उसले भन्यो– ‘ओई, तैंले थाहा पाईस? यसपालिको पुरस्कारमा पनि आकस्मिक कक्षबाट कोही सिफारिसमा परेन छ नि!’
उसको आवाजमा एक किसिमको हतोत्साह, आत्मग्लानी र आश्चर्यबोध महसुस गर्न सकिन्थ्यो। ऊ भावुक र गम्भीर देखिन्थ्यो।
तर, मैले खिस्स हाँसे र भनिदिएँ– ‘तैंले आकस्मिक कक्षमा बसेर त्यस्तो के गरेको छस् र पुरस्कार दिनुपर्ने?’
‘हेर साथी! मलाई पुरस्कार दिएन भनेर गुनासो गरेको होइन। कम्तीमा पनि टेकु अस्पतालको आकस्मिक कक्षबाट एक जना मात्र भए पनि पुरस्कृत हुनुपर्ने होईन र? जस्तो सुकै भए पनि कोभिड–१९ को यो महामारीमा टेकु अस्पतालको आकस्मिक कक्षमा बसेर हामीले जुन सेवा दिएका छौं, त्यसलाई नजरअन्दाज गर्न मिल्छ र?’ उसले अझै गम्भीर हुँदै मलाई प्रतिप्रश्न गर्यो।
संसार आशावादी मान्छेहरुको लागि हो, तर म निराशावादीमध्येमा पर्छु। म कर्ममा विश्वास गर्ने मान्छे, पुरस्कारमा विश्वास गर्न कहिल्यै जानिनँ। आकस्मिक कक्षमा बसेर सेवा दिइरहँदा कुनै दिन पुरस्कार पाइएला कि भन्ने आशा कहिल्यै पलाएन। हरेक पटक विभिन्न निकायका सम्बन्धित कार्यालय प्रमुखको निकटका मात्र पुरस्कारका लागि सिफारिस हुने र सत्तासँग वैचारिक निकटता भएका मात्र पुरस्कृत हुनेगरेको देखेको भएर पनि होला, मलाई पुरस्कारप्रति खासै चासो रहँदैन।
पुरस्कारप्रति विश्वास नलाग्नुको कारण अर्को पनि छ। पुरस्कृत भएका साथीहरुलाई बधाई दिंदै एउटाले भन्छ– ‘ल बधाई छ, तेरो पहुँच राम्रो रैछ।’
अर्कोले थप्छ– ‘हाकिमको जिग्री भको नि बेलामा काम लाग्दो रैछ, ल ल बधाई छ।’
कमैले मात्र उसको कामको प्रशंसा गर्दै पुरस्कार प्राप्त गरेकोमा बधाई दिएको सुन्न पाइन्छ। अनि त, पुरस्कार प्राप्त गर्नेले पनि बडो लज्जाबोध गर्दै बधाई ग्रहण गरिरहेका हुन्छन्। किनकि, ‘वास्तवमा यो पटक पुरस्कारका लागि मभन्दा अरु कोही योग्य थियो’ भन्ने ऊ स्वयम्लाई राम्रोसँग थाहा हुन्छ। त्यसैले मलाई पुरस्कारप्रति त्यति रुचि लाग्दैन। पुरस्कार पाउनेप्रति न त उच्च सम्मान जाग्छ, न त कुरै काट्न मन लाग्छ।
त्यसैले पनि म साथीको कुरामा त्यति गम्भीर हुन सकिन। तर, अनुहार र भावभंगीले उसले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ भन्ने महसुस गरिरहेको थिएँ। ऊ दुई पाइला नजिक सर्दै मलाई भन्यो– ‘होइन साथी! यो त अत्ति भएन र? यस्तो महामारीमा टेकु अस्पतालको आकस्मिक कक्षमा काम गरेका हामी स्वास्थ्यकर्मीमध्ये कोही नपर्नु बिडम्बना हो नि!’
