म तत्कालीन शिद्धेश्वरी गाउँ विकास समिति ९ (हाल सिद्धकुमाख गाउँपालिका–३) ढोरचौर सल्यानबाट २०४७ सालमा पहिलो एसएलसी उत्तीर्ण व्यक्ति हुँ। कृषि मुख्य पेशा रहेको पारिवारिक परिवेशमा हुर्कदै आफ्नो अध्ययनलाई निरन्तरता दिएँ।
‘छोरा गाउँकै विद्यालयमा शिक्षक बनोस र घरको खेतीपातीलाई अगाडि बढाओस्’ भन्ने बुवा–आमाको सोच थियो। जब मैले एसएलसी राम्रो अंकले पास गरँे। स्थानीय विद्यायलमा एक जना शिक्षकको नयाँ दरबन्दी जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भयो। उक्त विद्यालय रहेको वार्डमा म एक जना मात्र एसएलसी गरेको व्यक्ति भएकोले अन्य कुनै पनि प्रतिस्पर्धी थिएनन्। त्यसैले मेरो नियुक्ति सहज भयो।
म अब आफ्नो भविष्य शिक्षण पेशामै अगाडि बढाउने कुरामा पनि ढुक्क थिएँ। आफ्नो पेशालाई सँगसँगै अध्ययनलाई पनि अगाडि बढाए। जिल्लास्थित क्याम्पसमा प्रवीणता प्रमाण पत्र तहमा भर्ना भई अध्ययन सुरु गरेँ। त्यो बेला मेरो क्लास बिहानीको समयमा हुन्थ्यो।
एकदिन बुवाले विद्यालयको व्यवस्थापन समितिको अध्यक्षलाई शिक्षक नियुक्ति बारेमा जानकारी लिएको कुरा याद आउँछ। अध्यक्षले मलाई नै नियुक्ति दिने आश्वासनले मेरो परिवार खुशी भएको थियो। म पनि अब यही पेशामै अघि बढ्ने भएँ भनेर अन्य विधामा जाने योजनाहरु स्थगित गरँे। तर यो क्रममा धेरै बाधाहरु आए। केही व्यक्तिहरुले उनीहरुको व्यक्तिगत स्वार्थका कारण मलाई नियुक्ति दिने भनिएको ठाउँमा अन्य शिक्षकलाई नै सरुवा गरी मेरो शिक्षक बन्ने सपना रोके र मलाई नियुक्ति दिएनन्।
मेरो सपना बिफल भएपछि म केही नयाँ सोचका साथ अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगे। सुरुमा मलाई स्वास्थ्यको प्राविधिक कोर्सको अध्ययन गर्ने मन थियो। तर उक्त कोर्ष अध्ययन गर्न मेरो हैसियत थिएन।
२०४८/४९ सालमा सरकारले हरेक गाविसमा एउटा उप–स्वास्थ्य चौकीको स्थापना गरी प्रतिकारात्मक, प्रबन्धनात्मक तथा सामान्य उपचारात्मक सेवा प्रदान गर्ने नीति अनुसार क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रबाट १८ महिने स्वास्थ्य सहायक प्राविधिक कोर्सको अध्ययनका लागि निवेदन आह्वान गर्यो।
सुरुको ब्याचमा प्रतिशतको आधारमा जिल्ला स्वास्थ्य कार्यालयबाट छनौट गर्ने नियम थियो। मैले पनि निवेदन दिएको थिएँ। तर मेरो भन्दा बढी अंक ल्याउने अन्य साथीहरु हुँदा म उक्त कोर्षमा अध्ययनका लागि गर्न छनौट भइन। तर मेरो प्रवीणता प्रमाणपत्र तहको पढाई सुचारु थियो। मैले प्रथम वर्ष नियमित पास गरे। मलाई फेरि अर्को वर्ष २०४९÷५० मा उक्त कोर्स अध्ययनका लागि फाराम भर्ने इच्छा भयो। तर त्यसका लागि मेरो जिल्लाको क्षेत्रीय कार्यालय सुर्खेतसम्म जानु पथ्र्यो।
सुर्खेत जानको लागि पनि प्राविधिक र आर्थिक रुपमा मलाई गाह्रो थियो। घरमा आम्दानीको रुपमा केहि नगदे बालीहरु बिक्रि गरेर परिवारका सबै सदस्यहरुको लागि लत्ता कपडाको व्यवस्था हुन्थ्यो। परिवारको गुजारा नै कृषिबाट हुन्थ्यो। त्यसैले बाहिर गएर अध्ययन संभव थिएन।
तर मलाई स्वास्थ्य प्राविधिक कोर्स अध्ययन गर्नु थियो। त्यसैले मैले यो कोर्स अध्ययनका लागि एक जना साथीलाई पनि अनुरोध गरे। सुरुमा उनी मानेन्। तर साथीलाई दिएको हौसला र अनुरोधका कारण उनी यो अध्ययनका लागि तयार भए। त्यसपछि हामी निवेदन दिनका लागि हिडेर सुर्खेत पुग्यौँ।
