तपाईंहरु मध्ये कसैले अनुहार वा गालाको एकापट्टिको भागमा करेन्ट लागेजस्तो हुने, झमझमाउने र बेस्सरी दुख्ने गरेको अनुभव गर्नु भएको होला। विशेष गरी यस्तो समस्या ६५ वर्ष कटेका मानिसलाई बढी देखिने गर्छ। यो एक प्रकारको नशा सम्बन्धी रोग हो। यसलाई 'ट्राइजेमिनल न्युर्याल्जिया' भनिन्छ। यो रोग लाग्दा सधैँ दुखिरहने भने हुँदैन। तर, जब दुख्छ, यसको पीडा खप्न बिरामीलाई साह्रै मुस्किल पर्छ। कतिपय बिरामीले यसको पीडा सहन नसकेर विष सेवन गरेका घटनाहरु पनि छन्।
हाम्रो मस्तिष्कमा हुने पाँचौँ 'कार्नियल नर्भ'मा गडबडी हुँदा यस्तो समस्या आउनेगर्छ। कार्नियल नर्भमा हुने नशा निधार, गाला र बंगारामा गरी तीनतिर फैलिएको हुने भएकाले यसलाई ट्राइजेमिनल भनिन्छ। त्यसैले त्यहाँ हुने दुखाइलाई मेडिकल भाषामा ट्राइजेमिनल न्युर्याल्जिया भनिने गरिएको हो।
लक्षण
– अचानक अनुहारको एकापट्टीको भागमा बेस्सरी दुख्ने गर्छ। यो दुखाइ केही समयका लागि मात्र हुन्छ।
– दुखाइ तीव्र र अत्यधिक पीडा दिने किसिमको हुन्छ। र, झन्झनाउने पनि गर्छ।
– वृद्धवृद्धालाई यस्तो समस्या बढी हुन्छ।
– विशेषगरी दाँत माझ्दा, खाँना खाँदा र खुला ठाउँमा हिँड्दा यस्तो समस्या देखापर्छ।
उपचार
यो रोग भए/नभएको पुष्टि गर्नका लागि 'न्युरोलोजिकल' जाँच गर्नुपर्ने हुन्छ। यसका लागि मस्तिष्कको एआरआई गरेर हेर्नुपर्ने हुन्छ। यो रोगको उपचार बिरामीको उमेर र शारीरिक अवस्थाअनुसार गर्नुपर्ने हुन्छ। सामान्य अवस्थामा अस्पतालको ओपिडीमा जाँच गराएर औषधि सेवन गर्न सकिन्छ। अत्यधिक पीडा भएर औषधिले मात्र निको हुन नसक्ने अवस्था आएमा शल्यकक्षमा लगेर विशेष उपचार गर्नुपर्ने हुन्छ। जसलार्इ मेडिकल भाषामा 'इन्टरभेन्सन' गर्ने भनिन्छ। वृद्ध मानिसहरुमा यो समस्या बढी देखिने भएकाले नियमित औषधि सेवन नै उपचारको सुरक्षित विधि हो।
जति उमेर बढ्दै गयो त्यति यो रोगका जटिलता बढ्दै जान्छन्। कहिलेकाँही दुई वा दुईभन्दा बढी औषधिको सेवनले पनि दुखाइ कम हुन सकेन भने त्यस्तो अवस्थालाई 'क्रोनिक पेन' भनिन्छ। क्रोनिक पेन हुँदा 'न्युरोलोजिकल इन्टरभेन्सन'हरु गर्नुपर्ने हुन्छ। ट्राइजेमिनल न्युर्याल्जिया रोगमा गरिने इन्टरभेन्सनहरुमध्ये राम्रो परिणाम दिने उपचार पद्दति तीनवटा छन्।
१. परक्युट्यानियस रेडियो फ्रिक्वेन्सी एब्लेसन अफ ग्यासेरियोन ग्याङ्ग्लियोन
ट्राइजेमिनल नर्भको उपचारका लागि यो सबैभन्दा भरपर्दो र बिना शल्याक्रिया गरिने सुरक्षित उपचार पद्दति हो। यो नयाँ प्रविधि हो। यो विधिबाट ट्राइजेमिनल न्युर्याल्जिया मात्र नभई शरीरका अन्य जुनसुकै क्रोनिक पेनको उपचार गर्न सकिन्छ। नयाँ प्रविधि भए पनि यो जटिल प्रकृतिको हुन्छ। ट्राइजेमिनल नर्भको उपचार गर्दा बिरामीको खप्परको मुनिबाट सानो सुइ मस्तिष्कमा दुखाइ भएको स्थानसम्म पठाइन्छ। ४० देखि ५० डिग्री सेन्टिग्रेडको तापमार्फत नशाबाट करेन्ट फ्याल्ने कामलाई पूर्णरुपमा बन्द गराइन्छ। यसका लागि शल्यक्रिया कक्षमा बिरामीलाई बेहोश बनाई करिब एक घण्टा उपचार गर्नुपर्ने हुन्छ।
यो विधिबाट उपचार गर्दाका केही चुनौति पनि छन्। यसको नकारात्मक पक्ष भनेको दिमागको नशामा संक्रमण फैलिन सक्ने सम्भावना रहन्छ। यो उपचार विधि अपनाउँदा निक्कै सजग भएर गर्नुपर्ने हुन्छ। त्यस्तै, वृद्धवृद्धाहरुमा कहिलेकाहीँ यो उपचारपछि दिमागको नशामा रगत जम्ने समस्या देखिन सक्छ। केही-केहीमा यो उपचार गरिसकेपछि गाला सुन्निने हुन सक्छ। तर, हामीले बिरामीमा हालसम्म गरेका उपचारमा यस्ता समस्या भेटेका छैनौँ। यसअघि नेपालमा यो उपचार पद्दति नहुँदा बिरामीहरु भारतमा गएर धेरै पैसा खर्च गरेर उपचार गराउन वाध्य थिए। नेपालमा यो विधिबाट उपचार गराउँदा भने भारतमा गर्नुपर्ने जति खर्च हुँदैन।
२. गामा नाइफ सर्जरीः यो शल्यक्रिया विधि हो।
३. माइक्रो भास्कुलर डिकम्प्रेसनः यो पनि शल्यक्रिया विधि नै हो।
प्रस्तुतिः पारसविक्रम शाही