‘के गर्छस साथी? यदि आकस्मिक कक्षबाट कोही एक जना मात्र पनि परेको भए तिमी–हामीलाई झन् पीडा हुन्थ्यो। अहिले कसैले न त पुरस्कार पाएको छ, न त सिफारिसमा नै परिएको छ। त्यसैले त यसरी खुलेर गफ गरेका छौं। नत्र तिमी–हामीमध्येका कोही एक दुई जना एकातिर गजक्क परेर बसेका हुन्थ्यौँ भने, कोही अर्कोतिर कुरा काटेर बसेका हुँन्थ्यौं,’ उसलाई आस्वस्त पार्न भनें। तर, उसको असन्तुष्टि अनुहारभरि छरपस्ट पढ्न सकिन्थ्यो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा रही २०७६ माघ महिनादेखि नै हामी कोभिड बिरामीको निरन्तर व्यव्स्थापन गरिरहेका छौं। विभिन्न समयमा जनशक्ति कम हुँदा पनि हामीले आफ्नो जिम्मेवारीलाई अत्यन्त कुशलता पुर्वक निभाउने प्रयास गरि नै रह्यौँ।
पहिलो लहरको त्रासदी र दोस्रो लहरको भयावह अवस्थामा कोभिड डेडिकेटेड अस्पतालको आकस्मिक कक्षमा रहेर काम गर्नु एकातिर ‘सौभाग्य’ थियो भने, अर्कोतिर कम चुनौतीपूर्ण थिएन। तैपनि हामी विचलित नभई काम गरिरह्यौँ।
‘आकस्मिक कक्ष त अस्पतालको ऐना हो नि,’ उ भन्दै थियो, ‘के हामी हाम्रो कर्तव्यबाट कुनै दिन पछि हट्यौँ र? अस्पतालको आँगनभरि छरपस्ट बिरामी हुँदासमेत किञ्चित विचलित नभई स्वास्थ्य सेवा दिई रह्यौँ।’
यस पटक भने अनायाश उसका गला अवरुद्ध भए र दुई चक्षुबाट मोतिका दुई दाना तपक्क भुँइमा खसे। अनायास म भावुक भएँ।
‘साथी! हामी तलबी कर्मचारी, हामीले तलब खाएका हौं र त्यो वापत सेवा दिनु हाम्रो कर्तव्य हो, भयो मन सानो नगर,’ उसलाई सम्झाउने प्रयास गर्दागर्दै आफ्नै मन कोक्किइ सकेको थियो।
उसले आफ्नो खल्तीबाट एउटा कागज देखाउँदै भन्यो– ‘ल हेर, २०७८ को वैशाखदेखि श्रावण मसान्तसम्म मात्र दुई हजार तीन सय छब्बीस जना कोभिड बिरामीलाई सेवा दिइएछ। अझ कतिपय शंकास्पद बिरामीलाई कोभिड नेगेटिभ भएको कारण पछि अन्य अस्पताल प्रेषण गरिएको छ। आकस्मिक कक्षमा बसेर आवश्यक परामर्श सेवा लिन आएका कतिलाई परामर्श दिएर मात्र पनि पठाइएको छ। अन्य सेवा लिन आएका सेवाग्राहीहरु हाम्रो परामर्शबाट सन्तुष्ट नभई अन्यत्र जानु परेको कारण हामीसँग कराएका छन्, झोक्किएका छन् र केहिले त धम्कीसम्म दिन भ्याएका छन्। ती सबै परिस्थितिलाई सहँदै सेवा दिनबाट हामी कुनै दिन पनि विचलित भएनौँ।’
यो महामारीमा पनि अस्पतालको सोधपुछ कक्ष पूर्ण व्यवस्थित थिएन। आकस्मिक कक्षमा बसेका हामीले नै सोधपुछका लागि आएका सेवाग्राहीको जिज्ञासा मेटाउने प्रयास गरेका थियौं। विभिन्न कारणले सेवाग्राहीमा भएको असन्तुष्टि समेत हामीमाथि आक्रोश बनेर पोखिन्थ्यो। जसलाई हामीले सहज व्यवस्थापन गरेकै थियौं। उसले यी सबै बेलिबिस्तार लगायो। म पनि त त्यसको भुक्तभोगी नै थिएँ निँ।
‘तँ हामीसँगै काम गरेका होइनौं र?’ मैंले उसैलाई प्रतिप्रश्न गरेँ, ‘तर, हाम्रो काम जसले देख्नुपथ्र्यो, देखेन। अब के गर्छस्?’
