आमा र शिशुबीचको सम्बन्ध निकै महत्वपूर्ण हुन्छ। आमा र शिशुबीचको निकटताले दुवैको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउने एक प्रक्रिया हो, कंगारू मदर केयर।
कंगारू नामक जनावरबाट प्रेरणा लिई सन् १९७० को दशकमा कोलोम्बियाको राजधानी बोगटामा यो प्रक्रिया विकसित गरिएको हो। त्यति बेला समय नपुगी जन्मिएका शिशुहरुको मृत्युदर ७० प्रतिशत सम्म थियो। शोधकर्ताहरुले दिनभर आफ्नो आमासँग टाँसिएर बसेका शिशुहरुमा मृत्युदर कम भएको पत्ता लगाए।
कंगारू मदर केयर समय नपुगी जन्मिएका शिशुहरुलाई दिइने विशेष हेरचाह हो, जुन शिशु र आमाको छाला जोडाएर प्रदान गरिन्छ। यो शक्तिशाली र प्रयोग गर्न सजिलो शिशु हेरचाहको तरिका हो, जसले समय नपुगी जन्मिएका तथा समय पुगी जन्मिएका सबै शिशुको स्वास्थ्यलाई प्रोत्साहन गर्छ। यस प्रकारको स्पर्श शिशु र आमाबीचको सम्बन्धको लागि मात्र राम्रो नभई यो शिशुको लागि चिकित्सकीय रूपमा लाभकारी हुने गरेको छ।
किन महत्वपूर्ण छ, कंगारू मदर केयर?
कंगारू मदर केयर शिशुको जन्मिदाखेरिको अवस्था, तौल, गर्भलिंगको समय वा कुनै रोगको बावजुद तापक्रम नियन्त्रण, स्तनपान तथा आमा र नवजात शिशुबीचको सम्बन्ध बढाउनका लागि प्रभावकारी देखिएको छ। शिशुको मुटुको चाल र सास फेर्ने ढाँचालाई स्थिर बनाउनका साथै यसले शिशुलाई सुत्नमा तथा तौल बढाउनमा पनि मद्दत गर्छ।
समय नपुगी जन्मिएका शिशु तथा केही रोग लागेका शिशुका आमाहरूलाई बढी उदासिनता देखिने गरेको छ। यो उदासिनता समय पुगेर जन्मिएका शिशुका आमाभन्दा समय नपुगी जन्मिएका शिशुका आमाहरुमा बढी देखिन्छ। कंगारू मदर केयरले आमामा हुने उदसिनता घटाउन मद्दत गर्नुका साथै यसको असरलाई कम गर्छ।
सुत्केरी अवस्थामा आमाको शरीरमा निस्किने अक्सिटोसिन नामक तत्वले आमाको उदसिनता कम हुन्छ। कंगारू मदर केयरले यस तत्वको निष्कासनलाई प्रोत्साहन गर्छ। कंगारू मदर केयरले आमाको आत्मबल बढाउने, स्तनबाट दुध निस्कन प्रोत्साहन गर्ने तथा शिशुसँगको सम्बन्धन बढाइ निकटताको लागि प्रोत्साहन गर्छ।
कंगारू मदर केयर दिने उपाय
कहिले शुरू गर्ने?
आमा वा शिशुलाई कुनै पनि रोग वा समस्या नभएसम्म यो कुनै बेला पनि सुरु गर्न सकिन्छ। सुरु गर्नअघि यो जान्न जरूरी छ कि, कंगारू मदर केयर आमा र बुवाले नै शिशुलाई प्रदान गर्न सक्छन्।
कंगारू मदर केयरको आरम्भ
कंगारू मदर केयरको आरम्भ गर्दा पहिलो सत्र निकै महत्वपूर्ण हुन्छ। यसलाई बढी समय र अविभाजित ध्यान दिन जरूरी छ। आमाले हल्का र खुकुलो लुगा लगाउनु पर्छ। सानो बच्चाको लागि पर्याप्त तातो तापक्रम रहेको निजी कोठाको प्रयोग गर्नुपर्छ। आमालाई यदि चाहना भएमा आफ्नो श्रीमान् वा आफ्नो रोजाइको कुनै साथीसँगै बसेर कंगारू मदर केयर दिन प्रोत्साहन गरिन्छ। यसले सहायता र आश्वासन दिन मद्दत गर्छ।
कंगारू स्थिति
निम्न तस्वीरमा देखाए जस्तै सीधा पारेर आमाले शिशुलाई आफ्नो स्तनहरु बीचमा राख्नुपर्छ। यसो गर्दा आमा र शिशुको छाती जोडिएको हुनपर्छ।
शिशुको टाउकोलाई एकातिर फर्काएर र हल्का तन्काएर शरीरलाई एक सफा कपडाले आमाको शरीरसँग बाँध्नुपर्छ। यसरी बाँध्दा कपडाको माथिल्लो भाग शिशुको कानमुनि हुनुपर्छ। हल्का तन्काएर राखिएको टाउकोले शिशुको सास नलीलाई खुला राख्न मद्दत गर्दछ तथा आमा र शिशुबीच आँखा–देखि–आँखाको सम्पर्क राख्न मद्दत गर्छ। शिशुको टाउकोलाई धेरै तन्काए वा अगाडि घोप्टाएको हुनुहुदैन। शिशुको कुहिना र घुँडा खुम्चिएको तथा कम्मर तन्किएको हुनपर्छ।
बेरिएको कपडा कस्सिएको छ कि छैन भनेर हेर्नुपर्छ, ताकि आमा उभ्भिदा शिशु चिप्लिएर न झरोस्। कपडा कस्सिएको भाग शिशुको छातीमा परेको हुनुपर्छ, पेटमा हुनुहुदैन। शिशुको पेट आमाको पेटको माथिल्लो भागमा हुनुपर्छ। यो गरेमा शिशुलाई सास फेर्न सजिलो हुन्छ र आमाको सास फेराइले शिशुलाई चनाखो हुन मद्दत गर्छ। (निम्न तस्वीरमा जस्तै)
आमाले कंगारू स्थितिमा पनि शिशुलाई स्तनपान गराउन सक्छन्। कंगारू मदर केयरले वास्तवमा स्तनपानलाई सजिलो बनाउँछ। बच्चालाई स्तनको नजिक राख्दा कंगारू स्थितिले दुध उत्पादनलाई प्रोत्साहन गर्छ।
कंगारू मदर केयरमा आमाले आराम गर्ने तरिकाः
आमालाई कंगारू स्थितिमा उत्तानो परेर सुत्न सजिलो हुन्छ। आमाको पिठ्युँ खाटसँग १५ डिग्रीको कोणमा हुनपर्छ, पिठ्युँमा तकिया हालेर यस्तो बनाउन साकिन्छ (निम्न तस्वीरमा झैं)।
यस स्थितिमा आराम गर्दा शिशुलाई सास फेर्न गाह्रो हुने समस्या कम मात्रामा देखिने गरेको छ। आमालाई यो स्थितिमा आराम गर्न गाह्रो हुन्छ भने आफूलाई सजिलो हुने कुनै पनि स्थितिमा आराम गर्न सक्छिन्। किनभने शिशुलाई सास फेर्न गाह्रो हुने समस्या आउने सम्भावना भन्दा शिशुलाई कंगारू मदर केयरले दिएको लाभ निकै बढी छ।
नोटः चित्रहरु विश्व स्वास्थ्य संगठनको ‘कंगारु मदर केयर: अ प्राक्टिकल गाइड’ पुस्तिकाबाट साभार गरिएको हो।