डेन्टिङमा पुग्छ। डेन्टिङमा पुगेपछि दाँतमा खाना अड्किने, ब्रस गर्दा तथा गुलियो खानेकुरा खाँदा सिरिङ–सिरिङ गर्ने समस्या हुन्छ।
यति हुँदा पनि हामीले दाँतको परीक्षण गरेनौँ भने दन्त सडन दाँतको भित्रि भागमा पुग्छ। जहाँ दाँतको जरा, नशा, शिरा हुने गर्छ। दन्त सडनको समस्या भित्रि भागमा पुगेपछि मात्र दाँत दुख्न थाल्छ।
दाँत दुख्न थालेपछि कुनै बेला दुखाई कम गर्ने औषधि खाँदा पनि निको हुँदैन। दन्त सडनको समस्या भित्रि भागमा पुग्दा पनि उपचार गरिएन भने दाँतको जरामा संक्रमण भएर गिजा सुन्निने, दाँत हल्लिने र अन्तिममा दाँत नै गुमाउनुपर्ने अवस्था आउँछ।
ल्वाङको तेल, सञ्चाले दन्त सडनको समस्यालाई रोक्दैन
कतिपय ठाउँमा मानिसहरुले धामी झाक्री लगाएर किरा झार्ने गरेको भन्ने पनि सुन्ने गर्छौ। तर खानेकुरा तथा काठमा लागेजस्तो किरा दाँतमा लाग्दैन। ती सब वैज्ञानिक कुरा होइनन्। अन्धविश्वास हो।
दाँतमा खाल्डो परेको छ। दाँत दुखेको छ भने गाउँघरमा कपासमा ल्वाङको तेल, सञ्चो कपासमा राखेर दाँतमा च्याप्ने पनि गर्ने गरिन्छ। यी कुराहरु दुखाई कम गर्ने रसायन हुन्। यी कुराहरु गिजा, गाला वा जिब्रोमा नछोइकन दाँतमा राख्यो भने दुखाई कम गर्छ। तर यसले दन्त सडनको समस्यालाई रोक्दैन। न त उपचार नै गर्छ। यसलाई प्राथमिक उपचारको रुपमा पनि प्रयोग गर्न सकिन्छ। तर यसमा सतर्कता भने अपनाउनैपर्छ।
यदी कपासमा लगाएको ल्वाङको तेल, सञ्चो, भिक्सले मुखको अन्य भागलाई छोइनु हुँदैन। नत्र यसले घाउ बनाई थप समस्या निम्त्याउन सक्छ।
दन्त सडनको उपचार विधिहरु
दाँत किराले खाइसकेपछि यो एउटा रोग हो। सुरुकै अवस्थामा छ भने फ्लोराइड भएको मञ्जनको प्रयोग गरी ब्रसले सफा गर्न सकिन्छ। दन्त सडनको समस्या दाँतको बाहिरी सतह इनामेलमा पुगिसकेको छ भने पनि फ्लोराइडयुक्त माउथ वास, फ्लोराइड केमिकल प्रयोग गरेर रोक्न सकिन्छ।
तर डेन्टिङमा पुगिसके कुहिएको भागलाई सफा गरेर विभिन्न किसिमका सिमेन्ट भर्न सकिन्छ। यो धेरै प्रकारका हुन्छन्। यदी दन्त सडनको समस्या दुख्ने गरी जरामा पुगिसकेको भए रुट क्यानल ट्रिटमेन्ट अर्थात् जरादेखि नै सफा गर्नुपर्छ। यो उपचार विधिबाट दाँत नदुख्ने गरी पहिलेकै अवस्थामा फर्कन सकिन्छ।
कतिपयको दाँतको कुनै भाग किराले खाएर निस्किसकेको या झरिसकेको पनि हुन सक्छ। यस्तो समस्या भएकाहरुले जरामा एउटा पिन जस्तो राखेर क्याप बनाएर दाँतलाई जोगाउन सकिन्छ।
त्यसैले दाँत किराले खाँदैमा दाँत निकाल्नैपर्छ, थोते हुनैपर्छ भन्ने छैन। यसका विभिन्न उपचार विधिहरु छन्। जसलाई प्रयोग गरेर दन्त सडनको समस्याबाट दाँतलाई जोगाउन सकिन्छ। तर जति लापरबाही गर्छांै। समस्या भएपछि ढिला अस्पताल पुग्छांै। उपचार विधि त्यति नै लामो र महँगो हुन पुग्छ।
(वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन डा प्रकाश बुढाथोकीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)