मेरो बोली नसकिँदै फेरि उ बोल्न थाल्यो– ‘आकस्मिक कक्षको गेटको दश मिटर पर उत्तर दिशामा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा छ, करिब चौधसय मिटर पर उत्तरपूर्वी इशान दिशामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ। करिब पन्ध्र मिटर पर पश्चिम उत्तर वायव्य दिशामा स्वास्थ्य सेवा विभागसँगै जोडिएको छ, पछाडि परे पनि दक्षिण आकाश दिशामा कार्यालय प्रमुखको कार्यकक्ष छ। तर, कहीं कतैबाट पनि हामीले दिएको सेवा देखिएन।’
मानौ म अनभिज्ञ छु, त्यसैले उ भन्दै छ।
‘मानिसहरु सरकारी अस्पताल भन्नासाथ फोहोर हुन्छ भन्ने मान्यता राख्छन्। तँ आफैं भन् हाम्रा कार्यालय सहयोगीहरुले सरसफाई नगरेको कारण आकस्मिक कक्षमा आएका बिरामी तथा तिनका कुरुवाहरुले नाक खुम्च्याउनु परेको छ? यो चार महिनाभित्र मात्र झण्डै पन्ध्रसय बिरामीलाई व्हिल चियरमा राखेर एक्स रे गर्न लाने ल्याउने गरेका छन्। अत्यन्त सिकिस्त एक सय अठ्ठाइस बिरामीलाई बडो हिफाजतका साथ आईसीयू पुर्याएका छन्। लिफ्ट नभएको हाम्रोजस्तो अस्पतालमा व्हिल चियर र प्यासेन्ट ट्रलीमा राखेर एक तल्लामाथि सकुशल बिरामी पुर्याउनु पनि त सहज छैन नि।’
ऊ अझ बोलिरहेको छ– ‘त्यसैगरी एक तल्लामाथिको क्याबिनमा त्रियानब्बे जना र वार्डमा पाँच सय अन्ठानब्बे जनालाई सकुशल पुर्याएका छन्। यो पटक क्याबिन, आईसीयू र वार्ड भरिएको कारण आकस्मिक कक्षमा नै बिरामी भर्ना गरेर उपचार गरियो, ती सबैलाई अस्पतालले उपलब्ध गराउने खाना तथा बिहानीको खाजासमेत जिम्मेवार ढंगले खुवाएका छन्। हेर साथी, न त आकस्मिक कक्षका स्वास्थ्यकर्मी अब्बल ठहरिए न त कार्यालय सहयोगी नै। यो त अत्ति नै भएन र?’
‘सक्कियो?’ उसको कुरो सुनिसकेपछि प्रश्न गरेँ।
उसले चुपचाप मलाई हेरिरह्यो।
‘तँ, हामी चित्त दुखाउन सक्छौं, निर्णय बदल्न सक्दैनौं। आकस्मिक कक्षका कोही पुरस्कारका लागि योग्य थिएनन् र पुरस्कार दिइएन भन्ने बुझौं र अझ बढी काम गरौं। जीवनमा आफूले गरेको काममा आत्मसन्तुष्टि लिनुभन्दा ठूलो पुरस्कार अरु केही हुनै सक्दैन। फेरि म त सानो–सानो कुरामा खुसी हुन जानेको मान्छे। तँलाई याद छ, एक पटक एउटा बिरामीलाई एम्बुलेन्सबाट ओराल्नुअघि मैले दिएको परामर्शको भिडियोलाई २०२१ मे १ मा आफ्नो टुइटर एकाउण्टमा शेयर गर्दै विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले लेखेका थिए–स्थिति यति प्रतिकूल छ। बिरामीलाई आईसीयू बेड, भेन्टिलेटर दिन सक्ने स्थिति छैन, स्वास्थ्यकर्मी आफैं कति तनाबमा होलान्? यो सबका बावजुद बिरामीको आफन्तलाई उहाँले कति राम्रोसँग सम्झाएको। बिरामीको सेवामा अहोरात्र खटिएका सबै स्वास्थ्यकर्मीलाई नमन।’