सुर्खेतमा फाराम पनि भर्यौं। तर मलाई यही बिचमा दुई साताको धान खेती सम्बन्धी कृषि तालिममा पनि सहभागी हुनु थियो। किनभने उक्त तालिम मेरो लागि ठूलो अवसर पनि थियो। तालिमबाट मैले विभिन्न सिपसँगै केही रकम पनि प्राप्त गरेँ। उक्त रकमले मैले स्वास्थ्य प्राविधिकको अध्ययनका लागि प्रवेश परीक्षा दिने, बस्ने, खाने, नाम निस्किएमा भर्ना हुन लाग्ने रकमको व्यवस्था पनि हुने भयो।
तालिमबाट फर्किएर मैले यसको प्रवेश परीक्षा दिएँ र उत्तीर्ण पनि भएँ। अब भने म पूर्ण रुपले शिक्षक नभई डाक्टर हुने लाइनमा गएँ। हुन त डाक्टर बन्न कम्तीमा पनि एमबीबीएस गर्नुपर्छ। तर मैले जति सक्छु त्यो गर्छु र समाजका लागि केही गर्छु भन्ने अठोट लिएर अघि बढे।
सुर्खेतमा १८ महिनाको अध्ययनपछि मैले औषधि सम्बन्धी तालिम पनि लिएँ। जसले मलाई औषधिको बिक्रि वितरणको ज्ञान दियो र केही वर्ष औषधि पसल पनि गरेँ। स्वास्थ्य चौकीमा काम गर्ने क्रममा बिरामीको सेवा गर्ने मौका मिल्यो। बिरामीको सेवा गर्न पाउँदा मनलाई आनन्द मिल्थ्यो। उहाँहरुबाट पाएको माया र सद्भावले मलाई झनै जिम्मेवार बनायो।
मैले स्वास्थ्य शिक्षा विषयमा शिक्षा संकायबाट स्नातक उत्तीर्ण गरेँ। तर त्यो बिषयले मलाई स्वास्थ्य सेवाको उपल्लो पदमा रही काम गर्न नियमले मिल्दैन थियोे। अतः मैले उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्छ भन्ने सोच्न थालेँ।
म पोस्ट ग्राजुयट डिप्लोमा इन हेल्थ प्रोमोशन एण्ड एजुकेसन कोर्स अध्ययनका लागि भारतको तमिलनाडुमा पुगे। यो कोर्स अध्ययनका लागि मलाई बाटो देखाउने आदरणीय सर रोहित ओदारी र उहाँको टिमलाई धेरै धेरै धन्यवाद छ। केहि समयपछि म वीर अस्पतालमा सेवा गर्न थाले। बिहान पार्ट टाइमको लागि विभिन्न कलेजहरुमा आध्यापन गर्थें र दिउँसो वीर अस्पतालमा काम गर्थें। मैले जनस्वास्थ्य सम्बन्धी दुई वटा पुस्तकहरु पनि लेखे। जसले मलाई लेखन कार्यमा उत्प्रेरित गरायो।
मलाई जनस्वास्थ्य विषयमा मास्टर डिग्री अध्ययन गर्न युरोप तिर जान मन लाग्यो। मैले गुगल सर्च गरेर डेनमार्कको एक प्रतिष्ठित युनिभर्सिटीमा निवेदन दिनका लागि सोधपुछ इमेल लेखे। मेरो इमेलको आधारमा उताबाट निवेदन पेश गर्न सुझाव आयो र मैले आवश्यक प्रमाणपत्र सहित निवेदन दिएँ। केहि महिना पछि मैले डेनिश सरकारको छात्रवृतिमा नाम निकाल्न सफल भएँ।
डेनमार्क जनस्वास्थ्य र स्वास्थ्य प्रवद्र्धन विषयमा उच्च शिक्षा अध्ययन गर्न गएँ। दुई वर्षको अध्ययनपछि नेपाल फर्किएर पुनः आफ्नो कामलाई निरन्तरता दिएँ। २०७१ सालमा लोक सेवा आयोगले नयाँ स्वास्थ्य अधिकृतको विज्ञापन गर्यो। मैले परीक्षा दिएँ र नाम निकाल्न पनि सफल भएँ।
करीब तीन वर्षको नयाँ जिम्मेवारीमा रही काम गर्दै गर्दा मैले अस्ट्रेलियामा पीएचडी अध्ययनका लागि निवेदन दिएँ। जुन मेरो ४ औँ पटकको निवेदन थियो। पूर्ण छात्रवृत्ति बिना यो अध्ययन सम्भव थिएन। २०१६ को अन्तिममा अस्ट्रेलियामा पिएचडी (पब्लिक हेल्थ एण्ड बिहेवियरल साइन्स) अध्ययन सुरु गरेर २०२१ मा पुरा गरे।
आफ्नो काम, परिवार र अध्ययनलाई सन्तुलन मिलाउँदै आज एक अनुसन्धान डाक्टर बन्न सफल भएको छु। मेरो यो यात्रामा साथ दिने मेरो आदरणीय बुवा, आमा, परिवार, आफन्त, गुरुहरु, साथी भाइ, सरकार तथा अन्तरराष्ट्रिय विश्वविद्यालय सबैमा नमन।
मलाई त्यो बेला बेइमानी तरिकाले स्थानीय स्कुलमा नियुक्ति नगर्ने व्यक्तिलाई पनि धन्यवाद दिन चाहन्छु। किनभने त्यही कारणले आज पनि यो स्थानमा आउन सफल भएको छु।
जीवनको यो यात्रामा मैले एउटा पाठ सिकेँ। जीवनमा एउटा अवसर गुमाए पनि अन्य हजारौँ अवसरहरु हामीलाई पर्खिरहेका हुन्छन्। मात्र हामी निराश कहिल्यै हुनु हुँदैन। धैर्यता, लगनशिलता र मेहनतका साथ अघि बढ्यौ भने अवश्य पनि हामी सफल हुन्छौँ।