शिशुको वृद्धि, विकास र स्वास्थ्यका लागि स्तनपानको महत्वपूर्ण भूमिका हुन्छ। शिशु जन्मेपछि पहिलो ६ महिनासम्म आवश्यक सम्पूर्ण पोषण स्तनपानबाट मात्रै प्राप्त हुन्छ। त्यसैले शिशुलाई यो अवधिमा स्तनपानबाहेक अन्य कुनै खाना वा पानीसमेत आवश्यक पर्दैन। पहिलो ६ महिनासम्म शिशुलाई २४ घन्टामा दिन र रातिको समयमा ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ। शिशु ६ महिना पूरा भएपछि पूरक खाना खुवाउन थाल्नुपर्छ। यससँगै २ वर्ष वा सोभन्दा बढी उमेरसम्म निरन्तर स्तनपान गराउनुपर्छ।
तर, आजकाल धेरै आमाहरु कामकाजी हुने भएकाले निरन्तर स्तनपान गराउने अवस्थामा हुँदैनन्। त्यसैले शिशुलाई आमाको दूध निरन्तर खुवाउने विकल्पका रुपमा ब्रेस्ट पम्प प्रभावकारी साधनका रुपमा उपलब्ध छ। खासगरी, रोजगारी वा अध्ययनमा संलग्न आमाहरु, कुनै कारणले शिशुसँग केही समय टाढा रहनुपर्ने अवस्था, दूधको अत्यधिक उत्पादन हुने स्थिति वा शिशु एनआइसीयूमा उपचाररत रहेको अवस्थामा ब्रेस्ट पम्पले स्तनपानलाई निरन्तरता दिन ठूलो मद्दत पुर्याउँछ।
यद्यपि ब्रेस्ट पम्पको प्रयोगसम्बन्धी पर्याप्त ज्ञान र जनचेतनाको अभावमा धेरैजसो आमाहरुले गम्भीर गल्ती गर्ने गरेको पाइएको छ। यसले गर्दा निप्पलमा चोट लाग्ने, स्तनमा दूध जमेर संक्रमण हुने र शिशुले सिधै आमाको दूध चुस्न छाड्नेजस्ता समस्या देखिने गरेका छन्।
ब्रेस्ट पम्प प्रयोगमा ख्याल गर्नुपर्ने कुरा
धेरैजसो आमाले सुत्केरी हुनेबित्तिकै पम्प गर्दा बोत्तल भरिने गरी दूध आउँछ भनी ठान्छन्। तर यो सही होइन। सुरुका ३ देखि ४ दिन अर्थात् करिब ९६ घन्टासम्म आउने बाक्लो बिगौते दूध (कोलस्ट्रम)को लागि बच्चालाई सिधै चुसाउनु वा हातले हल्का मसाज गरेर निकाल्नु नै उत्तम हुन्छ।
बच्चा जन्मेको ३–४ दिनपछि जब आमाको स्तनमा म्याचुअर्ड मिल्कको उत्पादन र बहाव सुरु हुन्छ, त्यसपछिमात्र पम्पको प्रयोग गर्नु उपयोगी हुन्छ।
यसैगरी, बजारमा उपलब्ध हुने जुनसुकै पम्प प्रयोग गर्न पनि मिल्दैन। बजारमा उपलब्ध धेरैजसो पम्पको फनेल नेकको आकार २७ एमएम हुन्छ। तर, अधिकांश आमाको निप्पलको आकार १९ देखि २१ एमएममात्र हुन्छ। ठूलो आकारको प्रयोग गर्दा निप्पल सुन्निने, तानिने र स्तन पूर्ण रुपमा खाली नहुने हुन्छ। स्तनमा दूध बाँकी रहँदा दूधको उत्पादन घट्दै जाने जोखिम हुन्छ।
किन्दा के कुरामा ख्याल गर्ने?
