दमौली- विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालक मोहम्मद उस्मान अलीको उपचारमा सहयोग जुट्न थालेको छ। ‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो। निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले आर्थिक सहयोगको याचना गरेका छन्।
यसैक्रममा लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले बालकको उपचारका लागि रु ५० हजार हस्तान्तरण गरेको छ। यसैगरी शुक्लागण्डकी-५ स्थित नेपाल मुस्लिम इज्तेमा आमा समूहले बालकको उपचारका लागि रु ४५ हजार सहयोग गरेको छ।
ती बालकमा जन्मिएको तीन महिनामै एसएमए रोगको लक्षण देखिएको परिवारले जनाएको छ। उस्मानका परिवारले उनलाई तीन महिनादेखिनै पोखराका विभिन्न अस्पतालमा उपचार गराएर परीक्षण गर्दा रोग पत्ता नलागेपछि आठ महिनाको उमेरमा कान्ति बाल अस्पताल लगेको थियो। उक्त अस्पतालमा उस्मानको उपचार बाल रोग विशेषज्ञ डा बिना प्रजापतीको निरीक्षणमा भएको थियो।
झण्डै २५३० परीक्षणपछि बिरामीको रगत परीक्षणका लागि भारतस्थित लालपाथ पठाउँदा उस्मानलाई ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोग लागेको पत्ता लागेको हो। नोवार्टिस जिन थेरापिजले उत्पादन गर्ने उक्त औषधि प्रयोग गर्न सके बिरामीको ज्यान बचाउन बताइएकाे छ।
तर उक्त औषधि अन्य औषधि जस्तो सस्तो भने छैन। जोल्जेन्स्मा संसारकै महङ्गो औषधि हो। यो रोग नेपालमा कमै मात्र पुष्टि हुने गरेको छ। उस्मानभन्दा पहिला यस प्रकारको रोग नेपालमा भैरहवाकी २२ महिने सियोना श्रेष्ठमा देखिएको थियो। हाल उनको दुबईमा उपचार भइरहेको छ।
मुस्लिम युवाको अभियान
उस्मानलाई बचाउनका लागि दमौलीका मुस्लिम युवाहरुले पनि सहयोग सङ्कलन अभियान सुरु गरेका छन्। यो रोगको उपचारका लागि ठूलो धनराशि आवश्यक पर्ने र परिवारको आर्थिक क्षमताले नभ्याउने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको मोहम्मद गफ्फार (सुदीप) ले जानकारी दिए। यसैक्रममा व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदबाट रु २५ हजार १५० सङ्कलन भएको छ। 'दमौलीका विभिन्न व्यक्ति तथा सङ्घसंस्थामार्फत् पनि सहयोग जुट्न सुरु भएको छ,' उनले भने, 'सबैको सहयोग भए बालकलाई बचाउन सकिन्छ।'
रासस