नेपाल औषधि उत्पादक संघ (एपोन) को महाअधिवेशन तथा वार्षिक साधारण सभा शुक्रबार हुँदैछ। वर्तमान कार्यसमितिले बिदाइ र नयाँ कार्यसमितीको चयन हुनेछ। नयाँ नेतृत्वबाट उद्योग क्षेत्रले प्रशस्त अपेक्षा राखेको छ।
कोभिडले गर्दा उद्योगहरु अप्ठ्यारो अवस्थामा परेको बेला नारायण क्षेत्री नेतृत्वको वर्तमान कार्यसमितिले सराहनीय काम गरेको थियो। त्यो गतिलाई कायम राख्नुपर्ने अबको कार्यसमितिको चुनौती हो। र, यसमा अवसर पनि छ।नेपालको औषधि क्षेत्रमा प्रभावशाली भूमिकामा रहेको एपोनबाट उद्योग क्षेत्रले मात्र नभई राष्ट्रले पनि सकारात्मक भूमिकाको अपेक्षा गर्छ।
झण्डै १०० को हाराहारीमा पुग्दै गरेको स्वदेशी औषधि उद्योगहरुको छाता संगठन एपोनको काँधमा जिम्मेवारी पनि छ। नेपालभित्र विद्यमान र भविष्यमा पनि बन्ने नियम कानुन तर्जुमा गर्नुपर्ने सवालमा एपोनको सकृय भूमिका हुनुपर्छ। स्वदेशभित्र उत्पादन भइसकेका औषधिलाई पहिचान दिएर राष्ट्रिय सम्पत्ति बनाउनुपर्छ। यसका लागि नयाँ नेतृत्वको ध्यानाकर्षण हुनु आवश्यक छ।
अरबौँको बजार रहेको नेपालको औषधि क्षेत्रमा मित्रराष्ट्रहरु भारत, बंगलादेशलगायत अन्य मुलुकका उत्पादनको दबदबा छ। कतिपय पुराना ब्राण्डहरुले नै बजार लिइरहेका छन् भने कतिपय नयाँ औषधि पनि आयात हुने गरेको छ। कतिपय औषधिको आवश्यकताभन्दा बढी ब्रान्डिङ छ।
करिब तीन करोड मात्र जनसंख्या भएको हाम्रो मुलुकमा अति धेरै ब्रान्ड भित्रिनु भनेको अनावश्यक प्रतिश्पर्धा सिर्जना हुनु हो। यसबाट फाइदा पुग्दैन। बरु स्वदेशी उद्योगको बजारीकरणलाई चुनौती हुन्छ। औषधिहरु थुप्रिएर बस्दा म्याद नाघेर नष्ट गर्नुपर्ने हुन्छ।
आफ्नै देशमा कुनै पनि उद्योग स्थापना हुनु भनेको स्वाभिमानको विषय हो। राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डका प्रकृया पुर्याएर संस्थागत हुन खोज्दै गरेका स्वदेशी औषधि उद्योगको प्रवद्र्धन गर्न जरुरी छ। यी उद्योगलाई फैलने वातावरण बनाउने दायित्व राज्यको पनि हो। किनभने औषधिमा लगानी भएको अरबौँ रुपैयाँ डुब्ने अवस्था आए त्यसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव त पर्छ नै स्वास्थ्य क्षेत्र पनि लड्खडाउँछ।
अन्तरराष्ट्रीय जीएमपीले अथ्र्याएका बुँदागत पक्षहरुलाई आत्मसात गरेका हाम्रा उद्योगहरुले कुनै पनि अर्थमा विदेशी औषधिको तुलनामा गुणस्तर कम हुन दिएका छैनन्। यो विषयलाई सरकारले बुझ्नु पर्छ। अब स्वदेशमै पर्याप्त उत्पादन हुने औषधि विदेशबाट आयात हुनुहुँदैन। अथवा विस्तारै विस्थापित गर्नुपर्छ। एपोनको नयाँ नेतृत्वले यो विषयलाई गम्भीर ढंगले अगाडि बढाउनुपर्छ।
हाम्रो स्वाभिमानलाई दरिलो टेवा पुर्याउन अर्थतन्त्रको अहम् भूमिका हुन्छ। अर्थतन्त्र बलियो बनाउन हाम्रो उत्पादन क्षमता बढ्दै जानुपर्छ। त्यसमा पनि औद्योगिक उत्पादन महत्वपूर्ण छ। तर, स्वास्थ्यसँग सम्बन्धित औषधि उद्योगलाई अन्य उद्योगजस्तो गरी हेर्नु हुँदैन। यो विशेष र जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले हामी हाम्रो जीवन जोगाउन आफैँ सक्षम छौँ भन्ने आत्मविश्वास र स्वाभिमान वृद्धिका लागि औषधि उद्योगले भूमिका खेलेका छन्।
नेपालमा औषधि उद्योग निर्माण गर्न सजिलो छैन, अनेक चुनौतीहरुको सामना गर्नुपर्छ। कच्चा पदार्थ र अन्य केहीवस्तुहरुमा भन्सार छुट भएपनि, उद्योग संचालनका लागि चाहिने अन्य वस्तुको भन्सार अहिले पनि महङ्गो छ। उद्योगभित्र चाहिने सबैजसो वस्तुले औषधि बनाउन प्रतक्ष्य वा अप्रतक्ष्य मद्दत पुर्याइरहेको हुन्छ। ती वस्तुलाई भन्सार छुट नदिँनु सुहाउँदो होइन। यो विषयमा पनि नयाँ नेतृत्वको ध्यान जानुपर्छ।
जीएमपी प्यानल, चिलर, एएचु, ल्याब फर्निचर, जीएमपी ढोका, मेशिनहरु, प्याकिङ्ग मटेरियल लगायत कयौँ यस्ता वस्तु छन्, जसको औषधि उत्पादनमा महत्वपूर्ण योगदान हुने गर्छ। यी वस्तुमा पनि भन्सार सहुलितयको आवश्यकता छ।
देशभित्र अहिले दुई प्रकारका उद्योग छन्, पहिलो– उत्पादन प्रकृयाहरु पूरा गरेर विगतदेखि बजारीकरण गरिरहेका, र दोस्रो–निर्माणको चरणमा पुगी सकेका, तर बजारमा बिक्री बितरणमा नआएका।यी दुवैलाई भिन्न प्रकारका चुनौती छन्। त्यसैले दुवैलाई भिन्न दृष्टिकोणले हेर्नुपर्छ र त्यसरी नै व्यवहार गर्नुपर्छ।
स्वदेशी उद्योगहरुको प्रवर्धनमा नियामक निकाय औषधि व्यवस्था विभागको महत्वपूर्ण योगदान हुन्छ। उद्योगहरुलाई अन्तरराष्ट्रियस्तरको बनाउनमा विभागको नियमित अनुगमन र संरक्षण रहने गर्छ। नीतिगत कार्यलाई अझै चुस्त दुरुस्त बनाउन र विभागसँगको सम्बन्धलाई अझै प्रगाढ पार्नएपोनका भावि अध्यक्ष र कार्यसमितिको योगदान स्पष्ट देखिने गरी हुनुपर्छ।
यी लगायत अन्य धेरै विषयमा एपोनले उत्कृष्ट काम गर्नुपर्नेछ। यसका लागि आगामी नेतृत्वको ध्यानाकर्षण होस्।