ब्रेस्ट पम्प किन्दा केवल पम्पमात्रै नकिनी यससँगै प्रयोग हुने आवश्यक सेट नै खरिद गर्नु आवश्यक हुन्छ, जसमा एडजस्टेबल ब्रा (पम्पलाई हातले समात्नु नपर्ने गरी अड्याउन मद्दत गर्ने), ब्रेस्ट प्याड (दूध पोखिन वा कपडा भिज्नबाट जोगाउने) र फ्ल्यान्ज (आमाको निप्पलको प्राकृतिक आकारअनुसार मिलाउने पम्पको फनेलभित्र राखिने सिलिकन कभर) संलग्न हुन्छन्।
म्यानुअल पम्पले सुत्केरी आमाहरुको हात र काँध दुख्ने तथा समान प्रेसर नमिल्ने हुँदा इलेक्ट्रिक, पोर्टेबल वा रिचार्ज गर्न मिल्ने पम्प प्रयोग गर्नु सहज हुन्छ। यस्ता मेसिनहरु ब्राभित्रै सेट गरेर काम गर्दागर्दै वा अन्य काम गर्दा पनि सजिलै दूध पम्प गर्न सकिन्छ।
अक्सर आमाहरुले इलेक्ट्रिक पम्प प्रयोग गर्दा एकै पटक हाइ मोडमा राख्ने गरेको पाइन्छ, जुन गलत हो, पम्प प्रयोग गर्दा निश्चित प्रक्रिया अपनाउनुपर्छ। सुरुमा ३ देखि ४ मिनेट मसाज मोडमा राख्नुपर्छ। त्यसपछि हल्का सक्सन हुन बिगिनिङ मोडमा राख्नुपर्छ। अनि, क्रमशः प्रेसरयुक्त हाइ मोड र अन्त्यमा लो मोड प्रयोग गरेर पम्पिङ पिरियड पूरा गर्नुपर्छ। एकै पटक हाइ मोडमा पम्प चलाउँदा निप्पलमा चोट लाग्ने उच्च जोखिम हुन्छ।
दूधको सुरक्षित भन्डार कसरी?
आमाले पम्प गरिएको दूधको सुरक्षित भन्डारमा ध्यान दिनुपर्छ। यस्तो दूधलाई कोठाको सामान्य तापक्रम, फ्रिजको तापक्रम र डिप फ्रिजको तापक्रम गरी तीन तरिकाले भन्डारण गर्न सकिन्छ। कोठामा सामान्य तापक्रममा राखिएको दूध ३–४ घन्टाभित्र खुवाउनु पर्छ भने फ्रिजको सामान्य तापक्रममा राखिएको दूध ३–४ दिनसम्म खुवाउन सकिन्छ। फ्रिजमा चाहिँ ढोकानेर भन्दा भित्रपट्टी राख्नु्पर्छ। डीप फ्रिजमा राखेको दूध भने ३ देखि ४ महिनापछि पनि खुवाउन सकिन्छ। तर यस्तो दूधलाई नतताई कुनै भाँडामा राखेर तातो पानीमा डुबाएर मनतातो बनाइ खुवाउनु पर्छ। डिप फ्रिजमा राखेको दूध अघिल्लो दिन नै साधारण फ्रिजमा सारेर पग्लन दिनुपर्छ। शिशुले एक पटक खाइसकेको कन्टेनर वा बोत्तलमा बाँकी रहेको दूध अर्को पटक खुवाउन मिल्दैन, फालिदिनुपर्छ। त्यसैले शिशुले कति खान्छ, त्यति नै छुटटाछुट्टै रुपमा भन्डारण गर्नुपर्छ। यस्तै, आमाको दूधलाई कहिल्यै पनि ओभन वा आगोमा राखेर उमाल्नु वा तताउनु हुँदैन।