यी शब्द एक अज्ञात स्वास्थ्यकर्मीको लागि थियो, जो म आफू थिएँ। हो त्यत्ति शब्द मेरा लागि अमूल्य पूरस्कार थियो। निको भएर जाँदा बिरामी तथा उनका आफन्तले दिने शुभ वचन मेरो लागि लाखौंको पुरस्कार थियो। आकस्मिक कक्षको तस्बिरसहित विभिन्न पत्रपत्रिका, टेलिभिजन र अनलाइन खबरहरुमा आएको अस्पतालको सकारात्मक समाचारहरु मेरा लागि करोडौंको पुरस्कार थियो। तर, आफु स्वयम्को मन नबुझेको भए पनि उसलाइ बुझाउने असफल प्रयास गर्न यी शब्द खर्चिएँ।
उ अचानक मप्रति आक्रोसित भयो। ‘कम्तीमा तँ त स्वाभिमान, आत्मसम्मान र अन्यायको विरुद्ध बोल्छस कि भन्ने लागेको थियो, तर तँ पनि बोलिनस्।’
‘हेर साथी! म, हामीलाई पुरस्कृत गरियोस् भनेर याचना गर्न जान्नँ,’ मैले पनि अलिक रुखै स्वरमा जवाफ दिएँ। जुन देशमा निजामती सेवा दिवस–२०७८ को अवसरमा प्रदान गरिएको चालीस वटा उत्कृष्ट निजामती सेवा पुरस्कारमध्ये तेत्तीस वटा उपत्यकाभित्रका कर्मचारीलाई र सात वटा पुरस्कार मात्र अति दुर्गम तथा दूरदराजमा कार्यरत कर्मचारीलाई दिइन्छ, त्यो देशमा एउटा अस्पतालभित्रको एउटा युनिटमा काम गर्ने हामी कर्मचारीले पुरस्कार पाइएन भनेर कोकोहोलो मच्चाउनुको कुनै अर्थ छैन। सायद यो पटक टेकु अस्पतालको आकस्मिक कक्षमा कसैले राम्रो गर्न सकिएन वा मूल्यांकन गर्नेको नजरमा हामी योग्य भएनौँ वा मूल्यांकन गर्नेको हामी प्यारो हुन सकेनौं। वा हामीलाई पुरस्कृत गर्दा पुरस्कारको महत्व घट्छ भन्ने सोचियो। वा हिजोको सरकार होस् या आजको, दुवैको निकट हुन सकेनौं। आखिर आकस्मिक कक्षमा कार्यरत हामी सबै कर्मचारी न त राष्ट्रपतिबाट २०७७ मा दिइएको विभूषणको लागि योग्य ठहरियौं, न त बारबरा फाउण्डेसनले दिएको पुरस्कारका लागि अब्बल ठानियौं। न २०७८ मा राष्ट्रपतिबाट प्रदान गरिने विभूषणमा चयन हुन सकियो, न त निजामति पुरस्कार–२०७८ मैं सिफारिस हुन सकियो।
यो सब सोचेर म आफू कमजोर हुन चाहन्नँ। पुरस्कार नपाए पनि तलब र जोखिम भत्ता पाएका छौं र आफ्नो जिम्मेवारी निभाउनु हाम्रो नैतिक दायित्व हो। त्यसकारण म यो विषयमा मौन बस्न चाहन्छु।
तर, मैले उसलाई अर्कै कुरा भनेँ, उसको दुखित अनुहार हँसाउनु पनि त थियो।
‘के थाहा? नेपालमा स्थापना भएको कुनै पनि पुरस्कारले हाम्रो योगदानको सम्मान हुन सक्दैन भनेर पो नदिएको हो कि!’
मेरो अन्तिम वाक्य सुनेर उ फिस्स हाँस्दै अघि बढ्यो। सायद उसले मेरो अन्तिम वाक्यलाई व्यङ्ग्य सम्झियो कि! म उसको गमन हेर्दै एकोहोरो टोलाइरहे।
–लेखक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा कार्यरत छन्।