नेपाली समाजमा ब्रेस्ट पम्पको प्रयोग त्यति आमरुपमा प्रयोगमा आइसकेको छैन। त्यसैले कामकाजी आमाहरुले बिदा सकिएर काार्यालय वा काममा फर्कनुभन्दा कम्तीमा २ वा ३ हप्ता अगाडिदेखि नै घरमा पम्प गर्ने, भन्डारण गर्ने र बच्चालाई सफा कचौरा वा बोत्तलबाट दूध खुवाउने अभ्यास गर्नुपर्छ। यसले गर्दा आमालाई २४ घन्टामा कति दूध पम्प गर्न सकिन्छ भन्ने अनुभव हुन्छ र आमाको अनुपस्थितिमा पनि शिशुले दूध खान अभ्यस्त हुन्छन् र आमा मानसिक रुपमा तनावमुक्त भएर कार्यालय जान सक्छिन्।
त्यसैले कामकाजी महिलका लागि ब्रेस्ट पम्प महत्वपूर्ण छ, तर यसको सही उपयोग, उपयुक्त फ्ल्यान्ज साइज छनोट, सरसफाइ र भन्डारणका नियमहरुको कडाइका साथ पालना गर्नु अति आवश्यक छ।
हालैका वर्षमा नेपालमा स्तनपान र मातृत्व स्वास्थ्यसम्बन्धी चेतना उल्लेखनीय रुपमा बढ्दै गएको छ। नर्भिकको ल्याक्टेसन क्लिनिकमा सुरुमा स्तनको अवस्थाबारे बुझ्न मानिसहरु आउथे। अहिले काठमाडौंकै विभिन्न अस्पतालबाट रेफर भएर आउने गरेका छन्। विशेषगरी, सहरी क्षेत्र तथा कामकाजी आमाहरुमा स्तनपान, ब्रेस्ट मसाज र दूध निस्कासनका विधिप्रति चासो बढेको पाइन्छ।
सामान्यतः गर्भावस्थाको जाँच (एन्टिनेटल केयर–एएनसी) का क्रममा बच्चाको तौल, आमाको स्वास्थ्य अवस्था लगायतलाई मात्र प्राथमिकता दिइन्छ। स्तनको स्वास्थ्य र दूध उत्पादनको पूर्वतयारीबारे गर्भावस्थामै पर्याप्त कुराकानी नहुँदा डेलिभरीपछि समस्या देखिने गर्छ। डेलिभरीपछि निप्पल रेडी नभएको वा पोर ब्लकेज भएको जस्ता समस्या एकैचोटि देखिन्छन्। त्यसैले गर्भावस्थाको अन्तिम चरणमा अर्थात् ३६–३७ हप्ताको अवधिमा ल्याक्टेसन कन्सल्टेन्टसँग परामर्श लिँदा मानसिक र शारीरिक रुपमा पूर्वतयारी गर्न ठूलो सहयोग पुग्छ।
सुत्केरी अवस्थामा गुलियो खानेकुरा जस्तै जेरी, गुँदपाक, चाकु आदि धेरै खाएमा दूध धेरै आउँछ भन्ने धारणा समाजमा व्याप्त छ। तर धेरै गुलियो सेवनले दूध बढाउनेभन्दा पनि आमालाई मोटोपन, फ्याटी लिभर र मधुमेहको जोखिम निम्त्याउँछ।
यसैगरी घिउमा अत्यधिक तारेर कालो बनाइएको ज्वानो खानुको साटो एक गिलास पानीमा एक चम्चा ज्वानो ५ देखि १० मिनेट उमालेर खाँदा स्वास्थ्यका लागि ठूलो फाइदा हुन्छ।
दूध उत्पादन गर्न प्रोल्याक्टिन हर्मोनले काम गरे पनि दूध बाहिर निकाल्न लभ हर्मोन मानिने अक्सिटोसिन आवश्यक पर्छ। यदि आमा सधैं तनावमा हुन्छन् भने जतिसुकै पौष्टिक खाना खाए पनि दूध बग्न सक्दैन। त्यसैले पोषिलो खानासँगै आमालाई पर्याप्त निद्रा, आराम र तनावमुक्त वातावरण दिनु नै सफल स्तनपानको मुख्य आधार हो।
(खातुन नर्भिक अस्पतालको न्युट्रिसन स्पेसलिस्ट तथा ब्रेस्टफिडिङ टेक्निकल एक्सपर्ट हुन्)